राजनीतिमा युवा विद्रोह

प्रकृति दाहाल

मंसिर १, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक केही नयाँ अनुहारले उम्मेदवारी दिएका छन् । उनीहरूको उम्मेदवारी पुराना पार्टीहरूलाई हस्तक्षेप गर्ने उद्देश्यले भएको देखिन्छ । त्यसैले कसैले पार्टीबाट उम्मेदवारी दिएका छन् भनेकोही पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् । तीमध्ये मानुषी यमी भट्टराई पनि एक हुन् । उनी नेपाल समाजवादी पार्टी (नेसपा) बाट काठमाडौं–४ को संसदीय चुनावी मैदानमा छिन् । राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केकी उनी विद्यार्थीकालदेखि यसैमा सक्रिय छिन् । कम उमेरमै उनको राजनीतिक यात्रा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नयाँ शक्ति र जनता समाजवादी पार्टी(जसपा) हुँदै ‘नेसपा’ सम्म आइपुगेको हो । ती पार्टीहरूमा विभिन्न जिम्मेवारी पूरा गरिसकेकी उनी पहिलो पटक सांसदको यात्रामा छिन् । ‘देशको अवस्था सुधार्न युवा नेतृत्वको आवश्यकता पर्ने भएकाले मैले सांसदमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्, ‘चुनाव लड्नका लागि मात्र मैले उम्मेदवारी दिएकी होइन, मुलुकका समस्याहरू समाधान गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।’ उनले युवा नेतृत्वलाई अगाडि बढाउने आफ्नो योजना रहेको बताइन् । मानुषीले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख मुद्दा बनाएको बताइन् । ‘सहिदको बलिदानीबाट व्यवस्था त बदलियो तर अवस्था बदलिएन, त्यो बदल्न आवश्यक छ’ उनले भनिन्, ‘सही नीति र योजना निर्माण गर्ने योग्य व्यक्तिहरूलाई नीति निर्माण गर्ने तहमा पुग्नु जरुरी छ ।’ उनले मुलुकमा सार्वजनिक संस्थाहरूमा सुधार, भ्रष्टाचार अन्त्य, सुशासन र जनताका दैनिक समस्याहरूको समाधानसँगै विकास, समृद्धि र समावेशिताको सही कार्यान्वयनमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास रहेको बताइन्  ।‘अतिक्रमणले मृतप्रायः बन्दै गएको काठमाडांैलाई जीवन्त बनाउने र साँच्चीकै राजधानी जस्तो बनाउने एजेन्डा पनि मैले तय गरेकी छु’ उनले भनिन्, ‘म एजेन्डालाई कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्नेछु, जनताले मलाई बुझेर जिताउनु हुनेछ ।’ उनी आफ्नो निर्वाचन क्षेत्रबाट जित्नेमा ढुक्क छिन् ।

हास्यकलाकार हिमेश पन्त धादिङ– १ बाट प्रतिनिधिसभाको चुनावमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो । उनी टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन्स’को पहिलो सिरिजका विजेताहुन् । उनले राजनीति फोहोरी खेल भएकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए । राजनीतिलाई सफा बनाउने आफ्नो अभियान रहेको उनको भनाइ थियो ।  उनको चुनावी प्रतिस्पर्धा स्थापित दलका ‘हेभीवेट’ नेताहरूसँग छ । यसलाई उनले चुनौतीका रूपमा लिएका छन् । ‘भर्खरै उम्रदै गरेको पार्टीबाटउम्मेदवारी दिनु आफैमा चुनौती हो’ उनले भने, ‘तर, यसै आधारमा हार मान्ने कुरा पनि भएन । म सपना र संकल्पसहित आएकाले जित्नेमा ढुक्क छु ।’

