Successfully Copied

‘उद्देश्य त नीलो ताज नै हो’ 

तेह्रथुम घर भई काठमाडौंमा जन्मिएकी प्रियंकारानी जोशी यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२२’ ताज पहिरन सफल भएकी छन् ।

तेह्रथुम घर भई काठमाडौंमा जन्मिएकी प्रियंकारानी जोशी यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२२’ ताज पहिरन सफल भएकी छन् । ‘मिस नेपाल वर्ल्ड’ बन्न सफल उनले आफ्नो उद्देश्य ‘मिस वर्ल्ड’ को नीलो ताज पहिरने रहेको बताइन् । शिक्षित परिवारमा जन्मिएकी प्रियंका बाल्यकालमा चुलबुले थिइन् । परिवारमा अनुशासन चाहिने भएर उनका अभिभावकले उनलाई भारतको खर्साङस्थित ‘सेन्ट हेलेन्स कन्भेन्ट’ मा भर्ना गराए । ‘मेरो जग त्यहीँबाटै तय भयो । आज म जे छु त्यसको प्रभाव पनि हो’ उनले भनिन् । उतैबाट कक्षा १० उत्तीर्ण भएपछि उनले काठमाडौं फर्की मोर्डन इन्डियन स्कुलबाट प्लस टु सिध्याइन् । काठमाडौंस्थित ‘सेन्ट जेभियर्स’ बाट अंग्रेजी साहित्य र पत्रकारितामा स्नातक गरिन् । सानैदेखिको रहरले ग्ल्यामरतर्फ ताने पनि बिस्तारै ठूलो हुने क्रममा उनले बुझिन्, सौन्दर्य प्रतियोगिताको अर्थ सुन्दरता र ग्ल्यामर प्रदर्शन मात्रै होइन रहेछ । यसमार्फत समाज र राष्ट्रको विकासका लागि थुप्रै काम गर्न सकिने रहेछ । बच्चैदेखिको बानी–व्यवहार, बोलीचाली र सक्रियता देखेर उनकी आमाले ‘मिस नेपाल’ मा सहभागी हुन प्रेरित गर्थिन् । उनी भन्छिन्, ‘म इन्डिया पढ्दा नेपाली भन्नेबित्तिकै छुट्टै व्यवहार र माया पाउँथें । त्यतिबेलादेखि मलाई रिएलाइज भयो, देश बोकेर हिँड्दा प्रतिनिधित्व महसुस हुने रहेछ अनि मलाई यस्तै खाले प्लेटफर्म चाहिन्छ भन्ने लाग्न थाल्यो ।’ आफ्ना तिनै उद्देश्य पूरा गर्न आफू ‘मिस नेपाल’मा सहभागी भएको बताइन् । अघिल्ला ‘मिस नेपालहरू’ ले गरेका सामाजिक कार्यबाटउनी प्रभावित छिन् । आगामी ‘मिस वर्ल्ड’ प्रतिस्पर्धामा जाने तयारीमा रहेकी प्रियंकाले भनिन्, ‘यो प्लेटफर्ममार्फत नेपाल र नेपालीका लागि सेवामूलक काम गर्नु नै मेरो उद्देश्य हो, साथै नेपाललाई विश्वव्यापीरूपमा चिनाउन मेरो पहल हुनेछ ।’ 

  

आफूमा भएको के कुराले ‘मिस नेपाल वर्ल्ड’ को ताज जित्न सफल भएजस्तो लाग्छ ?

प्रतिकृयालाई सहज रूपमा लिने र त्यसभित्रका सकारात्मकतालाई ग्रहण गर्ने मेरो बानी छ । मेरो ‘इनसाइटफुल नेचर’ ले मलाई सहयोग गरेजस्तो लाग्छ ।

ॅमिस नेपाल’ मा आफ्नो नाम घोषणा हुनेबित्तिकै सम्झिएका तीन कुरा के–के हुन् ?

आमाबुवा, कोरियोग्राफी र राष्ट्रप्रतिको मेरो जिम्मेवारी । 

सुन्दरता, बौद्धिकता र मानवीयतालाई कसरी परिभाषित गर्नुहुन्छ ?

