Successfully Copied

लकडाउनले जुराएको जोडी

विवाह वा प्रेम सम्बन्धले बनेको पारिवारिक संरचनाले स्वस्थ बच्चालाई स्वस्थ नागरिकका रूपमा रूपान्तरित हुन सहयोग गर्छ ।

मलाई आई वाज नट म्यारिज मटेरियल जस्तो लाग्थ्यो । मेरो पारिवारिक पृष्ठभूमि र वातावरणले मलाई त्यस्तो बनाएको हो ।’ यी भनाई तृष्णा आचार्यका हुन् । प्राध्यापक तथा मिडिया अनुसन्धान केन्द्रकी अध्यक्ष उनी दाम्पत्य सम्बन्धको बेलीबिस्तार लगाउँदै थपिन, ‘म भित्र भावनात्मक कुरा दबेर रहेका थिए । विवाहअघि मैले आफूलाई अत्यन्तै सशक्त र आत्मनिर्भर केटी मात्रै ठान्थें । तर विवाहपछि म भित्रका भावनात्मक पक्षहरू पनि उजागर भएर आएका छन् ।’ 

०४६ मा जेल बसेका बुवा प्राध्यापक देवकुमार आचार्य (डि.कौडिन्य) मात्रै भाइटीकामा छुटेका थिए यमुना देवी आचार्यसँग । बाँकी २९ जना यमुनासँग जेलमै भाइटीका लगाएका थिए । पछि तिनै देवकुमार र यमुनाको कम्युनिष्ट पार्टीको झण्डामुनि जनवादी क्रान्तिकारी विवाह भएको थियो । यी दम्पतिबाटै जन्मिए जुम्ल्याहा तृष्णा र तृप्ति । तृष्णा बुवासँग अत्यन्तै निकट थिइन् । सुत्दा पनि बुवाको दाह्री छामेरै सुत्थिन । बुवालाई सेनाले गोली हानी हत्या गरेपछि उनको त्यो निकटता उनी १० वर्षकी छँदै टुट्यो । त्यो माहौलले आफूलाई चट्टानजस्तो बनाएको तृष्णा बताउँछिन् । त्यही कारण थियो उनीभित्र भावनाको कमी र आफू पत्थरजस्तो हुनु । 

लकडाउन ताका तृष्णा बुवाको कविता वाचन गर्दै फेसबुकमा पोस्ट गर्थिन् । यसै क्रममा उनले एकदिन ‘फूल मुन’ को भिडियो सेयर गरिन् । त्यो देखेर कसैले उनको म्यासेन्जरमा ‘फूल मुन’ को फोटो पठायो । ती व्यक्ति थिए इटहरीका युवराज काफ्ले । प्रदेश १ को तेक्वान्दो संघका सदस्य तथा ‘फ्युचर फर्स्ट जब अर्गनाइजेसन’ का अध्यक्ष तथा साहित्यकार युवराजको विवाह गर्ने उमेर भइसकेको थियो । भर्चअल कुराकानीका क्रममा उनले तृष्णासँग भेटघाट नै नभई विवाहको प्रस्ताव राखे । भने, ‘कमजोरी सबैमा हुन्छ तर म तिमीलाई कमजोरीसहित स्वीकार गर्छु ।’ यो कुराले तृष्णाको मनमा हलचल ल्यायो । आफूभन्दा १० वर्ष जेठा युवराजले यस्तो प्रस्ताव राखेपछि उनी सोच्न बाध्य भइन् । आमालाई उक्त कुरा सुनाउँदा यस्तो जवाफ आयो, ‘विवाह फेसबुकमा हुँदैन । भेट्न भन ।’ भेटघाटपछि तृष्णाको परिवारले युवराजलाई सामाजिक, बुझकी, परिपक्व र व्यावहारिक पायो । सात महिनाको सम्बन्धपछि उनीहरू विवाह बन्धनमा बाँधिए । 

परिवारबाट टाढा रहेर १४ वर्ष एक्लै बसेका युवराज भन्छन्, ‘म विवाह गर्दिन भनेर बसेको थिएँ । विवाह नभए पनि मान्छे सफल हुन सक्छ भन्ने मेरो धारणा थियो । साहित्यसँग म आफ्नो एक्लोपन साट्थें । जबसम्म प्रकृति र समाजसँग साक्षात्कार गरिँदैन तबसम्म सिर्जनात्मक भइँदैन भन्ने लाग्न थासिलसकेको थियो त्यसमाथि लकडाउनले एक्लो महसुस गरायो । दुःख–बिमार पर्दा साथी वा परिवार चाहिँदो रहेछ भन्ने लाग्यो ।’ 

