Successfully Copied

मेयर/अध्यक्षमा २५ महिला

स्थानीय तह निर्वाचन २०७९ मा ३४ हजार सात सय ४१ जनप्रतिनिधि निर्वाचित भए । जसमा १४ हजार ४ सय ४५ महिलाको निर्वाचित भए ।

स्थानीय तह निर्वाचन २०७९ मा ३४ हजार सात सय ४१ जनप्रतिनिधि निर्वाचित भए । जसमा १४ हजार ४ सय ४५ महिलाको निर्वाचित भए । निर्वाचन आयोगका अनुसार प्राप्त परिणामअनुसार १३ जना मेयर र १२ जना गाउँपालिका अध्यक्षका रूपमा महिला निर्वाचित भएका छन् । त्यस्तै, उपमेयर २ सय ३२ र उपाध्यक्ष ३ सय ३५ जना महिला छन् । 

निर्वाचित छ हजार छ सय ७७ वडाध्यक्षमध्ये महिला वडाध्यक्ष जम्मा ६९ मात्रै छन् । त्यस्तै, चार सय ४२ वडा सदस्य र छ हजार ७ सय ३२  महिला वडा सदस्य तथा छ हजार ६ सय १० दलित महिला वडा सदस्य निर्वाचित भएका छन् । 

अघिल्लो स्थानीय तह निर्वाचन–२०७४ मा १८ पालिकाको प्रमुख/अध्यक्षमा महिला निर्वाचित भएका थिए । यस पटक स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । स्थानीय सरकारको नेतृत्वमा महिलाको संख्या पहिलेभन्दा बढेको हो । 

मेयरमा महिला

चितवनको माडीमा नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गरी नेकपा एमालेकी ताराकाजी कुमारी महतो मेयर बनिन् । 

झापाको बिर्तामोड नगरपालिकाले पहिलो महिला मेयर पाएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य पवित्रा महतारा प्रसाईंले मेयर पद जितिन् । अघिल्लो कार्यकालकी उपमेयर उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलालाई पराजित गरिन् । 

चौतर्फी घेराबन्दीलाई तोड्दै हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एस) की मीना लामा निर्वाचित भइन् । जितसँगै उनी बाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाकी प्रथम महिला मेयरसमेत बनिन् । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले २३ हजार ७५ मत ल्याएर विजयी भइन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा नेकपा एमालेकी जुना चौधरी विजयी भए । 

नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइन् । रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । 

नवलपरासीको सुनवल नगरपालिका प्रमुखमा एमालेकी विमला अर्याल निर्वाचित भइन् । उनी यसअघि पनि नगर प्रमुख पदमा उम्मेदवार थिइन् । यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेकी मोहनमाया ढकालले नेतृत्व पाइन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्बिकाकुमारी चलाउने विजयी भइन् । उनी कांग्रेसबाट निर्वाचित भएकी हुन् भने खोटाङको हलेसी तुवाचुङमा कांग्रेसकी विमला राई नगर प्रमुख निर्वाचित भइन् । 

मधेस प्रदेशमा नगर प्रमुखमा चार महिला निर्वाचित भएका छन् । सप्तरीको सुरुंगा नगरपालिकामा कांग्रेसकी गीता चौधरी, सर्लाहीको बरहथवा नगरपालिकामा एमालेकी कल्पना कटुवाल, रौतहटको ईशनाथ नगरपालिकामा लोसपाकी कौशल्या देवी र मौलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह प्रमुखमा निर्वाचित भएका हुन् । ०७४ मा प्रदेशभर मौलापुर नगरपालिकामा माओवादी केन्द्रकी रीनाकुमारी साह मात्रै महिला प्रमुख थिइन् । 

गाउँपालिका हाँक्ने महिला

१० वटा स्थानीय तह रहेको बाग्लुङमा प्रमुख र उप–प्रमुख पदमा जम्मा दुई जना मात्र महिला निर्वाचित भएका छन् । बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हीराकुमारी छन्त्याल एकमात्र पालिका उप–प्रमुख हुन् । झापाको गौरीगन्ज र दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएका छन् । 

बाग्मती प्रदेशका १० जिल्लाका ९८ स्थानीय तहमध्ये छ वटामा प्रमुख र ५२ वटामा उप–प्रमुख महिला निर्वाचित भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार, सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहरा दाहाल, काभ्रेको चौंरीदेउराली गाउँपालिकामा माओवादी केन्द्रकी रेणुका चौलागाईंले नेतृत्व लिएका छन् ।

०७४ मा चार पालिकाले महिला नेतृत्व पाएको गण्डकी प्रदेशमा यस पटक तीन पालिकामा मात्रै प्रमुखमा महिला छन् । गण्डकीका ८५ स्थानीय तहमध्ये नवलपुरको हुप्सेकोट गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र बाग्लुङको बडिगाड गाउँपालिकाले महिला नेतृत्व पाएका छन् । हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे दोस्रो पटक अध्यक्षमा निर्वाचित भइन् । मोदीमा एमालेकी हीरादेवी शर्मा र बडिगाडमा कांग्रेसकी गण्डकी थापा अधिकारी चुनिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी गण्डकी प्रदेशभर पालिका प्रमुखमा ४१ महिलाले उम्मेदवारी दिएका थिए ।

लुम्बिनी प्रदेशका एक सय नौ स्थानीय तहबाट दुई जना महिला मात्र प्रमुखमा निर्वाचित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका र पाल्पाको बगनासकाली गाउँपालिकामा मात्र महिला निर्वाचित भएका हुन् । लुम्बिनीमा एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपासहितका दलले ११ स्थानीय तहमा महिलालाई प्रमुखमा उठाएका थिए । स्वतन्त्रबाट ७ महिला प्रतिस्पर्धामा थिए । 

पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेकै सरस्वती दर्लामी अध्यक्षमा विजयी भएकी छन् । यसअघि उनी उपाध्यक्ष थिइन् । उपाध्यक्षमा लुम्बिनी प्रदेशभर दुई सय तीन जना महिला उम्मेदवार थिए । तीमध्ये ८४ जना निर्वाचित भए । 

उप–प्रमुखमा सबैभन्दा धेरै रूपन्देहीका १७ पालिकामा महिला निर्वाचित भएका छन् । तीन स्थानीय तह रहेको रुकुमपूर्वमा दुई महिला निर्वाचित भए । प्यूठानमा सात पुरुष र दुई महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णालीका ७९ स्थानीय तहमध्ये दुई जना प्रमुखमा महिला आएका छन् । दैलेखको भैरवी गाउँपालिकामा कांग्रेसबाट रीताकुमारी शाही विजयी भइन् । ०७४ को स्थानीय निर्वाचनमा यहाँ ७६ जना उप–प्रमुख महिला थिए । त्यतिबेला पनि दुई पालिका प्रमुख महिला थिए । कालीकोटकी माओवादी केन्द्रकी नेतृ मनशोभा बूढाले गठबन्धनका नाममा महिलालाई उम्मेदवारीबाटै पन्छाइएको बताइन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये दुई जना महिला मात्र प्रमुखमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा १ सय ७६ वडामै दलित महिला थिएनन् भने अहिले १ सय २३ वडामा दलित महिला वडा सदस्य पाइएन । 

 Image