Successfully Copied

युवामाथि आश 

यो वर्षको स्थानीय तह निर्वाचनमा सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् ।

यो वर्षको स्थानीय तह निर्वाचनमा सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् । आफ्नै काका हरिनन्दनप्रसाद यादवलाई फराकिलो मतान्तरले जितेका उनी संविधानसभा सदस्य शिवपूजन राय यादवका छोरा हुन् । काठमाडौंमा बीबीएस पढ्दै गरेका उनी मतदाताको मन जितेर निर्वाचित भएको बताए । उनले भने, ‘पालिकालाई सबैको सहयोगमा नमुना पालिका बनाउँछु ।’ 

मधेश प्रदेशको सप्तरीस्थित छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी विजय भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका उनी युवाहरूको साथ र सहयोगले आफू विजयी भएको बताए । १९ वर्षको उमेरमा राजनीति सुरु गरेका उनी गाउँपालिका अध्यक्ष बन्ने योजना भने बनाइसकेका थिएनन् । तर पार्टीले टिकट दिएपछिउनी चुनावी मैदानमा होमिएका थिए । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उनले पालिकालाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘शिक्षा, स्वास्थ्य र पूर्वाधार मेरो प्राथमिकतामा छन् ।’

०७४ को स्थानीय तहमा कपिलवस्तुस्थित शिवराज नगरपालिकामा नेकपा एमालेकी कान्छी उप–प्रमुख बनेकी थिइन्–शिवकुमारी चौधरी थारु । उनी ०७९ को स्थानीय तहको निर्वाचनमा पनि त्यही पदमा निर्वाचित भएकी छन् । २८ वर्षीयाउनी पुनः निर्वाचित भएकोमा उत्साहित छिन् । उनले भनिन्, ‘म पुनः निर्वाचित भएपछि मलाई काम गर्ने थप उत्साह जागेको छ ।’ श्रमिक महिलाको जीवनस्तर उकास्ने उनको प्रमुख योजना छ । महिलालाई सीपमूलक रोजगारी दिने आफ्नो प्राथमिकता उनले बताइन् । उच्च शिक्षासम्मको पढाइ निःशुल्क गर्ने अठोट पनि उनले गरेकी छन् । 

 यसैगरी, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय दीपेन्द्र सुनारी मगरले जितेका छन् । मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर उनी नेपाली कांग्रेसका निवर्तमान मेयर शशिकिरण बस्ताकोटीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।‘ मेरो पहिलो प्राथमिकता भनेको कृषिलाई व्यावसायिक बनाउने र शिक्षालाई व्यवहारमुखी बनाउने हो’ उनले भने, ‘सडक, खानेपानीलगायत जनताका आधारभूत आवश्यकतामाथि कुनै पनि बहानामा ढिलासुस्ती हुन दिने छैन ।’

युवा परिषद् ऐन २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा वर्गमा राखेको छ । हालसम्म २१ वर्षदेखि ४० वर्ष उमेरसम्मका ४१ दशमलव १९ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचनमा उम्मेदवार हुनका लागि तोकिएको न्यूनतम उमेर २१ वर्ष हो । सबैभन्दा बढी जनसंख्या भएको काठमाडौं महानगरपालिकामा समेत युवाले नेतृत्व सम्हालेका छन् । काठमाडौंका प्रमुख (मेयर)मा ३२ वर्षीय बालेन्द्र शाह स्वतन्त्रबाट र उपमेयरमा नेकपा (एमाले) की ३१ वर्षीया सुनीता ढंगोल विजयी भएका छन् । इन्जिनियर पेसाबाट आएका बालेन्द्रले काठमाडौंलाई सुन्दर सहरका रूपमा परिचित गराउने प्रतिज्ञा गरेका छन् । उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउने बताए । काठमाडौं महानगरलाई स्वच्छ, सफा, सुव्यवस्थितबनाउने योजना पनि उनको छ । यसैगरी, मिस नेवाः देखि सञ्चारकर्मीका रूपमा परिचित उपमेयर सुनीताले भने महानगरको संस्कृति र सभ्यतालाई जोगाउँदै महिलालाई आर्थिक सशक्तीकरणमा जोड्ने बताएकी छन् । 

अहिले स्थानीय निर्वाचनमा महानगर, उपमहानगर र नगरपालिका तथा गाउँपालिकामा धेरै युवाले जितेका छन् । पार्टीगत रूपमा मात्र नभई स्वतन्त्र रूपमा पनि २१ वर्षदेखिका युवाहरूका साथै ९४ वर्षसम्मका वृद्ध पनि निर्वाचित भएका छन् ।

पछिल्लो समय राजनीतिक नेतृत्वबाट युवाहरू निराश भएका कारण आफैं अग्रसर हुन थालेको लेखक अर्चना थापाले बताइन् । युवाहरूले व्यावहारिक योजना ल्याएकाले पनि यो निर्वाचनमा उनीहरूमध्ये धेरैले विजय प्राप्त गरेको उनको भनाइ छ । ‘विगतमा दलहरूले ल्याएका विभिन्न हावादारीयोजनाले आमजनतामा निराशा छाएको थियो’ उनले भनिन्, ‘यसपटक धेरै युवा निर्वाचित भएकाले आशा पलाएको छ ।’ युवा जनप्रतिनिधिहरूको संख्या उत्साहजनक रहेकाले राम्रो काम गर्न सक्ने अपेक्षा गर्न सकिने उनले बताइन् । ‘राजनीतिबाट युवाहरू आफै आन्दोलित भएर आउन थालेका छन्’ उनले भनिन्, ‘विगतमा राजनीतिक दलहरूले आफैले घोषणा गरेका कार्ययोजना कार्यान्वयन नगरेका कारण पनि मतदाताले युवाहरूलाई अवसर दिएका हुन् ।’ युवाहरूले पाएको सुनौलो अवसरसँगै चुनौतीलाई सामना गर्दै आफूलाई स्थापित गर्न सक्नुपर्ने उनको भनाइ छ । 

राजनीतिक शिक्षामा सक्रिय रहेकी प्रकृति भट्टराईले युवाहरू राजनीतिमा अग्रसर हुनु सकारात्मक रहेको बताइन् । पुराना र स्थापित पार्टीहरूले जनताको समस्या समाधान नगरेका कारण युवाहरू राजनीतिमा हस्तक्षेपकारी भूमिकामा देखिएको उनको भनाइ छ । उनले भनिन्, ‘पछिल्लो समय राजनीतिमा युवाहरूको हस्तक्षेप बढ्दै जानु सकारात्मक कदमका रूपमा लिनुपर्छ ।’

 

युवाहरूको सहभागिता

उमेर समूह प्रतिशतमा 

नेपाली कांग्रेस 

२१ देखि ३० – १०५ 

३१ देखि ४० – ३१ ५

माओवादी केन्द्र 

२१ देखि ३० – ११५

३१ देखि ४० – ३८५

नेकपा एमाले 

२१ देखि ३० – १०५

३१ देखि ४० – ३१५ 

समाजवादी

२१ देखि ३० – १०५

३१ देखि ४० – ३१५

 

 Image