Successfully Copied

बगैंचाका उपकरण

बगैंचामा विभिन्न किसिमका उपकरणहरूको आवश्यकता पर्छ । बगैंचामा माटो तयार गर्नेदेखि बिरुवा रोप्ने, बिरुवाको ‘ट्रिमिङ’ गर्नेसम्म सबै कामका लागि विभिन्न प्रकारका उपकरण चाहिन्छन् ।

बगैंचामा विभिन्न किसिमका उपकरणहरूको आवश्यकता पर्छ । बगैंचामा माटो तयार गर्नेदेखि बिरुवा रोप्ने, बिरुवाको ‘ट्रिमिङ’ गर्नेसम्म सबै कामका लागि विभिन्न प्रकारका उपकरण चाहिन्छन् । यस्ता उपकरणहरू हाते तथा विद्युतीय गरी दुई प्रकारका हुन्छन् । बिजुली वा ब्याट्रीबाट चल्ने उपकरणको तुलनामा हाते उपकरण धेरै टिकाउ हुन्छन् । 

पञ्जा
बगैंचामा काम गर्दा पञ्जा छुटाउनु हुँदैन । हातमा माटो लाग्नबाट मात्र नभई सुरक्षाको हिसाबले पनि पञ्जा महत्वपूर्ण हुन्छ । काँडाहरूले घोच्ने वा हात कोतार्नेबाट बच्न सकिन्छ र यसले धेरै प्रकारको संक्रमणबाट बचाउन सहयोग गर्छ । बगैंचामा काम गर्दा पातलो, हल्का र टिकाउ पञ्जा प्रयोग गर्नुपर्छ । पञ्जा आफ्नो हातको साइजअनुसारको हुनुपर्छ ।



ह्यान्ड ट्रवेल
यसको काम माटो खन्ने हो । यो बगैंचाका लागि नभई नहुने सामग्री हो । गमलामा माटो भर्न र माटो खुकुलो बनाउन यसको उपयोग गरिन्छ । यो धेरै ठूलो हुँदैन । तर अघिल्लो भाग भने विभिन्न साइज र चौडाइमा उपलब्ध हुन्छ । धातुबाट बनेको यसको पछाडिको भागमा प्लास्टिक वा काठको ह्यान्डिल हुन्छ । स्टेनलेस स्टिलबाट बनेको ट्रवेल लामो समयसम्म टिक्छ । ट्रवेल खरिद गर्दा टिकाउ र बलियो भए–नभएको ध्यान दिनुपर्छ । 

रेत
यसलाई काँटा वा स्पेडिङ काँटा भनिन्छ । यसले बगैंचामा काम गर्न सजिलो हुन्छ । यसको सहायताले माटोलाई समतल बनाउन एकदमै सजिलो हुन्छ । यसको प्रयोग माटो खन्न, तान्न, मिलाउन, खुकुलो बनाउन गरिन्छ । यसले सुकेका पातपतिंगर हटाउन सजिलो हुन्छ । साथै ड्याङ बनाउन पनि उपयोगी हुन्छ । यो स्टिल, प्लास्टिक, बाँस वा काठको पाइन्छ । 

कुटो
यो पनि माटो खन्नका लागि प्रयोग गरिन्छ । यो हल्का हुने भएकाले यसको प्रयोग गर्न निकै सजिलो हुन्छ । यसलाई माटो खुकुलो पार्न, बिरुवा रोप्न, खाल्डो बनाउनका लागि प्रयोग गर्न सकिन्छ । 

कोदालो
नयाँ बगैंचा बनाउन वा पुरानो बारी खन्नका लागि यो उपयोगी हुन्छ । यसले बारी खन्न सजिलो हुन्छ । यसको सहायताले माटोलाई सही आकार दिन र झारपात हटाउन पनि सकिन्छ । 



सुइरो
सुइरोले बगैंचा वा गमलामा आएका अनावश्यक झारपात निकाल्न सजिलो हुन्छ । साथै माटो खुकुलो पार्न र झारको जरा निकाल्न पनि सकिन्छ । यो प्रयोग गर्न एकदमै सजिलो हुन्छ । यसको सहयोगले गमलामा रोपेका बिरुवाको जरालाई नोक्सान नपुर्‍याई झारपात निकाल्न सकिन्छ । 

वाटरिङ केन
बोटबिरुवालाई ठूलो धाराबाट पानी दिँदा जरालाई क्षति पुर्‍याउन सक्छ र बिरुवा कुहिन पनि सक्छ । यो वाटरिङ केनले सबैतिर पानी समान रूपले निकाल्छ । त्यसैले बोटबिरुवाका लागि यो एकदमै उपयोगी हुन्छ । 