सुन्दरता भनेको आँखालाई सुखानुभुति दिने कुरा हो । बौद्धिकता दिमाग र ज्ञानद्वारा आउने कुरा हो भने मानवीयता मन र भावनात्मक करुणाले पहिचान गर्ने कुरा हो ।

मिस नेपाल’ का नाताले नेपाल र नेपालीप्रति तपाईंको कस्तो योगदान रहनेछ ?

अब मेरो जिम्मेवारी भनेको देश बोकेर अगाडि बढ्ने हो । ‘मिस नेपाल वर्ल्ड’ ठूलो प्लेटफर्म हो । अबको एक वर्ष समुदाय र राष्ट्रिय विकासका लागि तन–मनले खर्च गर्नेछु ।

‘मिस वल्ड’को तयारी कस्तो चल्दैछ ?

वर्षाको बेला छ र पनि काम तीव्र गतिमा भइरहेको छ । वाक, टक, नलेज, प्रिजेन्टेसन स्किलमा काम गरिरहेकी छु ।

‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मूल चुनौती के हुनेछ ?

२८ वर्ष भएको छ हामी ‘मिस नेपाल’ मा जान थालेको जबकि अन्य मुलुकहरूको सयौं वर्षको इतिहास छ र पनि हामी ‘टप टेन’ लगायत कुनै न कुनै विधाभित्र पर्न सफल भइसकेका छौं । यसलाई ‘प्रोफेसनल’ बनाउनु जरुरी छ न कि राष्ट्रिय उत्सव मात्रै ।

‘मिस वर्ल्ड’ मा के कुरामा बढी केन्द्रित हुनु हुनेछ ?

केन्द्रिकृत हुने त ‘मिस वर्ल्ड’ को त्यो ‘नीलो ताज’ नै हो । ‘हेड टु हेड च्यालेन्ज’मा जित्ने अर्को लक्ष्य हो । जित/हार जे भएपनि संसारभर आफ्नो मुलुकलाई चिनाउनु नै मेरो मुख्य लक्ष्य हो ।

नेपाली नारीको विकास र सशक्तीकरणका लागि तपाईंले गर्न सक्ने काम के हो ? जुनसुकै क्षेत्रमा सफल हुनका लागि युवालाई तपाईंको सन्देश के हो ?

अबका युवाले लक्ष्य समात्नुपर्छ, अन्तर्राष्ट्रिय नेटवर्किङ बनाउनुपर्छ र शिक्षालाई व्यावहारिक रूपमा उतार्नुपर्छ ।

युवाहरू मूलधारको राजनीतिमा आइरहेका बेला तपाईंले ॅमिस नेपाल’ को ॅटाइटल’ जित्नुभएको छ, सौन्दर्य प्रतियोगितालाई नारी सुन्दरता दुरुपयोग गरेको भन्ने आरोप पनि लाग्छ । यसमा तपाईंको धारणा के छ ?

‘पोलिटिक्स’ होस् वा ‘प्याजेन्ट्री’ दुवैलाई सही ढंगले उपयोग गर्न सके राम्रो परिणाम आउनसक्छ । दुवैले आफ्नो धारणा राख्ने बाटो खुलाउँछन् । अर्को कुरा,‘मिस नेपाल’ सौन्दर्यमा मात्र सिमित प्रतियोगिता होइन । यसमा जीवन र जगत्लाई बुझ्ने र उपयोग गर्ने विषयहरू समावेश छन् । ‘मिस नेपाल’ हरू सामुदायिक विकासमा लागेर राम्रो परिणाम दिइसकेका धेरै उदाहरण छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिनिधित्व गर्दै मुलुकलाई विश्वसामु चिनाउने काम पनि यो प्रतियोगिताबाट भइरहेको छ । अझ मूल कुरा त थुप्रै युवामा आँट र प्रेरणा थप्ने काम पनि यसले गरेको छ ।

पाठकका लागि सुझाव र सन्देश के छ ?

यहाँसम्मको यात्रामा सहयोग, सद्भाव र प्रेमका लागि सबैलाई हृदयदेखि धन्यवाद । ‘मिस वर्ल्ड’का लागि हरेक नेपालीको साथ र सहयोगको अपेक्षा गरेकी छु ।

 Image