Successfully Copied

दसैं सपिङ डेस्टिनेसन

हरेकको घरमा दसैं आइसकेको छ । दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा लिइन्छ । अरुबेलामा भन्दा दसैंमा घरायसी सामानको बढी किनमेल हुन्छ ।

हरेकको घरमा दसैं आइसकेको छ । दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा लिइन्छ । अरुबेलामा भन्दा दसैंमा घरायसी सामानको बढी किनमेल हुन्छ । वर्षभरि टाढा रहेका आफन्तहरू एकै ठाउँमा जम्मा हुने भएकाले पनि दसैंलाई विशेष पर्वका रूपमा लिइन्छ । । दसैंमा भान्सामा प्रयोग हुने सामान, लत्ताकपडादेखि लिएर घरका सामानहरू किनमेल हुन्छ । दसैं मनाउन विभिन्न पेसाकर्मीहरूको गाउँ फर्कने लर्को लाग्छ । उनीहरूले आफन्तजनका लागि उपहारहरू पनि खरिद गर्छन् । त्यसैले पसलहरूमा भीडभाड बढी हुन्छ । दसैंमा अधिकांशले वर्षकै खर्चिलो किनमेल गर्छन् । विभिन्न कम्पनी र व्यापारिक मलहरूले पनि छुट र अफरको घोषणा गर्दै ग्राहक आकर्षित गर्छन् । सपिङ सेन्टरले चलाएको अफरमा नगद छुटसहित सुनचाँदी, मोबाइल, ल्यापटपदेखि मोटरसाइकलसम्म जित्न सक्ने योजनासमेत समावेश गरिन्छ । 

असन 

दसैं आउनुभन्दा महिनौंअघि नै व्यस्त हुन्छ–असन बजार । भोटाहिटी, कमलादी, बांगेमुढा, इन्द्रचोक आदि क्षेत्रमा जान र किनमेल गर्न सकिने भएकाले असनलाई सपिङ सेन्टरका रूपमा लिइन्छ । यहाँ नुनदेखि सुनसम्म पाइन्छ । लुगाफाटो, मरमसला, टीकाका सामान, भाँडाकुडा आदि यहाँ सजिलै किन्न सकिन्छ । लामो समयदेखि नेवार समुदायले सञ्चालन गर्दै आएको यो व्यापारिक केन्द्रमा आफूले खोजेका हरेक सामान सहजै पाउन सकिन्छ । दसैं–तिहारका लागि आवश्यक पर्ने सामान, पूजाका सामानहरू उचित मूल्यमा यहाँ पाउन सकिन्छ । अन्यत्र नपाइने केही सामानहरू पनि असनमा पाइन्छन् । 

न्यूरोड 

काठमाडौंको मुटुका रूपमा न्यूरोडलाई लिइन्छ । यो पूरै व्यापारिक केन्द्र बन्दै गएको छ । होलसेलदेखि रिटेलसम्म पाइने न्यूरोड विशेषगरी लत्ताकपडाका लागि लोकप्रिय छ । प्रतिस्पर्धात्मक बजार भएकाले यहाँ सामानको गुणस्तर र मूल्य छनोट गर्न सकिन्छ । आफ्नो बजेटअनुसार यहाँ किनमेल गर्न सकिन्छ । 

भाटभटेनी 

नेपालमा अन्य मलहरूजस्तै भाटभटेनी पनि किनमेलका लागि एक गन्तव्य हो । काठमाडौंको अनामनगर, कोटेश्वर, थिमी, कलंकी आदि ठाउँमा भाटभटेनी सञ्चालनमा छन् । एउटै छानामुनि धेरै सरसामान पाइने भएकाले किनमेल गर्न यहाँ सहज हुन्छ । बार्गेनिङ गर्न नपर्ने र आफै छनोट गर्न सकिने भएकाले आफ्नो इच्छा र बजेटअनुसार सामान किन्न सकिन्छ । भाटभटेनीमा किनमेल गर्नुको अर्को फाइदा भनेको डिजिटल पेमेन्ट पनि हो । दसैंको अवसरमा भाटभटेनीमा विभिन्न अफरहरू पनि सार्वजनिक हुन्छन् । पछिल्लो समय भाटभटेनीमा पार्किङदेखि सिनेमा हलसम्मको सुविधा छ । 

 

भृकुटीमण्डप 

भृकुटीमण्डपलाई खुल्ला बजारका रूपमा लिइन्छ । साना व्यवसायीहरूले सानो पुँजीबाट यहाँ आ–आफ्नो व्यापार सञ्चालन गर्दै आएका छन् । सस्तो मूल्यमा सामानहरू पाइने भएकाले सबै वर्गका व्यक्ति यहाँ किनमेल गर्न पुग्छन् । चाडपर्वका बेला यो क्षेत्रमा धेरै चहलपहल हुन्छ । यहाँ कस्मेटिक, भाँडाकुँडा, खेलौना, झोलादेखि रेडिमेड कपडालगायत व्यवसाय सञ्चालनमा छन् । २ सय ६५ स्टल रहेको यो ठाउँ मध्यम तथा निम्न वर्गले किनमेल गर्ने ठाउँका रूपमा परिचित छ । 

