Successfully Copied

न्यानो ओछ्यान

एकताका जाडो लाग्नासाथ घरघरमा सिरक–डसना बनाइरहेका दृश्यहरू देखिन्थे । कपास किनेर होस् वा पुराना कपडाहरूको सदुपयोग गरी जाडो छल्ने गरिन्थ्यो । त्यो चलन अहिले बिस्तारै हराउँदै गएको छ । बजारमा रेडिमेड सिरक–डसनाको चलन बढेको छ ।

एकताका जाडो लाग्नासाथ घरघरमा सिरक–डसना बनाइरहेका दृश्यहरू देखिन्थे । कपास किनेर होस् वा पुराना कपडाहरूको सदुपयोग गरी जाडो छल्ने गरिन्थ्यो । त्यो चलन अहिले बिस्तारै हराउँदै गएको छ । बजारमा रेडिमेड सिरक–डसनाको चलन बढेको छ । घरमा बोलाएर सिरक बनाउन झन्झट लागेर बानेश्वरकी कमला अधिकारीले रेडिमेड टिम्बा सिरक किनिन् । हल्का र न्यानो हुन्छ भन्ने सुनेर उक्त सिरक किनेकी उनलाई ओढ्नमा पनि न्यानो भएको छ । उनले भनिन्, ‘घरमा सिरक–डसना बनाउन एकदमै गाह्रो लाग्न थाल्यो, मान्छेहरू पनि पाइन छाडे । त्यसकारण मलाई रेडिमेड नै किन्न सहज लाग्छ।’ टिम्बा सिरकले तताएको व्यापार पनि फेरि नयाँ प्रविधियुक्त चाइनिज ब्ल्यांकेटहरूले लिन थालेका छन् ।

फाइबरका सिरक एवं कोरियन ब्ल्यांकेटले बजार तताएको चाइना टाउनस्थित व्यापारी दिलीप श्रेष्ठले बताए । १२ वर्षदेखि सिरक र ब्ल्यांकेटको व्यापार गर्दै आएका उनले भने, ‘कपास फिटेर सिरक–डसनालाई टिम्बा र फाइबरका सिरकले विस्थापित गरे, अहिले फेरि कोरियन ब्ल्यांकेट तथा फाइबरका सिरकको चलन बढिसकेको छ ।’

कुपन्डोलस्थित अर्गानिक कटनका देवेन्द्र भुसालका अनुसार टिम्बा सिरक न्यानो हुने र यसलाई रिपेयर गर्न मिल्ने भएकाले केही ग्राहकहरू अझै पनि यसैलाई रोज्ने गरेका छन् । टिम्बा सिरकको मूल्य ७ हजारदेखि १२ हजार रुपंैयाँसम्म रहेको उनले बताए । यी सिरक तीन किलोग्रामदेखि पाँच किलोग्रामसम्मको तौलमा बन्ने गरेका छन् । टिम्बा सिरक जाडोमा मात्र होइन गर्मीमा पनि उपयुक्त हुन्छन् । इमाडोलमा कारखाना राखेर लामो समयदेखि टिम्बा सिरक उत्पादन गरेका देवेन्द्रले ग्राहकहरूले टिम्बा सिरकको वास्तविकता बुझेपछि अरु सिरक नखोज्ने बताए ।

बजारमा पाइने फाइबर सिरकको मूल्य ३५ सय रुपैंयाँसम्म पर्छ । नर्मल सिरक भने २६ सय रुपैंयाँमा पाउन सकिन्छ । सिलिकन सिरकको मूल्य १५ सय रुपंैयाँदेखि सुरु हुन्छ । बजारमा कोरियन सिरकहरू पनि प्रशस्त पाइन्छन् । बजारमा ‘किङ क्विन’ साइजमा ‘वासएबेल फाइबर’ सिरक तीन हजार रुपैंयाँमा खरिद गर्न सकिन्छ । सिरकसँग प्रतिस्पर्धाका रूपमा ब्ल्यांकेट पनि फैलदै गएका छन् । ब्ल्यांकेटमा पनि कोरियनको मूल्य फरक–फरक रहेको छ । बजारमा नौ सयदेखि आठ हजारसम्म यी ब्ल्यांकेटहरू पाइन्छन् ।  कोरियन फ्लोर डबल बेड ब्ल्यांकेटको मूल्य छ हजार पर्छ । अहिले ‘पपकन ब्ल्यांकेट’खुबै लोकप्रिय छ । यसको मूल्य एक हजार रुपैयाँबाट सुरु हुन्छ । यसैगरी, बजारमा जयपुरी सिरकहरूको मूल्य १२ सय रुपैयाँदेखि दुई हजारसम्म पर्छ ।

थरिथरिका बेडसिट

गर्मी होस् वा जाडो हरेक समयमा आवश्यक पर्छ, बेडसिट । जाडोयाम सुरु भएसँगै बेडसिटको व्यापार पनि बढेको छ । जाडो मौसमका लागि ‘वार्म ब्राइट कलर’ उपयुक्त हुने व्यापारीहरू बताउँछन् । बानेश्वर सिरक पसलका कुमार श्रेष्ठका अनुसार ‘थिक’ र ‘हेभी फेब्रिक’ले तातोपन दिने भएकाले यिनै ‘फ्रेब्रिक’ रोज्नुपर्ने उनको भनाइ छ । जाडोमा पनि बेडरुमलाई ‘मानोओमेटिक कलर स्किम’का साथ ‘डेकोरेट’ गर्न सकिने उनले बताए ।  बजारमा बेड मूल्यअनुसार सबैका विशेषताहरू पनि फरक–फरक छन् । १२ सयदेखिका बेडसिटहरू बजारमा उपलब्ध छन् । जसमा सुती कटन, खादीमा जयपुरी तन्नाहरू उपलब्ध छन् । ‘फ्लोर प्रिन्टेट’, ‘स्टार प्रिन्टेट’, ‘टिकटक प्रिन्टेट’ बेडसिटहरू बजारमा पाइन्छन् । बजारमा यी बेडसिटहरूको मूल्य १८ सयदेखि तीन हजारसम्म पर्छ । बजारमा थुप्रै प्रकारका बेडसिडहरू उपलब्ध हुने र छनोट गर्न ध्यान दिनुपर्ने कुमारले बताए । उनका अनुसार बेडसिटको गुणस्तर धागोमा निर्भर रहन्छ । धागोमा ‘थ्रेड काउन्ट’ जति उच्च हुन्छ, बेडसिटको गुणस्तर त्यति नै राम्रो हुन्छ । उनले भने, ‘१८० भन्दा बढी थ्रेड काउन्ट भएका बेडसिटहरू किन्नु लाभदायक हुन्छ । यसबाहेक फिनिसिङ र बुनाइमा पनि ध्यान दिनु जरुरी छ ।’ बेडसिटका रूपमा इलेक्ट्रिक हिटिङ म्याटको प्रयोग पनि बढ्दै गएको छ । उक्त म्याटले न्यानो बनाउने र तापक्रम पनि आवश्यकतानुसार बढाउन–घटाउन मिल्ने भएकाले यी म्याट उपभोक्ताहरूका लागि अहिले सहज बन्दै गएका छन् ।

 Image