Successfully Copied

पुलिस क्लबलाई महिला फुटबल उपाधि

नेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ ।

नेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ । नेपाली महिला फुटबलको ‘पावर हाउस’ सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै पुलिसले प्रतियोगिता जितेको हो । इन्जुरी समयमा पुलिससँग एपीएफ क्लब१–० ले पराजित भएको थियो । प्रतियोगिताको उपाधिसँगै पुलिसले पाँच लाख रुपैंयाँ पुरस्कार प्राप्त गर्दा एपीएफले दुई लाख ५० हजार रुपैंयाँमा चित्त बुझायो । यो सँगै घरेलु महिला फुटबलमा दबदबा कायम राख्दै आएको एपीएफको २२ खेलको अपराजित यात्रामा पुलिसले पूर्णविराम लगाएको थियो । 

एपीएफले पछिल्लो पटक ०७६ मा धनकुटामा सम्पन्न गोल्डकपमा आर्मीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो । त्यसयता भने एपीएफले घरेलु प्रतियोगितामा कुनै पनि क्लबविरुद्ध हारको सामना गर्नुपरेको थिएन । प्रतियोगितामा आयोजक वनदेवी युवा क्लबसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, कालिका स्पोटर्स र बाग्मती युवा क्लब सर्लाही गरी आठ टोलीको सहभागिता थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी निर्मला विक (नेपाल पुलिस क्लब), उत्कृष्ट रक्षक पूजा राना (नेपाल पुलिस क्लब), उत्कृष्ट गोल किपर उषा नाथ (नेपाल पुलिस क्लब) र उत्कृष्ट मिडफिल्डर सरु लिम्बू (एपीएफ क्लब) घोषित भएका थिए । त्यसैगरी, उच्च गोलकर्ता सावित्रा भण्डारी (एपीएफ क्लब), उदीयमान खेलाडी कविता विक (वनदेवी युवा क्लब) र उत्कृष्ट प्रशिक्षक सञ्जीव जोशी (नेपाल पुलिस क्लब) को नाममा दर्ज भएको थियो ।

शब्द : केशव थापा

 Image