Successfully Copied

महिला बेचबिखन र यौन शोषण 

विश्वव्यापी रूपमा बालिका, किशोरी र नारीहरूको तस्करी र बेचबिखन भइरहेको छ । किशोरी एवं नारीहरूको तस्करी र बेचबिखन बढ्नुमा नारीहरूलाई भोग्याका रूपमा हेरिने चलन र उपभोगवादी संस्कृति कारकतत्त्व हुन् । बेचिनेहरूमा ठूलो संख्या महिलाको छ ।

विश्वव्यापी रूपमा बालिका, किशोरी र नारीहरूको तस्करी र बेचबिखन भइरहेको छ । किशोरी एवं नारीहरूको तस्करी र बेचबिखन बढ्नुमा नारीहरूलाई भोग्याका रूपमा हेरिने चलन र उपभोगवादी संस्कृति कारकतत्त्व हुन् । बेचिनेहरूमा ठूलो संख्या महिलाको छ । देशभित्रका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा समेत महिला बेचिएका छन् । अमेरिकाजस्तो विकसित देश होस् कि नेपालजस्तो विकासोन्मुख देश, मानव ओसारपसार, बेचबिखन र तस्करी भएकै छ । विकसित देशहरूमा प्रवेशाज्ञा पाउन सहज छैन र पनि ठूलो संख्यामा बालिका र महिला अवैध तवरबाट बिदेसिएका छन् । 

मानव तस्करी र ओसारपसार बढी मनोरञ्जन र यौन व्यवसायका लागि नै भएको छ । समुद्रबाट जोडिएका देशहरूमा पानीजहाजबाट, कतै मोटरबाटो हुँदै, कतै आकाशमार्ग हुँदै आएका छन् । यसको प्रमुख कारण अन्यायपूर्ण विकास नै हो, जसले सबैलाई खाने, लाउने र पढ्ने सुविधा दिन सकेको छैन । अर्को, नारीलाई भोग्याका रूपमा हेरिने चलनको परिणाम पनि हो । 

विभिन्न देशमा बेचिएका बालबालिका, महिला र पुरुष विभिन्न किसिमले प्रयोग भएका छन् । दक्षिण र पूर्वी एसियामा पुर्‍याइएका यौन व्यवसायमा संलग्न छन् भने विकसित देशमा लगिएका चाहिँ कारखाना, कृषि, घरेलु कामदार र यौन व्यवसायमा छन् । आप्रवासन नियम कडा भए पनि मानव तस्करी र बेचिने क्रम रोकिएको छैन । अमेरिकामा तस्करी गरेर पुर्‍याइएकाहरूमध्ये अधिकांश कृषि, घरेलु कामदार र लुगा उत्पादन उद्योगमा संलग्न छन् । त्योभन्दा कमलाई चाहिँ यौन व्यवसायमा संलग्न गराइएको केही वर्षअघि अमेरिकी गुप्तचर विभागले जनाएको थियो । यसैले महिलाहरूको श्रम विषयमा पनि बढी ध्यान पुर्‍याउन जरुरी छ । 

महिला तस्करी र बेचबिखन महिलाहरूमा हुने विभिन्न रूपका हिंसामध्ये सबैभन्दा खतरनाक हो । विभिन्न अनुसन्धानकर्ताका अनुसार बर्सेनि नेपाली केटीहरू ठूलो संख्यामा बिक्री हुन्छन् । भारतमा मात्र धेरै बेचिएर पुगेका छन् । उनीहरू सीमापारि सहजै पुर्‍याइएका छन् भने देशभित्र पनि ओसारपसार र बेचबिखनले उत्तिकै बढावा पाएको छ । यद्यपि हाम्रो देशमा यौनधन्दा सञ्चालनबारे कानुनी प्रावधान छैन, तथापि बालिका र युवतीहरूलाई उनका नजिकका नातेदारहरूले वेश्यावृत्तिमा होम्न थालेका छन् । यस अभियोगमा पक्राउ पर्नेहरूबारे समाचार प्रकाशमा आए अनुसार सन् १९८६ मा मात्र केटी बेचबिखन गर्ने तीन सय अपराधीहरू गिरफ्तार भएका थिए । तीमध्ये छजनाबाहेक सबै नेपालीहरू हुनुले उपर्युक्त ठहरलाई पुष्टि गर्छ । हाल पक्राउ परेका दलालहरूमा पनि धेरै नेपाली नै छन् । पछिल्लो समय म्यानमार हुँदै इराक र खाडी मुलुकलगायतमा लैजान खोजिएको नेपालीको उद्धार शीर्षकको समाचार आउन थालेका छन् । भारतको उत्तरपूर्वी राज्य मणिपुर पुर्‍याइएका १७९ नेपालीको नेपाल फर्काउने प्रयास गरिएको थियो । बढी संख्यामा किशोरीहरूलाई बाहिर लगिनुको कारण घरेलु कामदार वा यौन व्यवसायमा संलग्न गराउनु नै हो । 

