Successfully Copied

नारी मुक्तिको पर्वः तीज

नेपाली समाज क्रमशः रूपान्तरणको अवस्थामा छ । समाज रूपान्तरणका कारण कतिपय हाम्रा चालचलन, संस्कार पनि रूपान्तरित हुँदैछन् । रूपान्तरणसँगै यसको महत्व र प्रभावकारितामा पनि वृद्धि भएको छ ।

नेपाली समाज क्रमशः रूपान्तरणको अवस्थामा छ । समाज रूपान्तरणका कारण कतिपय हाम्रा चालचलन, संस्कार पनि रूपान्तरित हुँदैछन् । रूपान्तरणसँगै यसको महत्व र प्रभावकारितामा पनि वृद्धि भएको छ । तीज नेपाली हिन्दू नारीले मनाउने महान् पर्व हो । यसका आफ्नै मूल्य, मान्यता र महत्व छन् । तर तीजमा पनि पहिलेको जस्तो मौलिकता हिजोआज पाइन्न । तीजको व्यापक महत्व भएकाले धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणले समेत तीजलाई विशिष्ट पर्व भनिन्छ । पौराणिक कथनअनुसार हिमालयपुत्री पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी यही व्रत लिएकी थिइन् । कालान्तरमा त्यसलाई विवाहित र अविवाहित दुवै नारीले अनुशरण गरी मनाउन थाले र यसको महत्व अझ बढ्न पुग्यो । विवाहिताले आफू र आफ्नो श्रीमान्को आयु आरोग्य, सुख, सौभाग्य तथा अविवाहितले सु–स्वास्थ्य, सफलता  र असल स्वामी प्राप्त गर्ने कामनाले यो व्रत बसेको पाइन्छ । तर पछिल्लो समयमा महिलाहरूले स्वयं आफ्नो सुस्वास्थ्य, सफलता र समृद्धिका लागि पनि यही व्रत लिएको भनाइ पनि छ ।  

तीजलाई  आत्मीयता र सौहार्दको हार्दिक पर्व मानिन्छ । यसलाई  सम्पूर्ण नारीले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गर्नुपर्ने देखिन्छ । आफ्नो जन्मघर छाडेर टाढाटाढा पुगेका चेलीहरू तीजमा जम्मा भएर आफ्नो संगीप्रति गरिने व्यवहार पक्कै पनि आत्मीयताको जीवन्त नमूना हो । महिला शोषणलाई निरुत्साहित गर्दै यो पर्व सासू, नन्द, जेठानी, देउरानी र श्रीमान्को पीडा र यातनाले पीडित हुन पुगेका नारीहरूका लागि घाउ होइन मलम बन्नुपर्छ तब मात्र तीज मनाउनुको सान्दर्भिकता झल्कन्छ ।

यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ ।  तीजलाई खासगरी चेलीहरूको महान् पर्वका रूपमा लिइन्छ । सप्तऋषिहरूको पूजा, अर्चना, उपवास, दान, जप, तप, मनोरञ्जन आदि गरी मनाइने यो पर्व परापूर्वकालदेखि चलिआएको हो । तीज खासगरी तीन दिन मनाइन्छ । तीजको पहिलो दिनलाई दर खाने भनिन्छ । यो रात सबै चेली जम्मा भएर विभिन्न परिकार बनाई खाने चलन छ ।  यसरी रातिमा खाइने परिकारलाई नै दर खाने भनिन्छ । दरमा खीर, सेल, रोटी, हलुवा, पुरी, फलफूल, विभिन्न मिठाईं, मसला आदि पर्दछन् । भोलिपल्ट निराहार बस्नुपर्ने परम्परा भएकाले यो रात ढिलोसम्म दर खाने काम हुन्छ । हरितालिका अर्थात् तीजको दोस्रो दिनलाई निराहार व्रत बसेर चेलीहरूले विशेष श्रद्धाका रूपमा मनाउँछन् । यस दिन चेलीहरू नाचगान गरी महादेव र पार्वतीको पूजा गर्छन् । रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भई तीजका गीत गाउँछन्, नाच्छन्, रमाइलो गर्छन् । यो दिन निराहार बसेर आफ्नो व्रतलाई उनीहरू झनै महत्व दिन्छन् ।

तीजको पर्सिपल्टको दिनलाई ऋषिपञ्चमी भनिन्छ । यस दिन खासगरी रजस्वला भइसकेका नारीहरू आफ्नो पाप नष्ट होस् भनेर बिहानै नदी, तलाउ वा घरमै स्नान गर्छन् । ३६५ वटा दतिवन  टोकी माटो, सुन, कुश, पञ्चगव्यसहित विधिपूर्वक स्नान गरी सप्तऋषि अर्थात् अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, वशिष्ठ र जमदग्निको पूजा गर्दछन्  । पूजाआजा सकेर उनीहरू एकछाक चोखो परिकार खान्छन् ।

तीजलाई महिला सशक्तीकरणको महान् पर्वका रूपमा पनि लिन सकिन्छ । तीजले नेपाली समाजमा नारीप्रति विद्यमान शोषण, दमनलाई हटाउने काम पनि गरेको छ । विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि नारी चेतना र जागरणका लहर तीजका गीतमा प्रस्पूmटन हुन पुगेका छन्  । नारीले भोगेका पीडा, यातना गीतका रूपमा व्यक्त गरी समाजमा नारी मुक्तिका लागि अग्रसर बनाउने र नारीलाई अग्रसर गराई आम परिवर्तनको चाहना राख्नेहरूले तीज र यसको महत्वलाई झनै प्राथमिकता दिनु आवश्यक छ । नारी मुक्तिका रूपमा तीजले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो समाजमा नारीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्नु आवश्यक छ । नारीलाई आधा आकाश भन्नेहरू नै नारी अधिकारका पक्षमा नदेखिनु अर्को विडम्वना हो । त्यसैले नारी मुक्तिको आवाज घन्काउँदै पुनः चेलीहरू एक भएर आफ्ना हक, अधिकारका पक्षमा अगाडि बढ्नु तीज पर्वको सान्दर्भिकता हो भन्न सकिन्छ ।

[email protected]

 

 

 Image