स्प्रे पम्प
यसको प्रयोग बोटबिरुवामा भिटामिन वा किटनाषक औषधि छर्कन प्रयोग गरिन्छ । त्यसका साथै इन्डोर प्लान्टका पातहरूको सरसफाइ गर्न पनि सकिन्छ । कुनै–कुनै बिरुवालाई पानीको धेरै आवश्यकता पर्दैन । त्यस्तो बिरुवालाई माटो ओसिलो मात्र बनाउन स्प्रे पम्पको सहायताले पानी दिन सकिन्छ ।


 
प्रुनर्स
यसको उपयोग बोटबिरुवा छाँटकाँट गर्नका लागि गरिन्छ । यसलाई सकेटर्सको नामबाट पनि चिनिन्छ । बजारमा धेरै प्रकारका प्रुनर्स उपलब्ध छन् । बहुउपयोगी प्रुनर्सले बिरुवाको हाँगा काट्नेदेखि लिएर ट्रिमिङ गर्ने काम गर्छ । 

कैंची वा सिकेटर
बिरुवालाई ट्रिमिङ गर्न वा एकसमान बनाउन यसको प्रयोग गरिन्छ । यो विभिन्न साइज वा आकारमा पाइन्छ । आफ्नो इच्छानुसार यसको खरिद गर्न सकिन्छ । 



डिब्बर
चुच्चो र तिखो आकारको यो उपकरण जमिनमा खाल्डो (डोब) बनाउनका लागि प्रयोग गरिन्छ । डिब्बर बिरुवा वा बीउ छर्नका लागि उपयोगी मानिन्छ । यो सिधा वा टी आकारमा पाइन्छ । 

खरिद गर्दा
- स्टेनलेस स्टिल वा जाली स्टिल धेरै समय टिक्छ । 
- हल्का र प्रयोग गर्न सजिलो कार्बन फाइबर, प्लास्टिक र एल्मुनियमको उपकरण हुन्छ ।
- समात्न सजिलो हुने उपकरणको छनोट गर्ने ।
- वारेन्टी भएको उपकरण खरिद गर्ने ।

उपकरणको हेरचाह
- प्रत्येक पटक प्रयोग गरेपछि सफा गरेर सुख्खा बनाएर राख्ने ।
- खुकुलो नट वा स्क्रुको नियमित जाँच गर्ने, आवश्यक भएको खण्डमा कस्ने ।
- काठको ह्यान्डिल भाँचिन वा मक्किनबाट बचाउन तेलको प्रयोग गर्ने ।
- बालबालिकाको पहुँचबाट टाढै राख्ने ।

मूल्य
- पञ्जा–८० देखि १ सय ५० रुपैयाँसम्म 
- ह्यान्ड ट्रवेल–२ सयदेखि ३ सय रुपैयाँसम्म 
- रेत–१ सय ५० देखि ३ सय रुपैयाँसम्म
- सुइरो–२ सय रुपैयाँसम्म
- कुटो–१ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म
- वाटरिङ केन–३ सय ९० (५लि.), ४९५ (१० लि.)
- स्प्रे पम्प–२ सय ९० (२ लि.)
- प्रुनर्स– ९ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म
- कैँची/सिकेटर– ३ सयदेखि ४ हजार ८ सय रुपैयाँसम्म
- कोदालो–६ सय ५० देखि ८ सय ५० रुपैयाँसम्म
-डिब्बर–१२ सय ५० देखि २ हजार ५ सय रुपैयाँसम्म
 

‘गुणस्तरीय र टिकाउ छनोट गर्नुपर्छ’

केही समय पहिले यस्ता उपकरण कृषि खेतीका लागि मात्र खरिद गरिन्थ्यो । पछिल्लो समय बोटबिरुवाप्रति व्यक्तिको रुचि धेरै देख्न सकिन्छ । त्यसैले यस्ता हाते उपकरणहरू खोज्न धेरै ग्राहक आउने गरेका छन् । यस्ता उपकरण हल्का भएकाले चलाउन सजिलो हुन्छ र धेरै खर्चिला पनि हुँदैनन् । यी उपकरणहरू खरिद गर्दा गुणस्तरीय र टिकाउ छन् कि छैनन् भन्ने कुराको ज्ञान हुनुपर्छ । 

- अमर श्रेष्ठ 
आकृति स्केल एण्ड टुल्स ट्रेडिङ,लगनखेल

 Image