हिमाली जनजीवन
भाद्र ९, २०७९ विश्वकै अग्लो शिखर सगरमाथा । सगरमाथा आरोहणको प्रवेशद्वार नै सोलुखुम्बुको लुक्ला हो । बेस क्याम्प र आसपास जाने यात्रु त्यहाँ पुग्नैपर्छ । यति मात्रै होइन, लुक्लामाथि रहेको नाम्चे बजार पुग्ने पर्यटकको प्रवेशद्वार पनि लुक्ला हो ।
समुद्र सतहबाट जतिजति माथि पुगिन्छ, उति आनन्द र रोमाञ्चक अनुभूति हुन्छ । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल, जीवनशैली, रहनसहन र संस्कृति देखेर जो कोही पनि आल्हादित हुन्छन् । हिमाली जनजीवनबाट धेरै स्वदेशी तथा विदेशी पर्यटक लोभिन्छन् । त्यहाँको खानपान, कला एवं संस्कृति देखेर उत्तिकै खुसी हुन्छन् ।
लुक्लाबाट माथि छिचोलिँदा मनै चंगा हुन्छ । समुद्री सतहभन्दा २ हजार ८ सय ६० मिटर माथिको लुक्ला हुँदै ३ हजार ४ सय ४० मिटर माथि रहेको नाम्चे पुग्दा मनै फुरुङ्ग हुन्छ । जब ४ हजार ५ सय मिटरमाथि छिचोलिन्छन्, त्यहाँबाटै देखिने र अनुभूति गर्न पाइने आश्चर्यजनक आनन्दले पर्यटकमा खुसीको सीमा हुँदैन । ३ सय ६० डिग्रीमा हिमालै हिमालले घेरिएको देख्दा आफूलाई स्वर्गमा पुगेको भान हुन्छ । नाम्चे नजिकैको खुन्दे खुम्जुङ गाउँको एउटा डाँडाबाट ३ हजार ८ सयदेखि ८ हजार ८ सय ४८ मिटर अग्ला १५ हिमाल देख्न सकिन्छ । एउटै डाँडामा उभिएर यतिधेरै प्राकृतिक सम्पदा र विविधताको अवलोकन गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् ।हवाईजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, त्याङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुगेर रमाउँछन् ।
धेरै मानिस काठमाडौंबाट हवाईजहाजमा लुक्ला पुगेर पैदल यात्रा थाल्छन् । सडक यातायातले सोलुखुम्बुको फाप्लुदेखि थोरै अघिसम्म छोएको छ । फाप्लुबाट हिँड्ने मान्छेलाई लुक्ला पुग्न एकदिन लाग्छ । त्यहाँबाट नाम्चे पुग्न अर्को एकदिन लाग्छ । नाम्चेबाट सगरमाथा बेस क्याम्प पुग्न पनि २–३ दिन लाग्छ । संसारकै पर्यटकको आकर्षण बोकेको ठाउँमा भने खाद्यान्न, लत्ताकपडा, उपभोग्य सामग्री, औषधि, घरायसी सामान र निर्माण सामग्रीसम्म ओसार्न धेरै गाह्रो छ । उच्च पहाडी र हिमाली क्षेत्रका यातायातका प्रमुख साधन भनेकै भरिया, चौंरी गाई, याक, गुम्चा र खच्चड हुन् ।
तस्बिर : मनोज पौडेल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्