Successfully Copied

फेवा किनारमा ‘साकुरा’ 

आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरास्थित फेवातालको किनारमा महिला उद्यमी इन्दिरा तिमल्सिनाद्वारा ‘साकुरा’ होटल सञ्चालनमा छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरास्थित फेवातालको किनारमा महिला उद्यमी इन्दिरा तिमल्सिनाद्वारा ‘साकुरा’ होटल सञ्चालनमा छ । होटलमा आन्तरिक पर्यटकको चहलपहल बढी हुन्छ । कोभिडपछि विदेशी पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटकहरूको चहलपहल बढेकोमा इन्दिरा खुसी छिन् । 

‘साकुरा’ उनको दोस्रो होटल हो । उनले सात वर्षअघि पोखरामै ‘ओरियन्ट’ होटल सञ्चालनमा ल्याएकी थिइन् । करिब सात वर्षसम्म सञ्चालनमा रहेको ओरियन्ट होटल कोरोना महामारीका कारण बन्द हुन पुग्यो । सुरुमा १५ लाख लगानी गरी उनी यो व्यवसायमा प्रवेश गरेकी हुन् । उनलाई यो व्यवसायमा श्रीमान्को साथ र सहयोग छ । अनुभवले होटल सञ्चालन गरेकाले सफलता हासिल भइरहेको इन्दिराले बताइन् । उनले लामो समय रेस्टुराँमा जागिरे भई काम गरेकी थिइन् । व्यवस्थापनमा स्नातक पढ्दाताका उनी पोखरास्थित एउटा होटलमा सुपरभाइजरको काम गरेकी थिइन् । जागिरका क्रममा होटल सञ्चालन, व्यवस्थापनलगायत सम्पूर्ण कुराको अनुभव बटुलिन् । होटलमा जागिर खाइरहँदा उनलाई आफैं व्यवसायी बन्ने रहर पलायो । उनको यो रहरलाई पूरा गर्न श्रीमान्ले पनि साथ दिए । 

उनले करिब एक करोड लगानीमा ‘साकुरा’ होटल संचालनमा ल्याएकी हुन् । ४० कोठा रहेको होटलमा स्ट्यान्डर्ड, डिलक्स र नर्मल गरी तीन क्याटगोरीमा वर्गीकरण गरिएको छ । पर्यटकहरू आफ्नो इच्छाअनुसार बस्न सक्ने इन्दिराको भनाइ छ । समय र पर्यटकहरूको चाहना परिवर्तन हुँदै गएकाले व्यवसायीहरू पनि सोहीअनुसार आफूलाई परिवर्तन गर्दै गइरहेको उनले बताइन् । ‘पर्यटकहरूको रोजाइ अहिले प्रविधि र सुविधासम्पन्न होटल हो । त्यसकारण व्यवसायीहरूले पनि सुविधा थप गर्दे लानुपर्ने आवश्यकता छ’ उनले भनिन्, ‘होटल भित्र रेस्टुराँ पनि सञ्चालनमा छ । स्पा, कन्फरेन्स हल थप्ने योजना छ ।’

 Image