Successfully Copied

जैविक–वातावरणीय विविधताको पर्व दीपावली

दीपावलीलाई तिहार, त्यौहार आदि नामले पनि चिनिन्छ । यो पर्वलाई प्रकृति, जीवजन्तु र मानवबीचको घनिष्ठताको महान् पर्वका रूपमा लिन सकिन्छ । हामीलाई थाहै छ नेपाली संस्कृतिमा विभिन्न जीव तथा वृक्षपूजन परम्पराको लामो इतिहास छ ।

दीपावलीलाई तिहार, त्यौहार आदि नामले पनि चिनिन्छ । यो पर्वलाई प्रकृति, जीवजन्तु र मानवबीचको घनिष्ठताको महान् पर्वका रूपमा लिन सकिन्छ । हामीलाई थाहै छ नेपाली संस्कृतिमा विभिन्न जीव तथा वृक्षपूजन परम्पराको लामो इतिहास छ । जीवपूजनको एउटा महत्वपूर्ण तथा महान् पर्वर्का रूपमा दीपावलीलाई लिन सकिन्छ । 

दीपावलीलाई आयुर्वेद तथा वातावरणीय र जैविक दृष्टिले पनि उत्कृष्ट चाडका रूपमा लिइन्छ । यो पर्व पाँच दिनसम्म मनाइन्छ । पहिलो दिन कागको पूजा गरिन्छ । काग पूजन परम्परालाई वातावरणीय पक्षसँग जोडेर हेर्दा यसले वातावरण सरसफाइ गर्ने काममा सहयोग पुर्‍याएको पाइन्छ । त्यस्तै, कागलाई खबर आदानप्रदान गर्ने पंक्षीका रूपमा पनि लिइन्छ । त्यसैले कागपूजाको दिनकागलाई मीठाखानेकुरा दिएर पूजागर्ने चलनछ । कागपूजाको भोलिपल्ट कुकुर तिहार मनाइन्छ । कुकुरलाई भैरवको वाहनका रूपमा लिइन्छ । यसले हाम्रो घरको सुरक्षा गर्ने काममात्र गर्दैन, घरवरपरको वातावरणको रक्षा गर्ने भएकाले नै कुकुरको महत्व अधिक रहेको पाइन्छ । विभिन्न आपराधिक कार्यमा संलग्न व्यक्तिहरू पत्ता लगाउने काममा कुकुरको प्रयोग हुने गरेबाट पनि यसको महत्व पुष्टि हुन्छ । स्वामीभक्त वा आज्ञाकारी पात्रका रूपमा कुकुरलाई लिइन्छ । कुकुरमा हुने घ्राणशक्तिका कारण यसले सहजै मानिसलाई पहिचान गर्न सक्छ ।

दीपावलीको तेस्रो दिनलाई गाई तिहार वा लक्ष्मीपूजा पनि भनिन्छ । गाईलाई हिन्दू संस्कृतिमा आमा समान श्रद्धा र पूजा गरिन्छ । गाईको दूध, दही, घिउ, गहुँत, गोबरलाई उपयोगी वस्तुका रूपमा लिइन्छ । कुनै पनि पूजापाठमा पञ्चामृत आवश्यक पर्छ । पञ्चामृतबाहेक पञ्चगव्य तयार पार्न पनि गाईको महत्व छ । गाईको दूधलाई अमृतसमान मानिन्छ । त्यसैले परापूर्व कालदेखि नै गाईलाई पूजा गर्नथालिएको हो । हाम्रो जस्तो कृषिप्रधान देशमा खेतीका लागि गोबर वा कम्पोस्ट मलको आवश्यकता पर्ने हुँदा गाईको महत्व हुनु स्वाभाविकै हो । 

तिहारको चौथो दिनलाई गोरु तिहारका रूपमा मनाइन्छ । यसको पनि आफ्नै महत्व छ । कृषि कर्मको एउटा उपयोगी साधनका रूपमा यसलाई लिनुमा कुनै अतिशयोक्ति नहोला । गोरुको गोबर पनि कृषि कार्यमा ऊर्वरायुक्त मलखादका रूपमा लिइन्छ । अझै सवारी साधनको सुगमता नभएको ठाउँमा गोरुगाढालाई सवारीका विकल्पका रूपमा प्रयोग गरिएको पाइन्छ । तिहारको अन्तिम दिनलाई भाइटीकाका रूपमा मनाइन्छ । यो पर्वमा दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिठाईं, फलफूल दिने चलन छ । यसमा खाइने कतिपय मसलालाई आयुर्वेदका दृष्टिले महत्वपूर्ण मानिन्छ । यसबाट शरीरमा शक्ति पैदा हुन्छ र शरीर निरोगी बन्ने भएकाले भाइटीकाको महत्व उस्तै छ । 

तिहारलाई फूलको पर्व पनि मानिन्छ । यस अवसरमा फुल्ने फूलले वातावरणलाई सुरम्य बनाउने मात्र होइन, वातावरणमा एक प्रकारको सुगन्ध नै प्रवाह गर्छन् । वातावरणमा भएका कीटाणु पनि नियन्त्रण हुने हुँदा दीपावलीलाई वातावरणीय, जैविक तथा आयुर्वेदिक दृष्टिले समेत उपयोगी पर्वका रूपमा लिने गरिएको हो । सांस्कृतिक, धार्मिक, पौराणिक महत्वको यो पर्वलाई जैविक तथा वातावरणीय दृष्टिले समेत उपयोगी मानिन्छ । 

(लेखक देवेन्द्र प्राध्यापन पेसामा आबद्ध छन्)

 Image