Successfully Copied

र्‍यापर महिला

दुई वर्षअघि ‘हाउडे माया’ बोलको गीतमार्फत चर्चामा आइन्–सिर्जना खत्री । त्यसपछि उनले ‘मेरो एक्स’ को छम्मा बोलको गीत सार्वजनिक गरिन् । र्‍याप शैलीको उक्त गीत चर्चितसँगै विवादित पनि भयो ।

दुई वर्षअघि ‘हाउडे माया’ बोलको गीतमार्फत चर्चामा आइन्–सिर्जना खत्री । त्यसपछि उनले ‘मेरो एक्स’ को छम्मा बोलको गीत सार्वजनिक गरिन् । र्‍याप शैलीको उक्त गीत चर्चितसँगै विवादित पनि भयो । ‘छम्मा’ शब्दले विवाद उत्पन्न गर्‍यो । उनले भनिन्, ‘गीतको एक शब्दले मात्र विरोध भयो तर समग्रमा गीत विरोध गर्ने खालको छैन ।’ चाहे पुरुषहरूले होस् वा महिलाहरूले गाउनेलाई र्‍यापको शब्दले विवाद भइरहन्छ । समाजले र्‍याप नबुझेका कारणले पनि हरेक पटक विवाद हुन पुगेको उनी बताउँछिन् । उनले भनिन्, ‘र्‍याप भनेको सामाजिक क्रान्तिको एक हिस्सा हो । यसलाई संगीतमार्फत देखाउन खोजिएको मात्र हो ।’ ‘हाउडे माया’, ‘एक्सको छम्मा’ लगायतका पप गीत गाएर अनुभव बटुलेकी उनी महिला भएर र्‍याप हान्न सहज नभएको बताउँछिन् । पुरुषहरूले र्‍याप गीतमा प्रयोग गर्ने शब्दहरू सहज हुन्छन् भने तिनै शब्दहरू महिलाले प्रयोग गर्दा असहज मानिन्छन् । पछिल्लो समय र्‍याप सुन्नेहरूको जमात बढ्दै गएको उनको भनाइ छ । उनले भनिन्, ‘र्‍याप सुनेर रमाउनेहरूको संख्या दिनहुँ बढ्दै गएको छ, समाजले पनि र्‍यापलाई बिस्तारै बुझ्दै गएको छ ।’ यसले गर्दा गीत–संगीतका माध्यमबाट आर्थिक रूपमा पनि सक्षम हुन सहज हुने भएको छ, उनले भनिन्, ‘र्‍याप गाएर आर्थिक रूपमा सबल हुन सक्ने अवस्था पनि आइसकेको छ ।’

सिर्जनाको ‘हाउडे माया’ बाट सुरु भएको गीत गायन करियरले ‘नौटंकी माया’, ‘लाहुरे माया’, ‘डबल माया’, ‘मेरो एक्सको छम्मा’ देखि ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ हुँदै ‘डान्स इज माई प्यासन’ सम्म पुगिसकेको छ । गायनबाहेक लेडिज फेन्सीको व्यवसाय गर्दै आएकी उनी आफ्नो रहरका लागि पप गीत गाएको बताउँछिन् । उनलाई लाग्छ आफूमा भएको कथा भोगिएको अनुभवलाई र्‍यापमार्फत प्रस्तुत गर्न सहज हुन्छ । 

