Successfully Copied

चाडपर्वमा खानेकुरा

हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन ।

हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन । खासगरी बढी मात्रामा रातो मासुले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । तर, यसमा प्रयोग हुने जिरा, धनियाँ, खुर्सानी, मरिच, अदुवा, लसुन, प्याज, मेथी, टिम्मुरलगायतका मरमसला भने स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यी मरमसलामा पाइने विभिन्न भिटामिन एवं खनिज तत्वले रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् । खसीको मासु, राँगाको मासु, सलामी, हट डग, ससेज, करनेड आदि रातो मासुअन्तर्गत पर्छन् । यसमा भिटामिन ‘बी १२’, ‘बी ६’, र ‘इम्युन’ प्रणाली बढी हुन्छ । साथै जिन्क, फोलिक एसिड आदि पोषक तत्व पनि यसमा प्रशस्त मात्रामा पाइन्छ । तर, एक दिनमा ९० ग्राम भन्दा बढी रातो मासु खान हुन्छ । 

पछिल्लो समय स्वस्थकर जीवनशैली, रहनसहन, शारीरिक अभ्यासको कमीले रातो मासु बढी सेवन गर्नु उचित होइन । बढी सेवन गर्दा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, मोटोपनजस्ता रोगहरू लाग्न सक्छन् । अमेरिकी क्यान्सर रिसर्च सेन्टरले गरेका अनुसन्धानहरूमा पनि रातो मासु कम प्रयोग गर्न सुझाइएको छ । हाम्रो शरीरको रसायनले रातो मासु डाइजेस्ट गरेमा मुटु रोग, उच्च रक्तचाप, दोस्रो प्रकारको मधुमेह (टाइप–२) र अन्य जटिल रोग पनि लाग्न सक्छन्् । रातो मासु लगातार १२ वर्षभन्दा बढी सेवन गरे मुटुको समस्या, एथ्रोसाइकरोटिक कार्डिओ भास्कुलर रोग हुने तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । 

पर्वमा खानुपर्ने कुरा 

सबै प्रकारका गेडागुडी, दाल, बीउहरू, आलस, तिल, मौसमी फलफूल, हरियो तरकारी, सागपात, सुकेका फलफूल आदि नियमित रूपमा खान सकिन्छ । यी खाद्यवस्तु बेलाबेलामा थोरै–थोरै खाइरहनुपर्छ । एकैपटक धेरै मात्रामा यी खाद्यवस्तु खान हुँदैन । 

रोग नियन्त्रणका उपाय 

दसैं, तिहार वा अन्य चाडपर्वहरूमा आफ्नो स्वास्थ्य, उमेर र रोगको अवस्था हेरी खानेकुरामा ध्यान दिनुपर्छ । मधुमेह, उच्च रक्तचाप भएका वा अन्य बिरामीले नियमित औषधिको सेवनसँगै खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा लामो समय भोकै बस्नु हुँदैन । यसो त हरेक व्यक्तिको अलग–अलग किसिमको पथ्य आहार हुन्छ । उमेर, समुदाय, रुचि, कामको किसिम, रहनसहन तथा शाकाहारी र मांसाहारीअनुसार खाद्यवस्तुको चयन गर्नुपर्छ । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, तथा अन्यले समेत चाडपर्वमा बढी मात्रामा खानेकुरा सेवन गर्नु हुँदैन । 

दसैंमा व्रत बस्नेहरू पनि हुन्छन् । व्रत बस्दा आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । अरुको देखासिकी गर्नु हुँदैन । यसो त व्रतहरूका पनि आफ्नै फाइदाहरू छन् । तर भोकै, पानी पनि नपिई व्रत बस्नु हुँदैन । फलफूल, सुप, झोलिला खानेकुरा र पानी नियमित खानुपर्छ । दसैं बिदाको बेला चिकित्सकको सम्पर्कमा बस्नुपर्ने हुन्छ । खासगरी दीर्घरोगीहरूलाई जुनसुकै बेला स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिकित्सकको परामर्श लिनु अनिवार्य हुन्छ । 

फलफूल, सागपात, मौसमी तरकारी 

हरेक मौसममा फरक–फरक किसिमका फलफूल, सागपात आदि खानुपर्छ । मौसमी फलफूल र तरकारीहरू स्वास्थ्यका लागि राम्रो मानिन्छ । यी मधुमेह, उच्च रक्तचाप वा अन्य स्वस्थ व्यक्तिले पनि खानुपर्छ । जंकफुडहरूबाट सधै टाढा रही दिनहुँ एउटा फलफूल सबैले खानैपर्छ । 

स्वस्थ बानी

हरेक व्यक्तिको आ–आफ्नै रुचि हुन्छ । आफ्नो रुचिअनुसार दिनहुँ खाद्यवस्तुको सूची तयार गरी खाँदा राम्रो हुन्छ । सूचीमा सुत्ने, उठ्ने, खाने, शारीरिक परिश्रम, चिकित्सकसँगको परामर्श आदि सबै कुरा समावेश गर्दा उचित हुन्छ । तनाव हुने खालका क्रियाकलापबाट आफूलाई पृथक् राख्न सक्नुपर्छ । चाडबाडमा यी र यस्ता स्वस्थकर खाना खाँदा हामी निरोगी भएर धेरै समय बाँच्न सक्छौं ।

(शाह कीर्तिपुर बर्न अस्पतालकी पोषणविद हुन्)

 Image