बहुसंख्यक केटीहरू सुविधापूर्ण जीवन बिताउने प्रलोभनमा परी बेचिन पुगेका छन् भने कतिपय म्यानपावर कम्पनी र दलालहरूद्वारा उनीहरूसँग विवाहको ढोङ रची रोजगारी दिलाउने, लाहुर गएको लोग्ने भेट्टाइदिने, चलचित्रमा अभिनेतृ बनाइदिनेलगायतका झूटा आश्वासनमा पारी कोठीमा पुर्‍याइएका छन् । केही समयअघि मकवानपुरका ४५ वर्षीय धनबहादुरलाई केटी बेचेको अभियोगमा पर्सा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । उनले नक्कली विवाह गरी काम खोजिदिने आश्वासनमा धेरैलाई फसाई भारत पुर्‍याएको खुलेको थियो । उनले दश वर्षको अवधिमा तीन सय चेलीलाई बेचेको पनि खुलेको थियो । सिन्धुपाल्चोकको थकनी बाँसखर्कका तामाङ युवकहरूको त एक समय विवाह हुन पनि समस्या भइसकेको थियो । त्यस गाउँमा भएका जम्मा २७ घरधुरीका २८ जना किशोरी भारतका विभिन्न सहरमा बेचिएका थिए । यो जिल्लाबाट यसरी केटी बेचिनुमा कानुनको फितलोपन र राजनीतिक संरक्षणका कारण प्रशासनबाट कारबाही नहुनु प्रमुख रहेको जिल्लावासीहरू बताउँछन् । ०४९ मा सिन्धुपाल्चोकका चर्चित दलालहरू पक्राउ पर्दा तस्करी र बेचबिखनमा कमी आएको थियो, तर रोकिएको छैन । 

पछिल्लो समय विभिन्न जिल्लामा यौन व्यवसाय बढेको खबर दिनहुँजसो पढ्न पाइन्छ । स्थानीय होटलहरूमा महिला वेट्रेस भर्ना गर्न थालिएर पनि देह व्यापार बढेको छ । काठमाडौंका डान्स रेस्टुराँहरूमा काम गर्न आउने महिलाहरू पनि यही पेसामा संलग्न भएका छन् । डान्स रेस्टुराँका सञ्चालकहरू मध्ये केहीले वेश्यावृत्ति कानुनी रूपले मान्य हुनुपर्छ समेत भन्न थालेका छन् । केही महिलाहरू स्वयंले पनि त्यसलाई समर्थन गरिरहेका छन् । महिलाहरूको शोषण हुने पेसामध्ये यौन व्यवसाय सबैभन्दा यातना भोग्नुपर्ने पेसा हो । वेश्यावृत्ति कानुनी रूपमा मान्य हुँदैमा पनि महिला तस्करी र बेचबिखन बन्द हुँदैन । यौनकर्मीहरूको सुरक्षाका लागि केही कानुनी उपाय लागू गरेमा ती महिलाहरूको शोषण कम भने हुन सक्छ । तर, यसलाई अपराधीकरण गरी यौनकर्मीहरूलाई धरपकड गर्दैमा यो समस्या समाधान हुँदैन । गरिबीका कारण यो पेसा अपनाएकाहरू पनि भेटिन्छन् । सरकारले यसप्रति ध्यान दिनु जरुरी छ । 

 Image