Successfully Copied

सोफाको सही छनोट

बदलिँदो फेसनसँगै व्यक्तिको सोच परिवर्तन हुँदै जान्छ । घरलाई आकर्षक र आधुनिक बनाउन सजावट, रंग, फर्निचर आदि बारे मानिस अपडेट भइरहन्छन् ।

बदलिँदो फेसनसँगै व्यक्तिको सोच परिवर्तन हुँदै जान्छ । घरलाई आकर्षक र आधुनिक बनाउन सजावट, रंग, फर्निचर आदि बारे मानिस अपडेट भइरहन्छन् । घरको महत्वपूर्ण हिस्सा हो, बैठक कोठा । घर प्रवेश गरेसँगै बैठक कोठा आउँछ, जहाँ अतिथिहरूलाई स्वागत गरिन्छ । घरका परिवारसँग ‘क्वालिटी टाइम’ बैठकमै बिताइन्छ । त्यसैले बैठक कोठाको सजावट विशेष तरिकाले गरिएको हुन्छ । बैठक कोठाको सजावटमा सोफाको भूमिका विशेष रहन्छ । सोफाको छनोट गर्दा लुकलाई मात्र नभएर सहजतालाई प्राथमिकतामा राख्नुपर्छ । 
‘घर जति नै राम्रो भए पनि त्यहाँ राखिएको फर्निचर राम्रो भएन भने घरको लुक नै बिगारिदिन्छ’ इन्टेरियर डिजाइन सन्दीपा तामाङ भन्छिन्, ‘सोफाले घरको ‘आउटलुक’ उत्कृष्ट देखाउँछ ।’ उनका अनुसार घरको पूर्ण लुकका लागि बैठक कोठामा सोफा अनिवार्य मात्र होइन बस्दा आरामदायक पनि हुनुपर्छ । 
बजारमा विभिन्न किसिमका सोफा सेट पाइन्छन् । आफ्नो इच्छा र बजेटअनुसार सोफा खरिद गर्न सकिन्छ । सोफा खरिद गर्नुपूर्व यसको मूल्य, डिजाइनसम्बन्धी सामान्य जानकारी राख्नु आवश्यक छ । ‘काठमाडौं सोफा हाउस’ का म्यानेजर केशवराज ठकुरालका अनुसार ग्राहकहरूको रुचि र आवश्यकताका आधारमा सोफा तयार गरिन्छ । ‘सामान्यतया सोफामा प्रयोग भएको काठ, फेब्रिकको आधारमा यसको मूल्य निर्धारण हुन्छ’ उनी भन्छन्, ‘पछिल्लो समय ग्राहकले कर्नर र बेड सोफा धेरै रुचाएका छन् ।’ सोफामा उत्तिस र सल्लाको काठको प्रयोग हुन्छ । उनीकहाँ सोफाको साइज, डिजाइन र त्यसमा प्रयोग भएका सामानको आधारमा १० हजारदेखि दुई लाख रुपैयाँसम्मका सोफा पाइन्छन् । सामान्यतया सिंगल सिटदेखि ७/८ वटा सिट भएका सोफा बजारमा उपलब्ध छन् ।
केशवराजका अनुसार घरमा प्रयोग गर्नका लागि प्रायः कपडाको सोफा नै रुचाउँछन् । अफिस तथा कार्यालयमा भने र्‍यागजिन र लेदरका धेरै बिक्री हुन्छन् । 

मुडा कर्नर सोफा 
यो सबैभन्दा बढी बिक्री हुने सोफा हो । यसमा पाँच जना बस्न मिल्छ । दायाँतर्फ तीन र बायाँतर्फ दुई जना बस्ने सिट हुन्छ । कर्नरमा सिसाको टेबल राखिएको हुन्छ । जहाँ चिया तथा कफी राख्न सकिन्छ । यो सोफा सेटमा चार वटा मुडा पनि पाइन्छ । जसले गर्दा अतिरिक्त पाहुना आउँदा बस्न मिल्छ । यो बैठक कोठाको कर्नरमा राख्न सकिन्छ । त्यसकारण यसलाई ‘कर्नर सोफा’ भनिएको हो । यसको मूल्य २९ हजार रुपैयाँ तोकिएको छ । यसमा प्रयोग गरिएका फोम, सिसा र कपडाको गुणस्तरका आधारमा यसको मूल्य केही घटबढ हुन सक्छ । यो सोफामा ५ वर्षसम्मको वारेन्टीसमेत फर्निचर व्यवसायीहरूले दिने गरेको पाइन्छ । यसमा प्रयोग गरिएको कपडामा भुवा आउँदैन । यसमा १६/१६ साइजको कुसन फिक्स गरिएको हुन्छ । ५ इन्चको फोम र उच्च गुणस्तरीय कपडाको प्रयोग गरेर बनाइएको ‘कर्नर सोफा’ को भने १० वर्ष ‘वारेन्टी’ दिइन्छ । 

बेड सोफा
बेड सोफा हेर्दा आकर्षक र आरामदायक हुन्छ । यो बहुउपयोगी सोफा हो । साथै ‘स्पेस सेभिङ’ सोफा पनि हो । यसलाई सुत्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसमा बसेर टेलिभिजन हेर्न सजिलो हुन्छ । साथै यसमा चार्जिङ प्लक फिक्स गरेर बनाइएको हुन्छ । यसको मूल्य ८५ हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ । यो सोफामा चार वर्ष वारेन्टी र कपडामा सय प्रतिशत नै ग्यारेन्टी दिइन्छ । यो सोफा बनाउन उत्तिस र सल्लाको काठ प्रयोग गरिन्छ । 



रेग्जिन सोफा सेट
रेग्जिनको सोफाले कोठालाई आकर्षक देखाउँछ । यो सोफाको मूल्य धेरै पर्दैन । कम बजेट भएकाहरूका लागि यो सोफा उपयोगी हुन्छ । यो सोफा हल्का हुने भएकाले यताउता सजिलै सार्न सकिन्छ । यसलाई सफा गर्न पनि सजिलो हुन्छ । यो सोफा बिग्रियो भने रिपेयर गर्न पनि सकिन्छ । यसमा पाँच जना बस्न मिल्छ । एउटा लामो र दुई वटा एक–एक जना बस्ने गरी डिजाइन गरिएको हुन्छ । बजारमा यसको मूल्य १४ हजार रुपैयाँदेखि सुरु हुन्छ । 


रोयल लुक सोफा सेट
बैठक कोठालाई ‘रोयल लुक’ दिनका लागि यो सोफा उपयोगी हुन्छ । यो सोफाले कोठालाई भव्य र शानदार देखाउँछ । यसमा ‘युरोपियन लेदर’ प्रयोग गरिएको हुन्छ । हेर्दा ठूलो देखिए पनि यो सोफालाई यताउता सार्न त्यति गाह्रो हुँदैन । यो सोफामा २० वर्षको ग्यारेन्टी पाउन सकिन्छ । यसमा प्रयोग गरिएको र्‍याग्जिन गुणस्तरीय हुन्छ । यो ‘वाटर प्रुफ सोफा’ हो र यसमा धूलो पनि जम्दैन । यो सोफाको मूल्य चार लाख रुपैयाँसम्म पर्छ । 

 Image