राजनीतिमा आएसँगै उनलाई धेरैले कमेडी छोड्ने हुन् कि भन्ने शंका गरेका छन् । तर, उनी राजनीति र कमेडीलाई सँगसँगै लाने अठोटमा छन् । त्यसैले उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताए । उनले भने, ‘मैले कलाकारितालाई अगाडि बढाउन स्थानीय तहमा उम्मेदवारी दिए“, स्थानीय तहमा ठूलो जिम्मेवारी हुन्छ, समय मिल्दैन जस्तो लाग्यो । मैले राजनीतिलाई सामाजिक कामका रूपमा लिएको छु ।’उनले नेपालका पुराना राजनीतिक पार्टीहरूले युवाहरूप्रति अझै विश्वास गर्न नसकेको तीतो यथार्थ पोखे । ‘ठूला दलहरूले युवाहरूलाई मौका नदिएका कारणले युवाहरूले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ’ उनले भने, ‘राजनीतिमा युवाहरूलाई अपरिपक्व भन्नु पार्टीहरूको बुझाइ गलत हो ।’  उनी आफू सांसदमा विजयी भए धादिङलाई औद्योगीकरण गर्ने योजना रहेको बताए । ‘सांसद मेरो साथी’ शीर्षकको कार्यक्रममार्फत उनीहरूका समाचार सुनेर समाधानको पाटो खोज्नेछु’ हिमेशले भने, ‘यति मात्र होइन, मलाई आफ्नो क्षेत्रमा रोजगारी सिर्जना पनि गर्नु छ ।’

काठमाडौ–१ लाई त्यसै पनि विशेष रूपमा हेरिन्छ । यो नेपाली राजनीतिको विरासत बोकेको क्षेत्र पनि हो । यो नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंहको क्षेत्र हो । यहा“बाट स्वतन्त्र उम्मेदवार बनेका छन्–पुकार बम । चिकित्सक बन्ने सपनासहित ०५९ मा काठमाडौं छिरेका उनी यतिबेला भने संसद् छिर्ने ध्याउन्नमा छन् । काठमाडौंमा सामाजिक कार्यमा सक्रिय उनले विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापालाई भेटेपछि राजनीतिमा मोडिएको बताए । ०६९ जेठमा संविधानसभा विघटन हुन लाग्दा उनीहरू संविधान जारी हुनुपर्छ भन्दै दबाबमा उत्रिएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी कुकुर चिन्हमा उठेका थिए । चुनावमा पराजित भएपनि उनी निरन्तर पार्टीमा सक्रिय भइरहे । धेरै सामाजिक अभियान चलाइरहे,‘नेपाल खुला छ’,‘अकुपाई बालुवाटार’ जस्ता अभियानमा उनी सक्रिय रहे । उनले सीपमूलक सर्वसुलभ शिक्षा आफ्नो मुद्दा बनाएको बताए । नेपालमा रोजगारी र उच्च शिक्षाको वातावरण पनि बनाउने उनको अठोट छ । उनले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने बताए । ‘विदेशमा बस्ने नागरिकको नोट चल्ने, भोट नचल्ने अवस्थाको अन्त्य हुनुपर्छ’ उनले भने, ‘मतदाताले पटक–पटक पार्टीहरूलाई जिताएर पठाउ“दा पनि जनताहरूको मन जित्नै सकेनन् । दलहरूको विरासत भत्काउन युवाहरू पार्टीमा आउन आवश्यक छ ।’

