श्रमिक मेलोनी बनिन् शक्तिशाली

दिनेश यादव

मंसिर १९, २०७९ इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् । उनको पार्टी ‘ब्रदर्स अफ इटाली’ ले त्यहाँका दक्षिणपन्थी दलहरूको गठबन्धनसहित सर्वाधिक स्थानमा निर्वाचन जित्न सफल भयो । यो सफलताले इटालीमा पहिलो पटक मेलोनी महिला प्रधानमन्त्री बनिन् । इटालीमा दोस्रो विश्वयुद्धयता पहिलोपटक चरम दक्षिणपन्थी दलले सरकारको नेतृत्व गरेको छ–त्यसमा पनि महिलाले । इटालीमा कुनै पनि सरकार लामो समयसम्म टिकेको इतिहास छैन । दुई पटक चुनाव प्रणालीमा महत्वपूर्ण संशोधन गरिए पनि त्यसले खासै परिवर्तन ल्याउन सकेन । त्यहाँ सात दशकमा ६७ वटा सरकार गठन भइसकेका छन् । 

‘ब्रदर्स अफ इटाली’ की नेतृ मेलोनी राजनीतिज्ञ मात्र होइनन्, एकताकाकी पत्रकार पनि हुन् । उनको जन्म १५ जनवरी १९७७ मा भएको हो । १५ वर्षको उमेरमै उनी नव–फासिस्ट इटालेली सामाजिक आन्दोलन (एमएसआई) को भातृसंगठन युवा मोर्चामा सक्रिय भएकी थिइन् । ‘एमएसआई’ को उत्तराधिकारीका रूपमा नेतृत्व गर्ने ‘कन्जर्भेटिभ नेसनल एलायन्स’ (एएन) की उनी राष्ट्रिय नेतासमेत बनिन् । यो संगठनले विद्यार्थी आन्दोलनको नेतृत्व गर्छ । उनी १९९८ देखि २००२ सम्म रोमको एउटा प्रान्तको कन्सिलरका रूपमा निर्वाचित भई काम गरिन् । पछि उनी राष्ट्रिय निर्देशक बनिन् । सन् २००४ मा उनी ‘एएन’ युवा भातृसंगठनको ‘युथ एक्सन’ की प्रथम महिला अध्यक्ष बन्न सफल भइन् । 

मेलोनीले जीवनमा वेट्रेसको काम पनि गरेकी छन् । यो खुलासा उनले ‘रिमिनी’को एक महत्वपूर्ण बैठकमा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म संसद्को तुलनामा एक वेट्रेसका रूपमा बढी सिक्ने अवसर पाएकी छु ।’ उनको यो भनाइले उनी ‘वर्किङ क्लास’ पृष्ठभूमि भएको ठम्याउन कसैलाई गाह्रो पर्दैन । यसले मेलानीको जीवन राजनीतिमा आउनुअघि संघर्षपूर्ण रहेको देखाउँछ । संचारमाध्यमहरूका अनुसार पूर्णकालीन राजनीतिमा आउनुअघि उनी ‘वेट्रेस’, ‘बार टेन्डर’ र ‘नानी’ (बालबालिकाको हेरचाह गर्ने) भएर काम गरेकी थिइन् । उनी रोमको सबैभन्दा लोकप्रिय ‘नाइट क्लब’ मध्येको एक ‘पाइपर क्लब’ मा समेत काम गरेको केही संचारमाध्यले उल्लेख गरेका छन् । पछि उनी राजनीतिमा सक्रिय भएकी हुन् । 

सन् २००८ मा इटालीका तत्कालीन प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले उनलाई मुलुककै युवा मन्त्रीमा नियुक्त गरेका थिए । उनी उक्त पद पाउने सबैभन्दा कम उमेरकी मन्त्री बनेकी थिइन् । उनी एक रुढिवादी नेतृ पनि हुन्, जसले समलैंगिताको विरोध गर्छिन् । एउटा मजदुर वर्गको पृष्ठभूमि भएकी उनको सफल राजनेताका रूपमा उदय त्यसबेला भएको छ, जब युरोपेली राजनीतिक भविष्य आफ्नै आर्थिक संकटसँग जुध्दै अन्धकारमय र अनिश्चिततातर्फ उन्मुख छ । यसो त, मेलोनीका तीन राजनीतिक आधारहरू छन्–अवैध आप्रवासन, अत्यधिक सामाजिक रुढिवाद र जुधारु युरो–संशयवादका लागि शून्य सहिष्णुता । उनी गर्भपात, इच्छामृत्यु र समलैंगिक जोडीमा साझेदारीको विरोधमा छिन् । त्यस्तै, उनी गैर–युरोपेली प्रवासीहरू र बहु–संस्कृतिवादको विरोधी पनि हुन् । उनी नेटोलाई समर्थन गर्छिन् । 

