Successfully Copied

फेसनमा घडी

पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् । 

पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् । 

हुन त विगतमा पनि घडीको फेसन चलेकै हो । रवाफिलो जीवनशैलीको एउटा मानकजस्तै हुन्थ्यो घडी पनि । खासगरी लाहुरेहरूले घडीको क्रेजलाई अरु बढाइदिए । घर फर्कदा उनीहरूले लगाउने घडीमा मान्छेहरू मोहित हुन्थे । ‘कोसेली के ल्याइदिऊँ’ भनी सोध्दा मान्छेहरू फटाफट जवाफ दिन्थे, ‘घडी ।’

तर, समयक्रममा घडी लाहुरेको चिनो मात्र भएन । नेपाली बजारमा छ्यापछ्याप्ती भयो । अन्ततः हरेकजसोका नाडी घडीले सजिन थाले । मान्छेले समय हेर्न भन्दा पनि आफूलाई स्टाइलिस देखाउन थरीथरीका घडी रोज्न थाले । घरबाहिर निस्कँदा होस् वा कुनै औपचारिक कार्यक्रममा सहभागी हुँदा नाडीमा घडी अनिवार्य हुन थाल्यो । अझ विवाहमा दुलहा–दुलहीलाई घडी नभई नहुने भयो । नव दम्पतीलाई एकसरो लत्ताकपडासँगै घडी दिने प्रचलन नै सुरु भयो । 

घडीका सौखिनहरू

घडी लगाउनैपर्छ भन्ने केही छैन । तर, धेरैले यसलाई आफ्नो नाडीको शोभा ठान्ने गर्छन् । घडीले व्यक्तिलाई कुशल र शालीन हुनुको संज्ञा दिन्छ । त्यही कारण उनीहरू घडी बाँध्न छुटाउँदैनन् । घडी मात्र भएर पनि पुगेन । ब्रान्डेड वा महँगा घडी लगाउने होड नै छ । कतिपय त घडीका कतिसम्म सौखिन हुन्छन् भने उनीहरू भएभरका ब्रान्डेड घडीहरू संकलन गर्छन् । पहिरनसँग संयोजन मिलाएर थरीथरीका घडी लगाउँछन् । 

अभिनेतृ शिल्पा मास्के घडीकी सौखिन छिन् । उनी भन्छिन्, ‘म घडी लगाउन कहिल्यै छुटाउँदिन । तर ब्रान्डबारे भने त्यति सचेत छैन ।’ उनी घडी खरिद गर्दा डिजाइनमा ध्यान दिन्छिन् । अर्की अभिनेतृ सारा सिरपाइलीको मनपर्ने एसेसरिजमा घडी पर्छ । उनी भन्छिन्, ‘घडीले स्मार्ट देखाउँछ ।’ मिस युनिभर्स नेपाल २०१८ की विजेता मनिता देवकोटासँग घडीको राम्रो कलेक्सन छ । उनी भन्छिन्, ‘मलाई घडी एकदमै मनपर्छ । म प्रायः घडी लगाउँछु ।’ 

खासगरी सेलिब्रेटी, फुटबलर, फिल्म स्टार, गायक आदिले नाडीमा घडी छुटाउँदैनन् । उनीहरूको सिको गर्दै धेरैले घडीलाई आफ्नो व्यक्तित्वको हिस्सा बनाउँछन् । अहिलेको युवापुस्ताले घडीलाई फेसन एसेसरिजका रूपमा लिन थालेको छ । नेपाली बजारमा विभिन्न ब्रान्डका विभिन्न डिजाइन र रंगका घडी पाइन्छन् । 

कुन ब्रान्ड लोकप्रिय ?

घडीका केही यस्ता ब्रान्ड छन्, जसलाई विश्वचर्चित व्यक्तिहरूले प्रयोग गर्छन् । त्यसको मूल्य पनि उत्तिकै महँगो हुन्छ । उदाहरणका रूपमा रोलेक्सलाई लिन सकिन्छ । यो विश्वकै सर्वाधिक लोकप्रिय ब्रान्ड हो । 

त्यससँगै सिको, राडो, ओमेगा, टिटान, गुची, ब्ल्याकपेन, बेचेरोन कोन्सटेटिन, चोपार्ड विश्वचर्चित ब्रान्ड हुन् । त्यसमध्ये धेरैजसो ब्रान्डका घडी नेपालमा उपलब्ध छन् । रोलेक्स, राडो, टिटान, टाइमेक्स, टिसोट, क्यासियो, फास्टट्रयाकजस्ता ब्रान्डका घडी नेपाली बजारमा लोकप्रिय मानिन्छन् । 

वर्षमा कति आयात हुन्छन् घडी ?

