Successfully Copied

प्रिन्ट कलामा टिकट

प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए ।

प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए । उनले आफ्नो जीवनकालमा धेरै हुलाक टिकट संकलन गरेका थिए । वि.सं. १९४३ देखिका शताब्दीभन्दा बढी इतिहास बोकेका टिकटहरू उनको संकलनमा थिए । ती टिकटलाई आफ्नो जीवन छँदै प्रदर्शनी गरी नयाँ पुस्तालाई देखाउने उनको सपना थियो । पाँच वर्षअघि उनको आकस्मिक निधनले त्यो सपना अधूरै रह्यो । बुवाको निधनपछि ती ऐतिहासिक टिकट संरक्षण गर्ने हेतुले चित्रकार सम्झना राजभण्डारीले सिर्जनामा उतारिन् । बुवाले कालान्तरमा महत्व रहने बताउँदै टिकट संकलन गरिरहेको उनले बाल्यकालदेखि नै नियाल्दै आएकी थिइन् । महामारीको समयमा पुराना टिकटहरूको अवस्था देखेपछि उनले बुवाले साँचेको सपना, केही स्मृतिहरू, टिकटमा समेटिएका ऐतिहासिक समय तथा परिवेशलाई कलामा रूपान्तरण गरेको सम्झनाले बताइन् ।

काठको ब्लक (उड कट प्रिन्ट) मा उतारिएका राजभण्डारीका साढे दुई दर्जनभन्दा बढी तिनै हुलाक टिकटका प्रिन्ट चित्रलाई काठमाडौंको बबरमलस्थित ‘नेपाल आर्ट काउन्सिल’ मा गत वैशाखको अन्त्यतिर प्रदर्शनीमा ल्याइन् । साताव्यापी चलेको प्रदर्शनीमा राजभण्डारीले पुराना एक दर्जन हुलाक टिकटलाई हुबहु प्रिन्ट कलामा उतारेकी थिइन् । ‘प्रिन्ट्स अ ट्रिब्युट टु द पास्ट’ शीर्षक दिइएको प्रदर्शनीमा हुलाक टिकटसँगै उनले दिवंगत बुवाको मुहार चित्र पनि ‘उड कट प्रिन्ट’मा पस्केकी थिइन् । उनले सिंगो प्रदर्शनीलाई इतिहास र बुवाको स्मरणका निम्ति श्रद्धापूर्वक समर्पित उपहारका रूपमा लिएको बताइन् । ‘बुवाले लामो समयदेखि हुलाक टिकटहरू संकलन गरिरहनुभएको थियो’, उनले भनिन्,‘यसको महत्व पछि रहन्छ । यसलाई संरक्षण गरेर राख्नुपर्छ भनेर मलाई भन्नुहुन्थ्यो ।’ बुवाले ४० वर्ष लगाएर गर्नुभएको संकलनलाई आफूले प्रदर्शनीमार्फत उजागर गर्न खोजेको प्रतिक्रिया दिइन् । ‘उहाँ 

(बुवा) ले कसैलाई नबेच्नू भन्नुभएको थियो । यी सबै प्रिन्ट मेरो बुवाको सम्झना र सम्पदा तथा उहाँसँग जोडिएको इतिहासको उपहारका रूपमा समर्पण गर्न चाहन्छु’, उनले भनिन् । 

संकलित सबै हुलाक टिकटको पृष्ठभूमिमा देखिएका सम्पदा, तत्कालीन समयमा चलनचल्तीमा रहेका पैसालाई प्रिन्ट चित्रमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको थियो । दुई पैसा इंगित स्वयम्भू पृष्ठभूमिसहितको हुलाक टिकट, छ पैसा र त्रिचन्द्र अंकित टिकट, २५ पैसासहित कालभैरवको टिकट, ५० पैसाको कालभैरवको टिकटलगायतका चित्रहरू प्रदर्शनीमा थिए । 

चित्रकलाको पुरानो विधा त्यसैमा पुरानै पक्षलाई कलामार्फत व्यक्त गर्न पाउँदा प्रिन्ट कलालाई अगाडि बढाइरहेकी राजभण्डारीको प्रदर्शनी महत्वपूर्ण रह्यो । उनले भनिन्,‘पछिल्लो समय उड कट प्रिन्टको प्रयोग निकै कम हुन्छ । पुराना हुलाक टिकटहरू पनि हाम्रा लागि इतिहासजस्तै हुन् । यी दुवैलाई अगाडि ल्याउन चित्रकार भएको नाताले मैले आर्ट फर्ममा ल्याएकी हुँ ।’

 Image