Successfully Copied

टिकटकमा जमेको जोडी

छिल्लो समय टिकटकमा एउटा जोडी निकै हिट छ । आफ्नो निजी कामलाई निरन्तरता दिँदै त्यो जोडीले दिनहुँ दर्शकमाझ विभिन्न सूचना र ज्ञान बाँड्नुका साथै मनोरञ्जन पस्किरहेको छ ।

पछिल्लो समय टिकटकमा एउटा जोडी निकै हिट छ । आफ्नो निजी कामलाई निरन्तरता दिँदै त्यो जोडीले दिनहुँ दर्शकमाझ विभिन्न सूचना र ज्ञान बाँड्नुका साथै मनोरञ्जन पस्किरहेको छ । यो जोडी हो, अमेरिकाको बसाइ छाडी नेपाल फर्किएका डा. सन्तोष सापकोटा र नर्स अमिता श्रेष्ठको । 

‘मैले उनलाई महेन्द्रपुलमा हिँड्दै गरेको देखेको थिएँ । राम्री भएकीले सम्झना रहिरह्यो । पछि अस्पतालमै भेटिइन्’ सन्तोषले भने । ‘सन् २००३ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इन्टर्नसीप गर्दा नजिकबाट चिनजान हुने अवसर जुर्‍यो । उनको वार्डमा मेरो रोटेसन हुन्थ्यो । हामी दुवै गफगाफ र ठट्टा गर्न रुचाउने भएकाले कुरा मिल्थ्यो, त्यसैले नजिकियौं’ उनले भने ।

मादी गाउँपालिका तारकाङका शिक्षक वृहस्पति तथा विष्णुकुमारी सापकोटाका तीन सन्तानमध्ये माइला सन्तोष बाल्यकालदेखि नै रमाइलो गर्नुपर्ने  स्वभावका हुन् । आफ्नो घरमा टिभी नहुँदा छिमेकीको घरमा भएको टिभीमा विभिन्न फिल्म, रामायण, महाभारत हेर्दै हुर्किएका उनले मणिपाल युनिभर्सिटी पोखराबाट एमबीबीएस र ओहियो युनिभर्सिटी अमेरिकाबाट स्वास्थ्य प्रशासनमा स्नातकोत्तर गरेका छन् । 

उता महेन्द्रपुल पोखराका भक्तराज र विजया श्रेष्ठकी जेठी छोरी अमिताले रमाइलो र ठट्यौली कुरा गर्ने सन्तोषलाई कार्यथलोमै भेटिन् । ‘उहाँको फ्रेन्डली स्वभाव, गज्जबको सेन्स अफ ह्युमर, नलजाई जे कुरा पनि गरिहाल्ने बानीले मलाई आकर्षित गर्‍यो’ उनले भनिन्, ‘पहिलो भेटमै दुवैजना फर्ल्टिङ गर्दै कुरा गरेको याद आउँछ । त्यो दिन फेरि फर्किएर आइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ एमबीबीएसपछि प्राक्टिसमा रहेका सन्तोष र नर्सिङमा रमाइरहेकी अमिताको अस्पतालमा भेटघाट बाक्लिँदै जान थाल्यो । दुवै प्रेमको लयमा बग्दै गए । सन्तोषलाई उच्च शिक्षाका लागि अमेरिका जानुपर्ने भयो । उनले भने, ‘हामी अलि सिरियस नभएको भए हाम्रो विवाह हुन्छ/हुन्न भन्ने दुवैलाई खासै मतलब थिएन । म पहिले अमेरिका जानुपर्ने भयो । ५ महिनापछि अमिता आइन्, बुवा–आमाले हेराएको दिनमा उतै विवाह गर्‍यौं । त्यतिबेला धेरै सोच्नै परेन ।’

विवाहपछि यो जोडीले विदेशी भूमिमा थुप्रै त्यस्ता सजिला–अप्ठ्यारा समय पार गरेको छ । उनीहरूले प्रेम र विवाहबारे एकै स्वरमा भने, ‘विवाह एउटा समाजले बनाइदिएको नियम/सम्बन्ध हो । अहिले आएर यो एउटा कानुनको परिभाषा पनि बनेको छ । धेरैले विवाह गरे, हामीले पनि गर्‍यौं । तर विवाह हुँदैमा प्रेम हुने र नहुँदैमा नहुने भन्ने होइन जस्तो लाग्छ । प्रेम र विवाहमा केही समानता नै छैन । यी दुई नितान्त फरक कुरा हुन् भन्ने लाग्छ । तर, विवाहले प्रेम व्यक्त गर्न अरु बाटाहरू खोलिदिँदोरहेछ ।’ 