मेलोनीको जित त्यस्तो बेला भएको छ, जब महिलाहरू संगठित रूपमा आफ्ना अधिकारका लागि आवाज उठाइरहेका छन् । यसको पछिल्लो उदाहरण अमेरिकामा भैरहेको ‘ट्रेडिसनल वाइफ मुभमेन्ट’ लाई लिन सकिन्छ । उक्त आन्दोलनमा विवाहित मात्र होइन अविवाहित किशोरीहरूसमेत सक्रियताका साथ सहभागी भइरहेका छन् । उनीहरूले भनिरहेका छन्, ‘यदि हामी श्रीमतीहरू आफ्ना श्रीमान्, बच्चा र घरको हेरचार गर्न चाहन्छौं भने यो विषयलाई कसैले मजाक बनाउने अधिकार छैन ।’ मेलोनीले पनि आफ्नो चुनावी प्रचारका क्रममा भनेकी थिइन्, ‘म एउटी महिला हुँ, आमा हुँ । म इटालेली पनि हुँ । म ईसाई पनि हुँ ।’ उनी आफ्ना भनाइहरूमा आफूलाई महिला र आमा भनेर स्त्रीत्वको भाव प्रकट गरेकी छन् । उनको यो भनाइ, एउटी महिला आमा बन्नु महत्वपूर्ण रहेको पक्षमा देखिन्छ । 

मेलोनीले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै भनिन्, ‘ब्रदर्स अफ इटालीले सबैका लागि शासन गर्ने र जनताको विश्वासलाई धोका दिने छैन ।’ इटालीको राजनीतिमा पुरुषको दबदबा अत्यधिक छ । त्यसैले त्यहाँको राजनीति क्षेत्रलाई उच्च पितृसत्तात्मक मानिन्छ । मेलोनीले भने पुरुष नेतृत्वलाई चुनौती दिँदै आफ्नो नेतृत्वमा रहेको पार्टीलाई बहुमत दिलाउन सफल भएकी छन् । उनको यो सफलताले एकै पटक धेरै सन्देश संचार गरिरहेको छ । त्यसमध्ये एक हो इटालीदेखि स्वीडेनसम्म, हंगेरीदेखि फ्रान्ससम्म दक्षिणपन्थीहरूको प्रभाव फेरि बढ्नु पनि हो । यस सन्दर्भमा ‘गार्डियन’ अखबारले लेखेको छ, ‘इटालीदेखि स्वीडेनसम्म, हंगेरीदेखि फ्रान्ससम्म दक्षिणपन्थीहरू फेरि एकपटक शक्तिका रूपमा देखापर्न थालेका छन् । यसको अर्थ आप्रवासीप्रति ती मुलुकको नागरिकको घृणालाई प्रोत्साहित गर्छ ।’ 

दोस्रो विश्वयुद्धलगत्तै इटालीको फासीवाद र तानाशाह बेनिटो मुसोलिनी सत्ताका पूर्वसदस्यले स्थापना गरेको नव–फासीवादी ‘मोभिमेन्टो सोसल इटालियानो’ (एमएसआई) सँग मेलोनीको पार्टी जोडिएको छ । मेलोनीले आफूलाई फासीवादी समर्थक नभएको बताए पनि उनको पार्टीको झण्डामा पुरानै फासीवादी पार्टीको तीन रंगको ज्वाला भएको प्रतीक समावेश छ । त्यस्तै, मुसोलिनीका दुई उत्तराधिकारीमा नातिनी र्‍याचेले र पनाति क्याओ गिउलिओ सेसार पनि मेलोनीको नेतृत्वमा रहेको पार्टीमा आबद्ध छन् । उनी भन्छिन्, ‘म आफै फासीवादी होइन तर, मुसोलिनीले जे गरेका थिए, इटालीका लागि गरेका थिए ।’ उनको यो भनाइलाई धेरैले विरोधाभासपूर्ण भएको प्रतिक्रिया दिने गरेका छन् । 

