Successfully Copied

भिगन संस्कृति

पछिल्लो समय विश्वव्यापी रूपमा पशुपन्छीजन्य वस्तु नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने एउटा अभियानले तीव्रता पाएको छ । नेपालमा पनि विस्तारै–विस्तारै यो अभियानले गति लिइरहेको छ ।

पछिल्लो समय विश्वव्यापी रूपमा पशुपन्छीजन्य वस्तु नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने एउटा अभियानले तीव्रता पाएको छ । नेपालमा पनि विस्तारै–विस्तारै यो अभियानले गति लिइरहेको छ । अभियानलाई केहीले ‘शुद्ध शाकाहार’ त केहीले ‘विशुद्ध शाकाहार’ भनिरहेका छन् । तर, अंग्रेजीमा भने ‘भिगन’ नाम दिइएको छ । यो एउटा जीवनशैलीसँग जोडिएको विषयवस्तु पनि हो ।  

तीन वर्षअघि एकजना सगरमाथा आरोहीले पशुपन्छीको छाला तथा रौंबाट बनेको कपडा र दूधजन्य पदार्थहरू वर्जित गरेका थिए । ज्याकेटमा चराको प्वाँख समावेश हुने भएकाले ती आरोहीले अरु नै कपडा लगाएर सगरमाथा आरोहण गरेका थिए । यसरी सगरमाथा आरोहण गर्नेमा ‘भिगन’ जीवनशैली अपनाएका कुन्तन जोसेयर हुन् । उनले यो अभियानबाट पशुपन्छी प्राकृतिक रूपमै जन्मिन, बाँच्न र मर्न पाउने र यो प्रक्रियाले पृथ्वीको सन्तुलन कायम राख्न मद्दत पुग्ने दाबी गर्दै आएका छन् । उनले ‘भिगन’ जीवनशैलीले मानिस कमजोर हुँदैनन् भनेर प्रमाणित गर्न आफू लागिपरेको प्रतिक्रिया दिँदै आएका छन् । ‘जनावरको शोषण गरी निर्माण गरिएका स्याम्पु, ज्याकेट, क्रिमजस्ता वस्तुहरू मैले वर्जित गरेको छु’ उनले भनेका छन्, ‘म भिगन जीवनशैलीका आधारमा सगरमाथा आरोहण गर्न सफल भइसकेको छु ।’

फेसन डिजाइनर उमा नेमकुल ६ वर्षसम्म शाकाहारी थिइन् । माछा, मासु एवं अण्डा उनका लागि वर्जित थिए । तर दूध–दही भने उनी खान्थिन् । दूध, दही एवं पनीर आदिले पनि शरीरलाई त्यति फाइदा हुँदैन भन्ने उनलाई लाग्यो र उनी ‘भिगन डाइट’ तिर लागिन् । श्रीमान् विकास अमात्यले उनलाई साथ दिए । ‘भिगन डाइट’ अन्तर्गत पर्ने ‘एनिमल प्रडक्ट’हरू सबै उनीहरूले वर्जित गर्न थाले । ‘भिगन डाइट’ ले शरीरलाई धेरै राम्रो गर्न थालेको महसुस गरे । पेटमा समस्या नदेखिने, शारीरिक रूपमा तन्दुरुस्त हुने, निद्रा राम्रोसँग लाग्दै गयो । गर्भवती हुँदा पनि उनले यही डाइटलाई नै निरन्तरता दिइन् । फलफूल, दाल, तरकारी आदि खानेकुराबाटै आफूले प्रोटिन प्राप्त गरेको उनले बताइन् । उमाले भनिन्, ‘शरीरमा प्रोटिन प्राप्त गर्न माछा–मासु नै खानुपर्छ भन्ने हुँदैन, फलफूल एवं तरकारीबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ ।’ ‘भिगन’ जीवनशैली अपनाउँदा शरीरलाई धेरै फाइदा हुने उनको अनुभव छ । 

‘वर्ल्ड भिगन नेपाल’ का अध्यक्ष सुरेशप्रसाद शर्माका अनुसार पछिल्लो समय संसारभर ‘भिगन डाइट’ अपनाउनेको संख्या बढ्दो छ । नेपाल–भारतजस्ता मुलुकमा धेरै व्यक्ति शाकाहारी हुँदै यो ‘भिगन डाइट’ मा आकर्षित हुँदै गएका छन् । यसमा फलफूल, सागसब्जी, अन्न र गेडागुडी खान सकिन्छ । त्यस्तै, मासु, माछा र दुग्धजन्यपदार्थ यस किसिमको खानामा प्रतिबन्धित हुन्छ । जनावरलाई काटमार गर्नुहुँदैन, उनीहरूमाथि हिंसा गर्नुहुँदैन भन्ने मान्यताका साथ ‘भिगन’ संस्कृति विकसित हुँदै गएको शर्माको भनाइ छ । 