विवाहपछि दुवैको जीवन बदलिएको छ । विवाह नभएको भए आफू अलि छिटो नेपाल फर्कने सन्तोष बताउँछन् । तर यसलाई उनी अनुमान मात्र ठान्छन् । विवाहपछि आफ्नो जीवनको लक्ष्य पूरा गर्न एक असल साथी पाएको उनको तर्क छ । सुख–दुःखमा सँगै दिन बिताउने सहयात्री पाएकोमा सन्तोष आफूलाई भाग्यमानी ठान्छन् । अमिताले भनिन्, ‘विदेशमा भएकाले, विवाहपछि पनि हामी दुईजना मात्र थियौं त्यसैले जिम्मेवारी खासै थपिएन । जिम्मेवारी थपिनुभन्दा बाँडिएजस्तो पो लाग्यो मलाई त ।’ विवाह भनेको एक–अर्कालाई बुझ्दै र सुख–दुःखमा साथ दिँदै सँगै जीवन बिताउने वाचा हो भन्ने बुझेकी अमिता छोराछोरी जन्मिएपछि जिम्मेवारी थपिएको तर दुवै मिलेर छोराछोरी हुर्काउँदै करियर पनि अगाडि बढाइरहेको बताइन् । १२ वर्षीया छोरी इभा र १० वर्षका छोरा अभिभको आगमनले उनीहरूको जीवनमा खुसी र उमङ्ग भरिदिएको छ । उनले भनिन्, ‘मेरो अनुभवमा यो सम्बन्ध जोगाउन गाह्रै हुने रहेछ । हाम्रो विवाह भएको १६ वर्ष भयो, छोराछोरी ठूला भइसके र पनि धेरै कुरा सिक्दैछौं । जे–जस्तो भएपनि हामी हाम्रो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर समय दिने र एकापसमा संवाद गर्ने प्रयासमा हरबखत रहन्छौं ।’ परिवारलाई पर्याप्त समय दिन नसक्दा र दैनिक दिनचर्याका कुरामा धेरैजसो सन्तोषलाई एउटै कुरा सम्झाइरहनुपर्ने हुन्छ । यही कुरामा कहिलेकाहीँ उनीहरूबीच ठाकठुक पनि पर्छ तर यो तुष लामो समयसम्म रहिरहँदैन । 

दाम्पत्य जीवनलाई बलियो कसरी बनाउन सकिएला भन्ने प्रश्नको जवाफमा सन्तोषले भने, ‘यो सहयात्राको अनुभवमा, हामी कहिल्यै एक–अर्कामा निर्भर भएनौं । दुवै सधैं आत्मनिर्भर भइरह्यौं । हाम्रो सम्बन्ध छुट्टिने डरमा भन्दा पनि एक–अर्काप्रति इज्जत र मायामा बढी निर्भर भयो । सम्बन्धमा एउटा ठूलो अर्को सानो कहिल्यै सोचिएन । कामको जिम्मेवारीदेखि आर्थिकलगायत अन्य जीवन अगाडि बढाउने कुरामा धेरैजसो समानता नै रह्यो । शायद यही कारणले होला अहिलेसम्म पनि हामीबीच उही प्रेम र विश्वास अडिग र अटल छ ।×’ अमिताका अनुसार उनलाई सन्तोषको कहिल्यै नरिसाउने सकारात्मक स्वभाव र मिलनसार बानीले बाँधेर राखेको छ । आगामी दिनमा श्रीमान्लाई आफ्नो लक्ष्यसम्म पुगेको हेर्ने चाहना अमिताको छ । ‘उहाँले अहिले जे गरिरहनुभएको छ यसरी नै सधै अगाडि बढिरहनुहोस् भन्न चाहन्छु’ उनले भनिन्, ‘उहाँ मेरा लागि हाम्रो परिवार बाँधेर राख्ने गम हो । उहाँ मेरो प्रेरणा र मेरो खुसी अनि मेरो मुस्कानको कारण हो ।’ 

अमिताको नजरमा सन्तोष

बलियोपक्ष : शान्त । 

आकर्षक पक्ष : आउट गोइङ नेचर ।

कमजोरी : नराम्रोलाई नराम्रो भन्न नसक्ने ।

सुधार्नुपर्ने : सबै कुरामा हुन्छ नभन्दा राम्रो ।

सुझाव : समय व्यवस्थापन गर्न सिक्नुपर्छ । 

सन्तोषको नजरमा अमिता 

बलियोपक्ष : दृढ र साहसी ।

आकर्षक पक्ष : सधै सत्य बोल्ने, कुरा नलुकाउने ।

कस्ती श्रीमती ? : कर्मठ

मनपर्ने र नपर्ने बानी : प्रायः मनपर्छ तर कहिलेकाहीँ आफ्नो वशमा नभएको कुरामा पनि चिन्ता गर्ने ।

सुझाव : सधै यस्तै रहिरहनु । 

 Image