 

सपिङ मल

पछिल्लो समय सहरमा सपिङ मलहरू खुल्ने ट्रेन्ड बढ्दै गएको छ । काठमाडौंको न्यूरोडमा विशाल बजार खुलेसँगै सुपर मार्केट संस्कृति सुरु भएको हो । लिफ्टसहितको आधुनिक सुपर मार्केट खुलेपछि उपभोक्ताहरूको बाक्लै भीडभाड हुन्छ । मलहरूमा पार्किङदेखि रेस्टुरेन्टसम्मका सुविधाहरू हुन्छन् । ग्राहकहरू पसलहरूमा हिँडिराख्नुभन्दा एउटै ठाउँमा सबै कुरा खोज्छन् । यहाँ बार्गेनिङ गर्नु नपर्ने र सामानहरू आफै छान्न सकिने भएकाले किनमेलमा सहज हुन्छ । काठमाडौंमा किनमेल गर्नका लागि सिभिल मल, सिटिसी मल, राइजिङ मल, वर्ल्ड ट्रेड मल, दरबार मल, आइप्लेक्स मल लगायतमा जान सकिन्छ । यी मलहरूकै कारण बजारमा पसलहरू चहारी बार्गेनिङ गर्दै किनमेल गर्ने परिपाटी अन्त्य हुँदै गएको छ । 

 

दरबारमार्ग 

दरबारमार्गलाई ‘भिआइपी’ क्षेत्रका रूपमा लिइन्छ । ब्रान्डका पारखीहरू किनमेल गर्न दरबारमार्ग पुग्छन् । यहाँ लत्ताकपडा, जुत्ता, चस्मादेखि घडीहरू किन्न सकिन्छ । दसैं आउनासाथ दरबारमार्गमा छुट र अफरको मेला लाग्छ । दरबारमार्गको ब्रान्डेड सेल अफरमा ग्राहकहरूको घुइँचो हुन्छ । एडिडास, रिबक, लिभाइस, नाइक, बेन्टलीलगायतका ‘ब्रान्डेड’ सामानहरू यहाँ खरिद गर्न सकिन्छ । 

अनलाइन सपिङ ट्रेन्ड

पछिल्लो समय अनलाइन सपिङबाट व्यापारिक कारोबार फस्टाउँदै गएको छ । व्यस्त समयका कारण घरबाटै सामान अर्डर गर्न सहज बन्दै गएको छ । नेपालमा थुप्रै अनलाइन प्लेटफर्महरू बिस्तार हुँदै गएका छन् । ती सबैले ग्राहकलाई घरघरै सेवा प्रदान गरिरहेका छन् । इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा, खेलकुदका सामानहरू अनलाइनबाट खरिद गर्न सकिन्छ । नेपालमा दराज, मुन्चा, नेपब्ये, सस्तो डिल, हाम्रो बजारलगायतका अनलाइनहरूले घरबाटै किनमेल सेवा प्रदान गर्छन् । ‘अनलाइन सेकेन्ड ह्यान्ड’ सामानहरू किन्नका लागि ‘हाम्रो बजार डटकम’ ले सेवा बिस्तार गरेको छ । सवारी साधनदेखि इलेक्ट्रोलिक सामानसम्म त्यहाँबाट किन्न सकिन्छ । सामान डेलिभरीका लागि कम्पनीले केही निश्चित सेवा शुल्क लिएर सेवा दिन्छ । 

 

किनमेलमा जाँदा ध्यान दिऔं 

सर्वप्रथम आफूलाई आवश्यक परेका सरसामानको सूची तयार गर्नुपर्छ । सूचीमा खाद्यान्न, लत्ताकपडा, पूजाका सामान, मरमसलालगायतका शीर्षक दिएर सामानको नाम लेख्नुपर्छ । किनमेलमा जानुअघि बजेटिङ गर्नुपर्छ । पछिल्लो समय डिजिटल पेमेन्ट हुने भएकाले पैसा बोकिराख्नु पर्दैन । यस्तो अवस्थामा अनावश्यक सामान पनि खरिद गर्ने सम्भावना रहन्छ । सूची त्यसलाई रोक्न सहयोग गर्छ । सूचीबाहिरका सामानहरू एकपटक सोचेर किन्नुपर्छ । दसैंको अफर र छुट भन्दै विभिन्न कम्पनीहरूले ग्राहकहरूलाई लोभ्याएका हुन्छन् । त्यसका पछाडि लागेर अनावश्यक सामान किन्नु हुँदैन । मोबाइल, टिभी, फ्रिज, ओभन, माइक्रोवेभ आदि इलेक्ट्रिक सामानहरू किन्नुपर्दा कम्पनीको स्थिति, मूल्य, ग्यारेन्टी, वारेन्टी सबै हेर्नुपर्छ । 

 Image