‘चोरको स्वर’ मा नारी संवेदना

नारी संवाददाता

असार १४, २०७९ काठमाडौंस्थित ‘मण्डला थिएटर’ मा लिम्बू समुदायमा जारी ‘भागी विवाह’ लाई कथावस्तु बनाइएको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहेको छ । नवीन चौहानको कथावस्तु रहेको उक्त नाटकको परिकल्पना एवं निर्देशन अनिल सुब्बाले गरिरहेका छन् । उनलाई अन्वेश राईले साथ दिइरहेका छन् । गत जेठ २० देखि सुरु नाटक असार १५ सम्म जारी रहनेछ । सोमबारबाहेक प्रत्येक दिन पाँच बजे नाटक मञ्चन भइरहेको छ । शनिबार भने अतिरिक्त शो पनि राखिएको आयोजकले जनाएका छन् । 

भागी विवाहपछि नव दुलहीलाई भित्र्याउँदै गरेको प्रसंगबाट नाटक सुरु हुन्छ । १९ वर्षीय किशोरले अर्कै गाउँकी किशोरी भगाएर ल्याएको विषयवस्तुलाई नाटकमा गजब शैलीमा पस्किएको छ । किशोरको घरमा रीतपूर्वक भित्र्याएपछि बूढापाका र आफन्तजन दुलहीको घर जानुपर्ने प्रसंग मौलिक छ । त्यहाँ पुगेपछि उनीहरूले ‘तपाईंहरूकी छोरी–चेली हामीसँग सुरक्षित छन्’ भनी ‘कुटुम्बेरी’ सम्बन्धका लागि अनुरोध गरिएको दृश्य अविस्मरणीय बनेको छ । यसरी कसैलाई भगाएर ल्याएपछि माइतीकहाँ रीत बुझाउन जाने संस्कृतिलाई लिम्बू समुदायमा ‘चोरको स्वर’ ले सम्बोधन गर्ने एउटा परम्पराकै रूप लिएको विषय नाटक हेर्नेले सजिलै ठम्याउन सक्छन् । 

नाटकले लिम्बू समुदायबाट हराउँदै यो अनौठो रीतलाई सजीव चित्रण मात्रै गर्दैन, उक्त समुदायको संस्कृति, बदलिँदो सामाजिक चेत र आपसी सद्भावलाई पनि प्रदर्शन गर्न कुनै कसर बाँकी रहेको छैन । समुदायमा ‘कुटुम्बेरी’ ले कसरी विभाजित गाउँलाई एकढिक्का बनाउँछ भनी प्रस्ट पार्न नाटक सफल छ । यति मात्रै होइन, वर्तमान राजनीति प्रभाव, विकासे योजनाले पारेको असर नाटकमा सूक्ष्म शैलीमा पस्किने जमर्को गरिएको छ । 

शेर्मा गाउँ र चेम्जोङ गाउँबीच वर्षौंदेखि चलिआएको द्वन्द्वमा यो नाटकको कथा बुनिएको छ । द्वन्द्वको निहुँ हो, एक–अर्काका छोरी–चेली भगाएर लैजानु । यसले आपसमा बदलाको भावना रहेको दृश्य नाटकको आकर्षण हो । तर, बिहेबारीले नै उनीहरूबीचको दम्भ साम्य गर्छ भन्ने तथ्य नाटकमा सजीव रूपमा उजागर गरिएको छ । नाटकमा पुलको बिम्ब बनाएर दुई गाउँबीचको उतारचढावपूर्ण सम्बन्धलाई बडो मार्मिक रूपमा दर्शाइएको छ । 

‘भागी विवाह’ का रोचक प्रसंगहरूलाई जोड्दै नाटकले छोरी–चेलीप्रतिको प्रेमलाई दर्शकदीर्घामा ल्याएको छ । बिजुली बत्ती नभएको, बाटोघाटो नपुगेको गाउँमा छोरी–चेली विवाह गरेर जाँदा दुःख भोग्नुपर्छ भन्ने पिरलो माइतीलाई हुने प्रसंग विशेष रूपमा नाटकमा देखाइएको छ । 

नाटकमा पूर्वी पहाडको लिम्बू बस्तीको झल्को पाउन सकिन्छ । नाटक मनोरञ्जनले भरिपूर्ण छ । पात्रहरू स्वाभाविक लाग्छन् । च्याब्रुङको धुन, तोङ्वा, सुँगुर आदिले लिम्बू बस्तीको सजीव चित्र नाटकमा उतारिएको छ । 

लिम्बू समुदायमा प्रचलित ‘जारी प्रथा’ बारे २१ वर्षअघि नवीन सुब्बाद्वारा निर्मित चलचित्र ‘नुमाफुङ’ पछिको विवाहसँग सम्बन्धित विषयवस्तु समेटिएको ‘चोरको स्वर’ पहिलो नाटक हो । दुवैको परिवेश, पात्र, भाषा–शैली करिब उस्तै छ । कथा वाचनको प्लेटफर्म र कथा भन्ने शैलीमा भने विविधता छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>