‘विवाह बाह्य (राजनीतिक, आर्थिक, सामाजिक) विकासका लागि सहयोगी संस्था हो । प्रेम भने अन्तरनिहित, भावनात्मक, आध्यात्मिक कुराबाट सुरु हुन्छ । प्रेमलाई कसरी हुर्काउनुहुन्छ त्यसमा जीवनका हरेक आयाम निर्भर रहन्छन् ’ विवाह र प्रेम एकै होइन भन्ने बुझेकी तृष्णाले भनिन्, ‘विवाह वा प्रेम सम्बन्धले बनेको पारिवारिक संरचनाले स्वस्थ बच्चालाई स्वस्थ नागरिकका रूपमा रूपान्तरित हुन सहयोग गर्छ । ’ पत्रकारितामा गोल्ड मेडलिस्ट तथा विद्याभूषणद्वारा सम्मानित तृष्णाले युजिसी फेलोसिपमा त्रिबिबाट एमफिल गरेकी छन् । दुलहाले नै कमजोरीसहित स्वीकार गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरेपछि आफूभित्र निमोठिएको प्रेम अंकुराउँदै आउन थालेको तृष्णालाई अहिले महसुस हुन्छ । विवाहपछि आफूभित्र प्रेम विकसित हुँदै आएको उनी स्वीकार गर्छिन् । 

विवाहले जिम्मेवार बनाउँदो रहेछ भन्ने युवराजलाई अचेल एक अर्कासँग सहकार्य गर्न सरल हुँदोरहेछ र विवाहले सामाजिक संरचना भित्र अत्यन्तै घुलमिल गराउँदो रहेछ भन्ने लाग्छ । 

तृष्णा जस्तै युवराज पनि प्रेम र विवाह फरक विषय भएको बताउँदै भन्छन्–‘सबै प्रेममा विवाह हुँदैन । तर सबै विवाहमा प्रेम हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि प्रेम छैन भने विवाह हुँदैन ।’ 

तृष्णा राजनीतिक परिवारबाट आएकी हुन । बुवाले देशकै लागि बलिदान दिएको उनले बताइन् । ‘ श्रीमान् ढिलो आउँदा उनको मनमा चिसो पस्छ, कतै केही भइहाल्यो कि भन्ने लाग्छ ’ तृष्णाले भनिन् । तर यस्तो अवस्थामा युवराजले उनलाई सहज ढंगले सम्झाउँछन् । अहिले उनीहरू खुसी छन् । जीवन रमाइलो छ । युवराज साहित्य र तृष्णा पत्रकारितामा भएकाले पेसागत रूपमा पनि एक–अर्कालाई सहयोग मिलेको छ । युवराजले भने, ‘विवाह भनेको दुई विपरीत लिंगीबीचको सामाजिक सम्झौतामा चल्ने सम्बन्ध हो । भावनात्मक रूपले एक–अर्काका कमजोरीसहित स्वीकार गर्दै अगाडि बढ्ने यात्रा हो ।’

युवराज निकै सामाजिक छन् । बैगुनीलाई गुनले मार्नुपर्छ, सकारात्मक हुनुपर्छ भन्ने उनको सोच छ । यही कुरामा यी दम्पतीको कहिलेकाहीँ ठाकठुक पनि पर्छ तर फकाउनेमा युवराज नै अगाडि हुन्छन् । विवाहअगाडि तृष्णालाई सम्पत्ति जोड्ने, घर बनाउने कुरामा कुनै चासो हुँदैनथ्यो तर अचेल बचतका विषयमा सोच्न थालेकी छन् । आफूबाहेक अरुसँग खासै मतलव नराख्ने उनी पछिल्लो समय साथी सर्कल बनाउन थालेकी छन् । उनी भन्छिन्, ‘विवाहले कस्तो मान्छेलाई कस्तो बनाउँदो रहेछ म आफैंलाई देख्दा अचम्म लाग्छ । सायद यो प्रेमको प्रभाव पनि हो ।’

सम्बन्ध प्रगाढ पार्ने सूत्र सुझाउँदै युवराजले भने, ‘समझदारी, स्वीकार्यता र हरेक कुरालाइ सहज रूपमा लिन सक्ने क्षमता विकास गर्नुपर्छ । जस्तो कि मेरो बुवा बित्दा सबैभन्दा ठुलो दुःखको पहाड यही रहेछ जस्तो लागेको थियो । पछि आमा बित्नुभो यो अझै ठूलो बज्रपात रहेछ भन्ने लाग्यो । आखिर मान्छेले समय सँगै सबै कुरा बिर्सिएर बाँच्नुपर्दो रहेछ । तसर्थ केही कुरालाई पनि ग्यारेन्टेड रूपमा लिनुहुँदैन जस्तो लाग्छ ।’ तृष्णालाई पनि आपसी समझदारी, विश्वास, एकअर्काको भावना बुझ्न सक्ने व्यवहार र प्रेमले सम्बन्धलाई बलियो बनाउँछ भन्ने लाग्छ । 

 

युवराजबारे तृष्णा

बलियो पक्ष– व्यावहारिक एवं अत्यन्तै  माया गर्ने ।

कमजोरी– सबैलाई विश्वास गरिहाल्ने ।

श्रीमान्सँगको अपेक्षा–मृत्युसम्म सँगै रहेर मलाई सहनुहोस् ।

मन पर्ने पक्ष– मलाई सुरक्षित महसुस गराउनुहुन्छ र प्रेम सिकाउनुभयो । 

तृष्णा बारे युवराज 

सवल पक्ष–अध्ययनशील र वैचारिक ।

कमजोरी– कहिलेकाहीँ छिटै प्रभावित हुने । 

कस्तो श्रीमती–संघर्षशील, सहयोगी र समझदार ।

मन पर्ने पक्ष– बहस गर्न सक्ने र तार्किक क्षमता । 

 Image