Successfully Copied

सिर्जनामा थैली र टुँडाल

आधुनिक प्रविधियुक्त युगमा मानिस द्रुत गतिमा लम्किरहेका छन् । विश्व भूगोलको नक्सामा आफ्नै भन्ने कुरा नरहे पनि उसलाई विगतका पल र भोगाइले कहाँ पछ्याउन छोड्छन् र ? विगतका अनुभव र स्मृतिहरूलाई चित्रकार सौरगंगा दर्शनधारीले जीवनकै महत्वपूर्ण पक्षका रूपमा परिभाषित गर्न सक्रिय छिन् ।

आधुनिक प्रविधियुक्त युगमा मानिस द्रुत गतिमा लम्किरहेका छन् । विश्व भूगोलको नक्सामा आफ्नै भन्ने कुरा नरहे पनि उसलाई विगतका पल र भोगाइले कहाँ पछ्याउन छोड्छन् र ? विगतका अनुभव र स्मृतिहरूलाई चित्रकार सौरगंगा दर्शनधारीले जीवनकै महत्वपूर्ण पक्षका रूपमा परिभाषित गर्न सक्रिय छिन् ।

हालै उनले सामाजिक तथा सांस्कृतिक जीवनदर्शनलाई पछ्याउँदै काठमाडौंको ठमेलस्थित दलाई–ला आर्ट स्पेस’ मा आफ्नो चौथो एकल चित्रकला प्रदर्शनी गरिन् । वैशाख तेस्रो सातादेखि एक महिनासम्म जारी प्रदर्शनीमा साढे दुई दर्जनभन्दा बढी छापा माध्यममा तयार पारिएका चित्रहरूमा उनले मौलिक परम्परागत पक्षलाई झल्काउने थैलीदेखि टुँडालसम्मका विषय उठान गरेकी थिइन् । झन्डै डेढ दशकदेखि संकलित कलाकृतिहरूमा उनका जीवनसँग गाँसिएका स्मरणसँगै समकालीन दर्शन, मौलिक परम्परा, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समेटिएको थियो । चित्रहरूमा उनले बाल्यकाल, आमाका थैलीसँगको स्मरण मात्र होइन, आफूले देखेका/भोगेका अनुभव, परम्परागत टुँडाल, पाटन क्षेत्रका जनजीवन, प्रकृति, कमलको फूल, मयूर, नारी सौन्दर्य, शक्ति, महिमा र कोरोनाकाललाई बिम्बात्मक रूपमा पस्किएकी थिइन् । ‘प्रदर्शनीमा राखिएका मेरा सिर्जनाहरू विगत र वर्तमानलाई प्रतिबिम्बित गर्ने खालका थिए’, उनले भनिन्, ‘मेरा सबैजसो सिर्जनामा मेरा बाल्यकाल र मेरै वरिपरि घटित विषयवस्तु समेटिएका थिए ।’ धेरै समयसम्म संकलन गरी राखिएका सिर्जनाहरू भएकाले प्रदर्शनीका चित्रहरूमा असंख्य विषय र बिम्बहरू प्रयुक्त भएको दर्शकलाई सुखानुभूति हुन्थ्यो । ‘यसो त सबै कलाकृतिलाई एकैपटक बाहिर ल्याई कलाप्रेमीहरूलाई बुझाउन कठिन थियो र छ’ उनले भनिन्, ‘तर, मैले पछ्याएकाविषय र बिम्बहरू एकैपटक बाहिर आएकाले कला यात्रामा पछिल्लो प्रदर्शनी मेरो सिर्जनाको शैली र उपलब्धिहरू मूल्यांकन गर्ने अवसर बन्न सफल भयो ।’ 

‘थैली’ शृंखलाका चित्रहरूमा उनले आमा र बाल्यकालको स्मरणलाई जोडेकी थिइन् । आमाको थैलीसँग जोडिएको बालबालिकाको आशामा उनले आफूलाई राखेर युवा पुस्तामा मौलिक ‘थैली’ संस्कृति चिनाउने जमर्को गरिन् । कलाकै माध्यममा पनि हाम्रा मौलिक संस्कृतिहरू पुस्तान्तरण गर्नुपर्छ भन्ने उनको ध्येय हो । मन्दिरका टुँडालहरू, पाटन क्षेत्र वरपरको पुरानो परिवेशलाई समेत उनले छापा चित्रमार्फत चिनाउन सफल भइन् । महिलाको केश सौन्दर्यलाई प्रकृतिसँग तुलना गर्दै नारी भावना, मयूरलाई बिम्बसहित महिला–पुरुषको समान अस्तित्व, नारीको सौन्दर्यसँगै नीहित शक्ति र कोरोनाकालको कठिन काललाई समेत उनले चित्रमै बिम्बात्मक रूपमा प्रस्तुत गरिन् । नेपालमा पुरानो विधा मानिने छापा माध्यममै सौरगंगाले चित्र सिर्जना गर्दै आएकी छन् । दुई दशकभन्दा बढी समयदेखि कला सिर्जनामा सक्रिय उनी हाल ललितकला क्याम्पसमा कला विषय अध्यापन गरिरहेकी छन् ।

 Image