‘भिगन डाइट’ले मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता बढाउने विभिन्न अध्ययनले देखाएका छन् । ‘ब्रिटिस मेडिकल जर्नल’ मा प्रकाशित एक शोधले मासु खाने व्यक्तिको तुलनामा ‘भिगन’ र शाकाहारी व्यक्तिमा हृदयको धमनी (सीएचडी) सँग जोडिएको रोग कम हुने देखाएको छ । यो शोधमा १८ वर्षसम्मका ४८ हजारलाई सहभागी गराइएको थियो । 

पोषणविद् सुशीला शर्माले ‘भिगन’ भोजनमार्फत प्रोटिन प्राप्त भए पनि भिटामिन ‘बी–१२’ को भने शरीरमा कमी हुने बताउँछिन् । उनका अनुसार ‘भिगन’ शैली अपनाउनेहरूले फलफूल र अन्य खानेकुराबाट प्रोटिन पूरा गर्छन् । तर भिटामिन ‘बी १२’ भने ‘एनिमल सोर्स’बाट आउँछ । यसको कमीका लागि व्यक्तिहरूले औषधि पनि खान सक्ने अवस्था आइसकेको उनले बताइन् । ‘भिगन जीवनशैली अपनाउनेहरूका लागि कमी भनेको भिटामिन ‘बी १२’ हो तर त्यो अहिले ट्याबलेटमा आइसकेको छ जसले गर्दा भिगनहरू स्वस्थ हुन सक्छन्,’उनले भने । यो जीवनशैली अपनाउने व्यक्तिहरूलाई रोग लाग्दैन, रोग प्रतिरोध क्षमता बढ्छ भन्नु चाहिँ गलत भएको सुशीलाले बताइन् । शाकाहारी भए पनि सन्तुलित भोजन खान सकिएन भने मानिस कमजोर हुने उनको भनाइ छ । उनले भनिन्, ‘भिगन भनेर धेरै मात्रामा खाना खानु, तेलको मात्रा बढी प्रयोग गर्ने बानी भए शाकाहारी जीवनशैलीले पनि व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।’

 

भिगन रेस्टुरेन्टहरू

प्लेस रेस्टुरेन्ट एण्ड बार सातघुम्ती, ठमेल 

विशेषता : भिगन रेस्टुरेन्ट र बार जुन ‘सेभेन कर्नर’मा अवस्थित छ । व्यस्त ठमेल क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टबाट ठमेल एरिया अवलोकन गर्न सकिन्छ । 

सारंगी भेजिटेरियन रेस्टुरेन्ट, ठमेल

विशेषता : ठमेलको शिव कम्प्लेक्सको टपमा रहेको यो रेस्टुरेन्टमा ‘भिगन’ ग्राहकहरूले सेवा लिन सक्छन् । छतमा रहेको बगैंचालाई नियाल्दै ‘भिगन’ परिकार खान सकिन्छ । 

एनिवर भेजिटेरियन रेस्टुरेन्ट, ठमेल

विशेषता : यो रेस्टुरेन्टमा नेपाली, भारतीय परिकारका साथै टोफु पनि खान सकिन्छ ।

मिस्टर कर्न, बुटवल 

विशेषता : सय प्रतिशत भेज नाराका साथ सञ्चालित यो रेस्टुरेन्टले ‘भिगन’लाई नै प्राथमिकता दिएको छ ।

सुरेशप्रसाद शर्मा 

अध्यक्ष, वर्ल्ड भिगन अर्गनाइजेसन नेपाल

नेपालमा कहिलेदेखि ‘भिगन’ संस्कृति सुरु भयो ?

ठ्याक्कै यही समयदेखि ‘भिगन’ संस्कृति सुरु भयो भन्न सकिँदैन । तर, कोभिड महामारीपछि यसले लोकप्रियता पाएको हो । नेपालीहरू माझ यसबारे स्पष्ट परिभाषा रहेको पाइँदैन । कतिपयले शाकाहारीलाई ‘भिगन’ का रूपमा लिएका छन् । तर, त्यो गलत हो । ‘भिगन’ भनेको पशुपन्छीजन्य उत्पादनलाई वर्जित गर्नु हो ।

 

‘भिगन डाइट’ अन्तर्गत के–कस्ता खानेकुरा वर्जित छन् ?

