Successfully Copied

कलाकारको राजनीति मोह 

स्थानीय तहको निर्वाचनमा र्‍यापर वालेन शाह चर्चामा आए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाले उनको चर्चा चुलिएको हो । काठमाडौंको गैरीगाउँमा जन्मिएका ३२ वर्षीय उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुन् ।

स्थानीय तहको निर्वाचनमा र्‍यापर वालेन शाह चर्चामा आए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाले उनको चर्चा चुलिएको हो । काठमाडौंको गैरीगाउँमा जन्मिएका ३२ वर्षीय उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुन् । काठमाडौंस्थित गैरीगाउँमा एक संस्थामा उनी इन्जिनियर पेसामा संलग्न छन् । युवाहरूमा राजनीतिक चेतना हुनुपर्ने बताउँदै उनले उम्मेदवारी दिएको बताए । महानगरपालिकाको संस्कृति, शिक्षा, पूर्वाधार आदि क्षेत्रमा काम गर्ने आफ्नो चाहना रहेको जनाए । काठमाडौं नगरलाई नेपालकै नमुना सहर बनाउन आफूसँग योजना रहेको र सोहीअनुरूप आफू राजनीतिमा आएको उनको भनाइ थियो । यसैगरी, ‘डिठ्ठा साहेब’ले परिचित अर्का कलाकार किशोर भण्डारी पनि राजनीतिमा होमिए । स्थानीय चुनावमा उनी तारकेश्वर नगरपालिका–२ बाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराए । ‘कान्तिपुर टेलिभिजन’ बाट प्रसारित ‘डिठ्ठा साहेब’ टेलिसिरियलसहित दर्जनौं म्युजिक भिडियोमा देखिने उनले अब जनप्रतिनिधिका रूपमा देखिने चाहना राखेको बताए । 

लोकगायिका राधिका हमाल जति लोकगीतमा चर्चित छिन् त्यति नै राजनीतिमा । ‘ढल्क्यो जवानी’, ‘क्याम्पस पढ्न आउने’, ‘लरक्कै लर्कियो’ आदि उनका चर्चित गीत हुन् । गीतको चर्चाझैं उनी निर्वाचन आएसँगै चर्चामा रहिन् । ०७४ को स्थानीय चुनावमा उनले त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा उम्मेवारी दिएकी थिइन् तर पराजित भइन् । पछिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसले उनलाई उक्त गाउँपालिकाको अध्यक्षमा सिफारिस गर्‍यो । तर, स्वास्थ्यको कारण देखाउँदै उनले त्यो पद अस्वीकार गरिन् । 

राजनीतिबाट कलाकर्म अछूतो छैन । पछिल्लो समय कलाकारहरूले पनि राजनीतिमा चासो राख्न थालेका छन् । कलाकारितामा नाम–दाम दुवै कमाएकाहरू पनि पार्टी प्रवेशमा सक्रिय छन् । पार्टीको टीका लगाएर कलाकारहरू प्रवेश गर्ने एउटा ‘ट्रेन्ड’ बस्दै गएको छ । नायिका करिष्मा मानन्धर हालै नेकपा (एमाले) मा प्रवेश गरी आफूलाई राजनीतिमा सक्रिय बनाएकी छन् । उनले बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उक्त पार्टीमा उनीसँगै अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक अशोक शर्मा पनि प्रवेश गरे । करिष्मा केन्द्रीय कमिटीमा रही पार्टीको पक्षमा माहोल बनाउन थुप्रै स्थानमा भाषण गरिन् । नयाँ शक्ति पार्टी उपेन्द्र यादवको तत्कालीन सङ्गीय समाजवादीमा गाभिँदै हाल जनता समाजवादी पार्टी (जसपा) बनेपछि उनी पार्टी परित्याग गरी नेकपा (एमाले) मा छिरिन् । 

राजनीतिमा सत्रिय अर्की कलाकार हुन् नायिका तथा निर्देशक रेखा थापा । १६ वर्षको उमेरबाटै अभिनय थालेकी उनी पाँच वर्षयता राजनीति र समाजसेवामा सक्रिय छिन् । दोस्रो संविधानसभा चुनावताका रेखालाई तत्कालीन एमाओवादीले आफ्नो उम्मेदारका रूपमा चर्चामा ल्याएको थियो । हाल उनी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) मा केन्द्रीय सदस्य हुन् । उनी पार्टीको महाधिवेशनमा महामन्त्रीमा उठेकी थिइन् । तर, पराजित भए पनि उनी पार्टीमै सक्रिय छिन् । कलाकारहरूमा पनि राजनीति चेतना हुनुपर्ने उनको बुझाइ छ । कलाकार होस् वा सामान्य मानिस राजनीतिमा आउनुपर्ने उनी बताउँछिन् । चलचित्रमा महिला मुद्दा उठाउन महिलाहरू राजनीतिमा आउन आवश्यक रहेको बताउँदै उनले युवापुस्तालाई पनि राजनीतिमा आउन आग्रह गरेकी छन् । युवापुस्ताले पनि जनताको भावना समेट्न सक्नुपर्ने उनको भनाइ छ । 

नेपाली चलचित्रका पाका र चर्चित कलाकार हुन् नीर शाह । उनी पनि नेपाली कांग्रेसमा क्रियाशील छन् । झन्डै चार वर्षअघि उनीसहित धीरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, शंकर बिसी पार्टी प्रवेश गरी राजनीतिमा सक्रिय छन् । त्यस्तै भुवन केसी र श्वेता खड्का पनि यसै वर्ष कांग्रेसमा प्रवेश गरेका छन् । 

 Image