बुटवलकी प्रमिला राना मगर सानैदेखि र्‍याप गाउँथिन् । घरमा र्‍याप गाउँदा–गाउँदै उनले युट्युबमा पोस्ट गर्न थालिन् । आफ्नो अफिसियल युट्युब ‘पारन्स अफिसियल’ मा अपलोड गर्न थालिन् । र्‍यापमा उनले आफ्नै शब्द कोर्छिन् र गाउन थाल्छिन् । तर उनको परिवारलाई भने छोरीले र्‍याप गाएको पटक्कै मन पर्दैनथ्यो । उनले भनिन्, ‘छोरी र्‍यापर हुने भई भनेर सबैले गाली गर्नुहुन्थ्यो ।’ परिवारले उनलाई सहयोग नगरे पनि उनले निरन्तर र्‍याप गीत गाइरहिन् । घरमा मात्र सीमित उनको गीत तब चर्चित बन्यो जब उनी रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा आइपुगिन् । र्‍याप रियालिटी शोमा भाग लिन उनी बुटवलबाटै अडिसिनमा पुगिन् । उनले उक्त रियालिटी शोमा थुप्र्रै र्‍याप गीत गाएकी छन् । उनले आफै गीत बनाउँदै गाउन थालिन् । हिपपप गीतहरूमा आफैले लेखेर मात्रै गाउन सकिने उनको भनाइ छ । उनले भनिन्, ‘हिपपप गीतहरू आफैले लेखेर मात्रै गाउन सकिन्छ अरूले लेखेको गीतमा एक्प्रेसन नै दिन सकिँदैन ।’ व्यवस्थापमा ब्याचलर अध्ययनरत उनी र्‍यापमा आलोचित शब्द प्रयोग गरेर मात्र र्‍यापर बन्ने भनाइ सार्थक नभएको उनी बताउँछिन् । उनले भनिन्, ‘र्‍यापमा समाजले छाडा शब्द प्रयोग गर्नैपर्छ भन्ने हुँदैन, राम्रा शब्दहरूले पनि र्‍याप गाउन सकिन्छ ।’ शोमा टप २० बाट बाहिरिएकी उनले आफ्नै युट्युबमार्फत गीतहरू सार्वजनिक गरिरहेकी छन् । पढाइ र गायनलाई सँगसँगै अगाडि बढाउने उनको सोच छ । 

समाजमा भएका घटनाहरूलाई र्‍यापमार्फत प्रस्तुत गर्छिन् इना पाख्रिन । उनी ‘नेपहपको श्रीपेच शोमा’ शोमा पपुलर बनिन् । उनले पहिलो पर्फमेन्सदेखि नै दर्शकहरूको मन जित्न सफल भइन् । काठमाडौंमा जन्मे–हुर्केकी उनी लेडी र्‍यापर र गीत लेखनमा परिचित छन् । उनले रियालिटी शोमा नारी वेदनादेखि समाजमा घटेका घटनाहरूलाई र्‍यापमार्फत प्रस्तुत गरिन् । टप २० मा शोबाट बाहिरिएकी उनको र्‍याप यात्रा भने रोकिएको छैन । उनले निरन्तर र्‍यापमार्फत दर्शकहरूलाई मनोरञ्जन दिइरहेकी छन् । उनले र्‍यापमार्फत कसैलाई पनि होच्याउने वा हानि–नोक्सानी हुने तरिकाले र्‍याप नगाउने बताएकी छन् । भल्गर शब्दहरूले मात्रै र्‍याप गर्नुपर्ने मान्यता नभएको उनको तर्क छ । दर्शकहरूले भल्गर पनि मन पराउँछन् । उनले भनिन्, ‘र्‍यापमा भल्गर पनि समावेश हुन्छ धेरैलाई यो मन नपर्न सक्छ तर भल्गर सुन्ने समूह पनि प्रशस्त छ ।’ अरुको पीडालाई आफ्नै गरी महसुस गर्ने क्षमता र्‍यापरमा हुने गरेको छ । माया–पिरतीको भन्दा पनि समाजका घटनाहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्न उनलाई सहज लाग्छ । 

झापामा जन्मिएकी स्मृति विश्वकर्माले सानैदेखि जातीय विभेद भोगिरहिन् । सँगै बस्ने–खाने स्थानमा उनलाई जातकै कारणले विभेद भोग्नुपरेको तीतो अनुभव छ । तर उनी बोल्न सक्दिनथिन् । आफूमाथि जातीय विभेद भएको महसुस गर्थिन् तर प्रतिकार गर्ने आँट उनमा थिएन । विद्यालय अध्ययन गर्दा उनले पहिलोपटक यमबद्धको र्‍याप गीत ‘साथी’ सुनिन् । त्यसपछि उनलाई र्‍यापप्रति आकर्षण बढ्दै गयो । र्‍याप सुन्दै उनले र्‍याप लेख्न पनि थालिन् । उनले मनका गाँठाहरू र्‍यापमार्फत नै लेखेर रेकर्ड गरी युट्युबमा राख्न थालिन् । उनीहरूले एउटा समूह बनाएर र्‍यापबारे सिक्न थाले । दि स्मृति ब्याण्डले अर्गानिक शैलीमा प्रस्तुति दिन थालेको छन् । उनले जातीय विभेदका विरुद्ध र्‍यापहरू गाउँछिन् । उनले भनिन्, ‘गीतमार्फत बोल्न नसक्ने कुराहरू व्यक्त गर्न सकिने रहेछ ।’ । दबाइएको समुदायको आवाज पनि र्‍यापमा ल्याउने उद्देश्य रहेको उनले बताइन् । 

 

 Image