Successfully Copied

फेसन शिक्षाप्रति बढ्दो आकर्षण

मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

नेपालमा फेसन शिक्षाको अवस्था कस्तो छ ?

मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ । फेसन भनेको पर्वमा लगाउने पहिरन मात्रै रहेन अब, हरेक दिन लाउने पहिरन (स्विट वेयर) पनि फेसनेबल हुँदै गएको छ । यसलाई दैनिक आवश्यकताभित्र राखिएकाले पनि यसको बजार बढ्दै गएको हो भन्ने लाग्छ । 

पछिल्लो समय यो शिक्षाप्रति रुचि बढ्नुको कारण के होला ?

सामान्य रूपमा भन्नुपर्दा फेसन हरेक दिनको आवश्यकता बन्दै गयो । फेसन शिक्षा पढेर ‘स्टाइलिस्ट’, ‘डिजाइनर’, ‘मर्चेन्डाइजिङ’, ‘फेसन’ व्यवसायीलगायतका ‘मल्टी सेक्टर’मा जान सकिन्छ त्यति मात्रै नभएर तत्काल आर्थिक रूपमा स्वनिर्भर हुन सकिन्छ ।त्यसैले पनि यसप्रति आकर्षण बढ्दै गएको छ । 

फेसन शिक्षा पढ्नका लागि के–कस्ता मापदण्ड छन् ?

‘प्लस टु वा सोसरह उत्तीर्ण गरेको हुनुपर्छ । तीन वर्षे डिप्लोमा पढेकाहरूले पनि ‘ब्याचलर इन फेसन डिजाइनिङ’ पढ्न सक्छन् । 

नमूना कलेजले फेसन शिक्षालाई गुणस्तरीय र व्यावहारिक रूपमा उपयोगी बनाउन के गर्ने गरेको छ ?

हाम्रो पाठ्यक्रम अत्यन्तै व्यावहारिक छ । बजारको आवश्यकता हेरेर हरेक चार वर्षमा यहाँको पाठ्यक्रम परिमार्जन हुन्छ । हाम्रो कलेजमा धेरै व्यावहारिक शिक्षामै जोड दिइन्छ, पढाउने, सुनाउने भन्दा पनि काम नै गर्न लगाइन्छ । कलेजले विभिन्न ‘कम्पिटिसन’ लगायत भर्सटायल कार्यक्रम आयोजना गरिरहेको हुन्छ जसले गर्दा विद्यार्थीमा अझ ज्ञान बढ्दै जान्छ । 

डाक्टर, इन्जिनियर, पाइलटलगायतका शिक्षालाई उच्चस्तरको शिक्षा ठानिरहेको सन्दर्भमा फेसन शिक्षाबारे यहाँको धारणा के छ ?

व्यक्तिगत रूपमा भन्नुपर्दा म पनि बायोलोजी पढेको मान्छे हुँ । ‘प्लस टु’ सकेपछि ‘फेसन’मा स्नातक गरें । यो पढेको भनेर मलाई कसैले पनि प्रतिष्ठामा कम आँकेका छैनन् । मलाई थुप्रै प्रश्न सामना गर्न परेको पनि छैन । यो शिक्षाले छिटै नाम, दाम, प्रतिष्ठा एवं पहिचान दिन्छ भन्ने कुरा मेरो अनुभवले बताउँछ ।

फेसन शिक्षाको फाइदा के छ ?

एक त यो शिक्षा निकै व्यावहारिक छ । त्यसबाहेक यसैभित्र ‘मार्केटिङ’, ‘बिजनेस’, ‘करियर डेभलपमेन्ट’, ‘पर्सनालिटी ग्रुमिङ’ लगायत विषय पढाइन्छ । यो शिक्षाले एउटा मात्रै सीप होइन चौतर्फी ज्ञान, सीप र अनुभव दिन्छ । ‘कस्ट्युम डिजाइन’, ‘स्टाइलिङ’, ‘मर्चेन्डाइजिङ’, ‘फेसन कन्टेन्ट क्रियटर’, ‘फेसन’ व्यवसायीलगायतका चौतर्फी क्षेत्रमा गएर आफू स्वनिर्भर बन्न सकिन्छ ।

 Image