नाम्चेमा शेब्रु डान्स

मनोज पौडेल

श्रावण ९, २०७९ सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पुगेपछि चारैतिर हिमाल टल्किन थाल्छन् । बजारमा पाइलैपिच्छे भेटिने ठूला–साना गुम्बा, माने, ध्वजा र खादाले कुनै शान्ति र पुण्यभूमि पुगेको अनुभूति गराउँछन् ।

सहरमा रंगीचंगी र स्थानीय बौद्ध संस्कृति झल्किने घरहरूले पोस्टरहरूमा अक्सर देखिने युरोपेली सहरको अनुभव गराउँछन् । त्यसैले नाम्चेलाई नेपालीले भन्दा विदेशीले बढी चिन्छन् । अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेको सुन्दर बस्ती र शेर्पा जातिको संस्कृतिले नाम्चे आउने पदयात्री र आरोहीलाई पनि उस्तै आकर्षित गरिरहेका हुन्छन् । त्यसैमध्ये यहाँको प्रमुख आकर्षण हो–हिमाली आमाहरूको शेब्रु डान्स । मनोरञ्जनका नयाँ–नयाँ प्रविधि र आधुनिकतासँगै हराउन लागेको यो नाच संरक्षण गर्न महिलाहरू लागेका छन् । ‘यो नाचले नाम्चेको इतिहास र गौरव बोकेको छ,’ स्थानीय पर्यटन उद्यमी आङमाया शेर्पाले भनिन्, ‘त्यसैले यसको संरक्षण गर्नुपर्छ ।’ खुसी र अतिथि सत्कारका बेला शेब्रु डान्स गर्दा छुट्टै आनन्द पाइने पर्यटन व्यवसायी राजु पुलामी मगरले बताए ।

शेर्पा समुदायको कला–संस्कृति बोकेको नाच जोगाउन नाम्चे आमा समूह योजना बनाएर लागेका हुन् । पाहुनालाई स्वागत गर्न र खुसीका क्षणमा गरिने यो नाचमा शेर्पा पहिरन आङ्गी, पाङ्देन र श्यामु लगाइन्छ । नाचमा सहभागी हुने सबैले पछाडिबाट एक–अर्कासँग हात बाँधी खुट्टा उचालेर अघि बढ्दै, पछि हट्दै गीत गाएर नाच्छन् । उनीहरूको चाल र पहिरनले पर्यटक लोभिन्छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटर उचाइमा रहेको नाम्चेमा यो नाच स्वदेशी–विदेशी पर्यटक रमाउने मुख्य आकर्षण रहेको छ ।

 

 तस्बिर : मनोज पौडेल 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>