यसपटकको चुनावमा पहिलेजस्तै थुप्रै ‘हेभीवेट’ नेताहरू पनि प्रतिस्पर्धामा छन् । पुराना पार्टीको विरासत भत्काउने अठोटका साथ अब्दुस मियाँ गोरखाबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस“ग प्रतिस्पर्धामा छन् । विवेकशील पार्टी परित्याग गरी अघिल्लो महिना मात्रै नेकपा (एमाले)प्रवेश गरेका उनलाई पार्टीलेचुनावमा उतारेको हो । प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उनी चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । गोरखामा जन्मिएका २९ वर्षीय उनी एमाले पार्टीका कान्छा उम्मेदवार पनि हुन् । पार्टीमा युवाहरूको आवश्यकता महसुस गर्दै पार्टीले आफूलाई टिकट दिएको उनको प्रतिक्रिया थियो । उनले भने, ‘म अर्को पार्टी छोडेर यो पार्टीमा आएको होइन, पार्टीले नै मलाई टिकट दिएको हो ।’ राजनीतिमा युवा हस्तक्षेप हुनुपर्छ भनेर पनि आफूले उम्मेदवारीदिएको उनले बताए । उनलाई युवाहरू पनि राजनीतिमा योग्य छन् भन्ने लाग्छ । उनले भने, ‘मैले चुनाव जितेर युवाहरूले पनि राष्ट्र निर्माणका लागि नीति तथा कार्यक्रम बनाउन सक्छन् भनेर पुष्टि गर्नुछ ।

सामाजिक सञ्जाल र चुनावी मैदानमा युवाहरूको संख्या उल्लेख देखिए पनि संख्यात्मक रूपमा उम्मेदवारीमा उनीहरूको संख्या घटेको छ ।प्रतिनिधिसभाको एक सय ६५ स्थानका लागि दुई हजार पा“च सय ३१ र प्रदेशसभाको तीन सय ३० स्थानका लागि तीन हजार चार सय ८१ गरी ६ हजार १२ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार आठ सय ५३ जना अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा छन् । यसपटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्ष उमेर समूहका सात सय ८३ जना उम्मेदवार बनेका छन् । तीमध्ये २५ वर्षका उम्मेदवार २० जना छन् भने ४१ देखि ९९ वर्ष उमेरसम्मका एक हजार सात सय ४८ जना अर्थात् ६९ प्रतिशत छन् । ०७४ को निर्वाचनमा ३४ दशमलव ८५ प्रतिशत युवाले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पाँच हजार एक सय ९० जनामध्ये एक हजार आठ सय नौ अर्थात् ३४ दशमलव ८५ प्रतिशत ४० वर्षमुनिका थिए।

चुनावमा युवाहरूको उम्मेदवारीलाई लेखिका अर्चना थापाले सकारात्मक रूपमा लिएकी छन् । ‘पछिल्लो समय युवाहरूमा राजनीतिक र सामाजिक चासो बढ्दै जानु सकारात्मक पक्ष हो’ उनले भनीन्, ‘युवाहरूले राजनीतिमा हस्तक्षेप गर्नुको कारण पुराना पुस्ताहरूप्रति उनीहरूको वितृष्णा हो । धेरै युवा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा आउनु त्यसको प्रमाण पनि हो ।’ युवाहरूका समस्याहरूलाई ठूलापार्टीले सम्बोधन नगरीउनीहरूको सहभागितालाई साँघुरो बनाउँदै जाँदा पनि युवाहरू अघि बढ्न थालेका हुन् । उनले आगामी दिनमा युवाहरू राजनीतिमा थप सक्रिय हुने कुरा बताइन् ।

बत्तीस वर्षीया चिकित्सक तोसिमा कार्कीले ललितपुर–३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराइन् । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । सर्वोच्च अदालतमा रिट हालेपछि उनको उम्मेदवारी तत्काल खारेज नगर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै पुनः उनी चुनावी मैदानमा होमिएकी छन् । काठमाडौं विश्वविद्यालयबाट एक वर्षअघि जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेकी डा. कार्कीले राजनीतिमा भद्रगोल देखेर उम्मेदवारी दिएको बताइन् । उनले नेपालमा मौलिक स्वास्थ्य सेवा मोडल निर्माणका लागि आफू सांसदमा जान चाहेको बताएकी छन् । उनले मतदाताहरूले आफूलाई जिताउने विश्वास लिएकी छन् । उनी नेपालको स्वास्थ्यलाई सुलभ र गुणस्तर बनाउन सरकारी सेवा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताइन् । परिवर्तनका लागि युवा आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>