नेपालमा घडी र यसका पार्टपुर्जाका सामानको आयात बर्सेनि बढ्दो छ । वर्ष ०७७/०७८ मा ३५ करोड ९१ लाख ५१ हजार रुपैयाँको आयात भएको थियो । वर्ष ०७८/७९मा भने ४१ करोड १२ लाख रुपैयाँ बराबरको घडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी चीनबाट घडी आउँछन् भने नेपालमा हङकङ, कोरिया, स्वीजरल्यान्ड, भारत, अमेरिका, बेलायत, कुवेत आदि देशहरूबाट घडीहरू आयात गरिन्छ । 

नेपाली ब्रान्ड, लाखौंको घडी

विश्वकै महँगो घडीमध्ये नेपाली ब्रान्ड पनि पर्छ, जसको मूल्य लाखौँ रुपैयाँ पर्छ । न्यूनतम दुई लाखदेखि १७ लाख रुपैयाँसम्मका घडी नेपालमै बन्छन् । काठमाडौंको कोबेल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालय घडीको मुख्यालय भने अमेरिकामा छ । यो घडी विशेष तरिकाले बनाइन्छ । यसको डायलमा सगरमाथाको चट्टान राखिएको हुन्छ । कोबल्डको विशेषता भनेको यसले अत्यधिक चिसो खप्न सक्छ भने ‘विन्ड प्रुफ’ हुन्छ । यसले बेतोडको हावाको वेगलाई समेत थेग्न सक्छ । त्यसका साथै यो एक सय मिटरसम्मको गहिराइको पानीमा डुब्दा पनि बिग्रदैन । डायलमा चट्टान राखिएर बनाइने भएकाले यो घडी रगडिँदा पनि बिग्रदैन । यो हातले नै बनाइन्छ । घडीको फित्तामा प्रयोग गरिने छाला पनि नेपालमै बनाइन्छ । घडी बनाउन चाहिने कतिपय कच्चापदार्थ भने अमेरिकाबाट आयात गरिन्छ । यो महँगो घडी धेरै नेपाली बजारमै खपत हुन्छ । त्यसबाहेक नेपाल घुम्न आएका पर्यटकले यो घडी खरिद गर्ने गरेका छन् । विशेषगरी यो घडी आरोहीहरूले प्रयोग गर्छन् । चिसो र हिउँले नबिगार्ने भएकाले उनीहरूको रोजाइमा यो घडी पर्ने गरेको छ । त्यसबाहेक नेपालमा हिमालय ४१, हिमालय ४४, ट्रान्सग्लोब, थाङ्का डायल, लिंक्स मोडलका घडीहरू बन्छन् । 

त्यस्तै, पर्यावरणमैत्री उपभोग्य सामग्रीको उत्पादन बढाउनका लागि नेपालमा ओखरको घडी बन्ने गरेको छ । ओखरको काठबाट बन्ने यो घडी उपहारस्वरूप दिने प्रचलन बढेको छ । यो घडीको पछाडिको भागमा ग्राहकको चाहनानुसार खोपेर लेखिन्छ । यो घडीको डायल वरिपरिको भाग र चेनमा ओखरको काठको प्रयोग गरेर बनाइन्छ भने घडीको इन्जिन भने जापानी कम्पनीको हुन्छ । यो घडी हातले नै बनाइन्छ । यसको मूल्य नेपाली बजारमा ४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

विश्वकै महँगो घडी

घडीका सौखिनहरू मूल्यसँग सम्झौता गर्दैनन् । यसो नहुँदो हो त विश्वमै महँगा घडीको निर्माण हुँदैनथ्यो होला । महँगो होस् वा सस्तो, घडीको काम समय बताउने न हो । तर, घडी फेसनसँग मात्र नजोडिएर विलासीतासँग जोडिन थालेको छ । घडीको ब्रान्ड उसको प्रतिष्ठासँग जोडेर हेरिन थालेको छ । 

विश्वकै महँगो घडीमा ‘चोपार्ड २१० क्यारेट’, ‘पाटेक फिलिप्पे सुपर कम्प्लिकेसन’, ‘लुइस मायोनेट, म्याजिस्टेल्स’, ‘ब्ल्याकपेन १७३५ ग्रान्डी कम्प्लिकेसन’ आदि पर्छन्, जसको मूल्य करोडौं, अर्बौ रुपैयाँ पर्छ । यी घडीको बनावट अद्वितीय ढंगले गरिएको हुन्छ र बहुमूल्य रत्न जडित हुन्छ । रोलेक्स ‘होममेड’ घडी हो । यो निकै महँगो घडीमध्येको एक हो । यो घडी बनाउन धेरै खर्च हुन्छ । साथै दक्ष जनशक्तिको आवश्यकता पर्छ । यसको मूल्य ५ हजारदेखि १७ लाख अमेरिकी डलरसम्म रहेको छ ।

 Image