‘भिगन डाइट’ लाई शाकाहारी भन्दा पनि शुद्ध शाकाहारीका रूपमा बुझ्नुपर्छ । ‘भिगन’को मुख्य सिद्धान्त भनेकै पशुपन्छीजन्य उत्पादन वर्जित गर्नु हो । यसमा दूध, दही, मोही, पनीर एवं घिउ सबै कुरालाई वर्जित गरिन्छ । धेरै मानिसले महसमेत सेवन गर्दैनन्, अन्न, तरकारी, फलफूल, दाल, गेडागुडीहरूमात्रै सेवन गर्छन् । 

‘भिगन डाइट’ले शरीरमा प्रोटिनको मात्रा पुग्छ त ?

‘भिगन डाइट’ अन्तर्गत दूध, मोही, घिउ एवं माछा–मासु सबै वर्जित हुन्छन् । तर, धेरैलाई लाग्न सक्छ कि ‘भिगन डाइट’ले मानिसको शरीरमा कसरी प्रोटिन पुग्छ । ‘भिगन डाइट’ लिनेहरूले सागसब्जी एवं गेडागुडीको माध्यमबाट प्रोटिन प्राप्त गर्न सक्छन् । माछा–मासुले मात्र शरीरमा प्रोटिनको मात्रा पुर्‍याउँछ भन्नु भ्रम हो । ‘भिगन डाइट’ अन्तर्गत फलफूल एवं तरकारी जस्तै ब्रोकाउली, भटमास, गेडागुडी, दालहरू सेवन गरी प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ । 

भिगन बन्न कति सम्भव छ ?

धेरै परिकारलाई वर्जित गर्दै ‘भिगन’ बन्नु सहज होला त भन्ने सबैलाई लाग्न सक्छ । तर यो एक जीवनशैली भएकाले विस्तारै सहज बनाउँदै लान सकिन्छ । पहिले केही समस्या भए पनि पछि सहज बन्दै जान्छ । घरमा त सहज हुन्छ तर बाहिर कहाँ खाने, के गर्ने भन्ने समस्या पनि छैन । भिगन रेस्टुरेन्टहरू पनि खुल्न थालेका छन् । रेस्टुरेन्ट पुग्न नसके पनि अर्डर गरी खाजा खान सक्ने सुविधा छ । 

सामु योञ्जन राई 

सञ्चालक लभिङ हार्ट भिगन रेस्टुरेन्ट 

‘भिगन रेस्टुरेन्ट’ को सोच कसरी आयो ?

करिब ८ वर्षअगाडि विदेश गएको थिएँ । म आफू भिगन थिएँ तर त्यहाँ थुप्रै ठाउँमा खाना खोज्दा पनि मैले भिगन खानेकुरा पाइन । त्यसपछि मलाई लाग्यो हाम्रो देशमा पनि ‘भिगन’ खोज्ने विदेशी ग्राहकहरू पक्कै आउँदा हुन् । त्यही सोचले मैले सुरुमा बौद्धमा रेस्टुरेन्ट खोलें जुन नेपालको पहिलो भिगन रेस्टुरेन्ट बन्न पुग्यो । विगत दुई वर्षदेखि भने यो रेस्टुरेन्ट ठमेलमा सञ्चालन भइरहेको छ । 

यो रेस्टुरेन्टका विशेषताहरू के–के हुन् ?

यो पूरै ‘भिगन रेस्टुरेन्ट’ हो । शाहाकारीहरूका लागि पनि यो रेस्टुरेन्ट उपयुक्त छ । यहाँ लसुन–प्याज पनि वर्जित छ । ग्राहकहरूको स्वास्थ्यलाई नै हामीले फोकस गरेका छौं । अर्को कुरा फुडको अर्डर आएमा हामीले डेलिभरी पनि गर्ने गरेका छौं ।

भिगन ग्राहकहरूका लागि के–कस्ता परिकार बन्छन् ?

हाम्रोमा स्वदेशी ग्राहकभन्दा विदेशी ग्राहकहरू बढी आउँछन् । पछिल्लो समय नेपालीहरू पनि ‘भिगन’ परिकारप्रति आकर्षित हुन थालेका छन् । विशेषगरी ‘भिगन बफेट’, ‘सुसी रोल’, ‘भिगन जुस’, दहीजस्ता परिकार बन्ने गरेका छन् ।

 Image