जहाँसम्म मुसोलिनीको कुरो छ, उनले हिटलरसँग साझेदारी मात्रै गरेका थिएनन् हलोकस्ट (यहुदी नरसंहार) मा भूमिका पनि निर्वाह गरेका थिए । इटालीमा सन् १९४३ मा फासीवादी पार्टीमा भएको विद्रोहले मुसोलिनीलाई सत्ताच्युत मात्रै गरेको थिएन, त्यसयता मुसोलिनीको भाष्य र राष्ट्रमा कायम वर्चस्व कमजोर हुँदै गएको थियो । तर, करिब आठ दशकपछि फेरि मुसोलिनीको समर्थन गर्ने पार्टीकी मिलोनी आश्चर्यजनक रूपमा उदाइन । इटालीको विगतलाई हेर्ने हो भने विश्वयुद्धको अन्त्यताका मुलुक तीन भूभागमा विभाजित थियो । नाजीहरूको कब्जामा रहेको उत्तरी इटाली कठपुतलीका रूपमा मुसोलिनीको सरकार थियो । यो क्षेत्र फासीवादविरोधी प्रतिरोधको विशाल साक्षी बन्यो । यसैगरी सिसिली क्षेत्र ‘एलाइज’ को कब्जामा थियो, मेलोनीकी आमा त्यहीँकी हुन् । बुबा चाहिँ सार्दिनियामा जन्मिएका हुन् । इटालीको बाँकी भूभागमा ‘एलाइज’ सँग सहकार्य गरेको पूर्वफासीवादीको सरकार थियो । यस अवस्थामा युद्ध समाप्तिपछि इटालीमा फासीवादविरोधी शक्तिको प्रधानता थियो । 

इटालीको संविधानमा फासीवादलाई अपराध भनेको छ । फासीवादविरोधी कानुनले फासीवादी पार्टी पुनर्निर्माण गर्न प्रतिबन्ध लगाए पनि त्यसमा व्याख्या गर्ने थुप्रै ठाउँ छन् । त्यसैले त त्यहाँ फासीवादी चिन्ह वा सलाम ‘स्मृतिजन्य काम’ बन्न पुगेको छ । यसो त हालै मात्र फासीवादी छविलाई गैरकानुनी बनाउने विधेयक संसद्बाट पारित हुन सकेन । यसको प्रमुख कारण बन्यो–विधेयकको दक्षिणपन्थी दलहरूले वाक–स्वतन्त्रताको हनन हुने भन्दै विरोध गर्नु । 

सन् १९९० मा मुसोलिनीको प्रशंसा गरेकी मेलोनी फासीवाद ऐतिहासिक विषय भएको भन्दै अभिव्यक्ति दिएपछि केहीले त्यसलाई सहज रूपमा लिएका थिए । तर, उनका पार्टीका सदस्यहरूले फासीवादप्रति श्रद्धा व्यक्त गरिरहेकै थिए । मेलोनी युक्रेनमाथि आक्रमण हुनुअघि रुससँग राम्रो सम्बन्धको पक्षमा थिइन् । तर, चुनाव प्रचारका क्रममा उनी खुलेर युक्रेनको समर्थन मात्र गरिनन् त्यहाँ हतियार पठाउने कुरा पनि गरिन् । उनी पटक–पटक विवादमा मुछिने गरेकी छन् । सन् १९९६ मा उनी मुलोलिनीको र सन् २०२० मा नाजी सहयोगी तथा एमएसआईका सह–संस्थापक जियोर्जियो अल्मिरान्टेको प्रशंसा गरेपछि उनले व्यापक विरोधको सामना गर्नुपरेको थियो । 

यति मात्रै होइन, निर्वाचनको एक महिनाअघि सोसल मिडियामा मेलोनीले एउटा भिडियो सार्वजनिक गरी विवादमा तानिएकी थिइन् । पिसेन्जा सहरको उक्त भिडियोमा एकजना अश्वेत पुरुषले युक्रेनकी शरणार्थी महिलालाई बलात्कार गरिरहेको दृश्य समेटिएको थियो । उनले सार्वजनिक गरेको भिडियोलाई ब्लरसम्म गरेकी थिइनन् । क्याम्पसनमा उनले देखेकी थिइन्, ‘दिउँसै युक्रेनी शरणार्थी महिलाको बलात्कार गरिँदैछ, कोही कसरी मौन बस्न सक्छ ।’ 

अन्त्यमा, अमेरिगो भेस्पुक्की इन्स्टिच्युटबाट उनले डिप्लोमा गरेकी छन् । उनको पार्टीले सन् २०१८ मा सम्पन्न निर्वाचनमा चार प्रतिशत मात्रै मत पाएको थियो । यो निर्वाचनमा उनी सहभागी रहेको दक्षिणपन्थी गठबन्धनले ४४ प्रतिशत मत र मेलोनीको पार्टीले २६ प्रतिशत मत ल्याएर ठूलो दल बन्यो । बढेको मतप्रतिशतले उनको पार्टी ‘ब्रदर्स अफ इटाली’ को लोकप्रियता बढ्दै गएको पुष्टि हुन्छ । 

(एजेन्सीहरू)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>