Successfully Copied

चाडपर्वमा सरसफाइ

हाम्रा चाडपर्वहरूले हामीमा खुसी र उमङ्गको संचार गर्छन् । यो अवसरमा हामीमध्ये धेरैले सरसफाइ र नयाँ सरसमान खरिद गर्ने सोचाइमा हुन्छौं । कसैले घरमा रहेका पुराना सामान फेर्ने सोच बनाएको पाइन्छ । अझ घरको सजावटमा त ध्यान दिनैपर्‍यो । 

हाम्रा चाडपर्वहरूले हामीमा खुसी र उमङ्गको संचार गर्छन् । यो अवसरमा हामीमध्ये धेरैले सरसफाइ र नयाँ सरसमान खरिद गर्ने सोचाइमा हुन्छौं । कसैले घरमा रहेका पुराना सामान फेर्ने सोच बनाएको पाइन्छ । अझ घरको सजावटमा त ध्यान दिनैपर्‍यो । 
चाडपर्वमा घरको सरसफाइ, सजावट र लिपपोत गर्नुपर्छ । चाडपर्वमा गरिने सरसफाइलाई ‘विशेष सफाइ’ (डिप क्लिनिङ) भनिन्छ। यो ‘विशेष सफाइ’ भएकाले यसलाई व्यवस्थित र योजनाबद्ध शैलीमा गर्न सक्नुपर्छ । कसैले आफ्नो पूरै घर एकैदिनमा सफा गर्छु भन्ने सोच राख्नु गलत हो । सफाइको सुरुवात सकेसम्म मुख्य कोठा अथवा स्पेसबाट गर्नुपर्छ । सफा गर्दा नचाहिने र प्रयोगमा नआउने सामानलाई हटाउँदै जानुपर्छ । यसले कोठा खाली र व्यवस्थित हुन्छ। यसले घरमा ऊर्जाको बहावमा पनि सजिलोपन ल्याउँछ । 
घरको सरसफाइ गर्दा सकेसम्म बजारमा पाइने रसायनमिश्रित ‘क्लिनिङ डिटर्जेन्ट’ को साटो घरमा भएकै ‘ह्वाइट भिनेगर’ प्रयोग गर्नुपर्छ । यसले घरको सिसा सफा गर्न मद्दत पुग्छ । एक–एक भाग भिनेगर र पानीको मिश्रण बनाई एउटा ‘स्प्रे बोतल’ राखी प्रयोग गर्न सकिन्छ । यो मिश्रणबाट घरको सिसा 
पुछ्दा सफा देखिन्छ । घरको सिसामा यो मिश्रण छर्केर ३० सेकेन्डपछि पुछ्दा सिसा टलक्क टल्किन्छ । यसरी सफा गर्दा नरम कपडा (माइक्रो फाइबर) को प्रयोग गरे सरसफाइ गर्न सजिलो हुन्छ । 
घरको वासिङ बेसिन, सिंक, धारा र सम्पूर्ण स्यानिटरी वेयर सफा गर्न र चम्काउन बेकिङ सोडा प्रयोग गर्नुपर्छ । जमेको फोहोरमाथि बेकिङ सोडा छर्की एकछिनपछि स्पोन्जले उक्त सामग्रीहरू सफा गर्दा चम्किलो बन्छ । पानी बग्ने ड्रेनमा पनि बेकिङ सोडा राखीतातोपानी माथिबाट हाल्दा ड्रेन जाम हुँदैन । चिया, कफीको दाग, गडेको भाँडा, कप, मग आदिलाई पनि बेकिङ सोडा प्रयोग गरी सफा गर्न सकिन्छ । 


यसैगरी ‘रुम डेकोरेसन’ मा पर्दाहरूले पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । प्रमुख कोठाको कर्टेन (पर्दाहरू) च्यातिए वा फोहोर भएमा सकेसम्म फेर्नुपर्छ, नभए राम्ररी सफा गरेर प्रयोग गर्न सकिन्छ । यसले पनि कोठाको लुकमा परिवर्तन ल्याउँछ । पर्दा, सोफा र कभर फेर्ने हो भने आफ्नो बजेटअनुसार खरिद गर्नुपर्छ । अझ कोठा/स्पेसमा प्रयोग भएका अन्य फर्निचर र भित्ताको रंगसँग समायोजन गरेर मात्रै पर्दा, सोफा आदि परिवर्तन गर्न सकिन्छ । यसका लागि धेरै बजेट छुट्याउनुपर्ने हुन सक्छ । त्यसैले घरमा आर्थिक भार नपर्ने गरी यसबारे निर्णय लिनुपर्छ । यसैगरी, कोठामा ठाउँ खाली भए कहिलेकाहीँ फर्निचरको पोजिसन पनि चेन्ज गर्नु आवश्यक हुन्छ । यसो गर्दा कोठाको रूपमा परिवर्तन आउनुका साथै फर्निचरमुनि जमेको धूलो पनि हठेर जान्छ । 


धेरै समय बिताउने बेडरुमको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । बेडरुमका पर्दा, बेडकभर, पिल्लो केस राम्ररी सफा गरेर प्रयोग गर्नुपर्छ । म्याट्रेस धेरै फोहोर भई गन्हाउने भए पहिले ‘भिनेगर स्प्रे’ गर्ने र त्यसपछि ‘सोडा स्प्रे’ गरी केही समय छाड्नुपर्छ । त्यसपछि नरम ब्रस अथवा भ्याकुम क्लिनरले सफा गर्दा म्याट्रेसमा रहेको धूलो सफा हुनुका साथै गन्धरहित हुन्छ । 
घरभित्र र घरबाहिरको गार्डेन, आँगन पनि सफागर्नुपर्छ । सुकेका बोट–बिरुवाहरूलाई काटेर सफा गर्दा घरको लुक र वातावरण राम्रो बन्छ । पछिल्लो समय व्यस्त दैनिकीमा छोटो समयमा कसरी घरलाई सफा, सुन्दर र स्वागतयोग्य बनाउने भन्ने सोचाइ धेरैको हुन्छ । तर, सरसफाइकै नाममा आफ्नो स्वास्थ्यप्रति पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ । स्वास्थ्य र शरीरमा एकैपटक धेरै लोड पर्ने गरी घरको सरसफाइ गर्नु अनुपयुक्त हुन्छ । त्यसैले चाडपर्व आउनुअघिबाटै आफ्नो समय मिलाएर बिस्तारै घरको सरसफाइ गर्दै जानुपर्छ । घरको सफाइ गर्दा धूलोबाट बच्न मास्क प्रयोग गर्नुपर्छ । यसैगरी सफाइमा प्रयोग गरिने रसायनबाट हातलाई जोगाउन पन्जा प्रयोग गर्नुपर्छ । सरसफाइ र सामानहरूको उचित व्यवस्थापनले पनि घरभित्र सकारात्मक ऊर्जा संचार हुने भएकाले यसप्रति ध्यान दिनुपर्छ । घर सफा, मन सफा र प्रफुल्लित राखी चाडपर्वलाई हर्ष र उमङ्गका साथ स्वागत गर्ने होइन त ?


(लेखक आर्किटेक्ट हुन् ।)

 Image