Successfully Copied

बहुप्रतिभाशाली इन्दिरा

 नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।

 नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन । परासीको बन्जरिया गाउँमा जन्मिएकी इन्दिराको घरमा शिक्षालाई असाध्यै महत्व दिने र अनुशासनलाई केन्द्रमा राख्ने वातावरण थियो । बाल्यकालीन स्मृतिका पाना पल्टाउँदै उनले भनिन्, ‘म सानैदेखि गीत गाउँथें । विद्यालयमा हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन्थें । लोकगीतमा खासै रुचि थिएन र पनि क्षेत्रीय लोकगीत प्रतिस्पर्धामा द्वितीय भएकी थिएँ । त्यसपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘को भन्दा को कम’ नामक बाल कार्यक्रममा गायनमा प्रथम भएँ । त्यसैका लागि म काठमाडौं आएकी थिएँ । लगत्तै म परासी फर्किएर एसएलसी सकेपछि मात्रै ‘नेपाली तारा’ का लागि पुनः काठमाडौं आएँ ।’ इन्दिराले पिपल्स क्याम्पसबाट ब्याचलर र गोल्डेन गेट कलेजमा मास्टर्स पढिन् । 

इन्दिराले जिंगल गाउने, रिमिक्स गर्ने, फोनको रिंगटोनका लागि स्वर दिने, आरजे–भिजे गर्ने, विभिन्न कार्यक्रममा उद्घोषण गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय कर्पोरेट शोहरूमा होस्ट गर्नेलगायतका काम गरिन् । यसले उनको क्षमता निखारिँदै गयो । ‘तर, जे गरे पनि स्टेज परफर्मेन्स मलाई औधी मन पर्छ’उनले भनिन् । स्टेजमा उनको प्रस्तुति पृथक् शैलीको हुन्छ । एकताका गायनसँगै नृत्यमा पनि पोख्त उनलाई नेपाली ‘म्युजिकल फेटरनिटी’ मा नेपाली ‘साकिरा’ को नामसमेत दिइएको थियो । गत वर्ष व्यवसायी तथा फेसन डिजाइनर शरद केडियासँग वैवाहिक जीवनमा बाँधिएकी उनी अब अझै सशक्त भएर संगीतमा लाग्ने बताउँछिन् । 

 

इन्दिरा अनुभव

अहिले केमा व्यस्त हुनुहुन्छ ?

‘साइराम पिक्चर्स’ सँग नयाँ एल्बमको ‘कन्ट्रयाक्ट साइन’ भयो । धेरै गीत रेकर्ड भइसके, केही बाँकी नै छन् । अहिले त्यसैमा काम भइरहेको छ । अन्य कामहरू पनि छन्, व्यस्तता घटेको छैन । 

वैवाहिक जीवन कस्तो चल्दैछ ?

एकदमै रमाइलो र खुसीसाथ अगाडि बढिरहेको छ । अझ बलियो र सशक्त भएर आफ्नो क्षेत्रमा काम गर्ने साथ र हौसला मिलेको छ ।

भिन्न संस्कार, परिवेश र चालचलनमा भिज्न कत्तिको सजिलो/अप्ठ्यारो भयो ?

उहाँहरूको परिवार एकदम सिस्टममा चल्छ । पुरुषहरू व्यवसायमा र महिलाहरू सबै कुरामा अब्बल छन् । परिवार नै गीत–संगीतलाई माया र सम्मान गर्ने स्वभावको छ । त्यो परिवारभित्रका नारी सशक्त, हरेक कुराको ज्ञान भएका र व्यवस्थापन कलामा निपुण भएकाले मैले धेरै कुरा सिकिरहेकी छु । परिवारभित्र रिस, द्वेष र ईर्ष्याको भावना पटक्कै छैन । पुरुषहरूमा नारीलाई खुसी राख्यो भने परिवारमा खुसी र सम्पन्नता छाउँछ भन्ने बुझाइ छ । त्यसैले मलाई कुनै अप्ठ्यारो छैन । अझ बढी माया, साथ, सहयोग र प्रेरणा मिलिरहेको छ । 

संगीतको पछिल्लो ‘ट्रेन्ड’ लाई कसरी विश्लेषण गर्नुहुन्छ ?

समयसँगै हरेक कुरा परिवर्तन भएजस्तै संगीतमा पनि फेरबदल आइरहन्छ, यो प्राकृतिक प्रकृया हो । पहिले सिडी, क्यासेट हुन्थ्यो क्रमशः पेन ड्राइभ हुँदै हामी अहिले प्रविधियुक्त समयमा आइसकेका छौं । अहिले संगीतमा लाग्ने हरेकलाई प्रविधिले सजिलो बनाइदिएको छ । यो क्षेत्र नाम, दाम र प्रतिष्ठा कमाउने राम्रो प्लेटफर्म बनेको छ । कुरा यत्ति हो आफ्नो कला, क्षमता र गायकीलाई आफैंले पनि अपडेट गर्दै लानुपर्छ । 

एउटी महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न के आवश्यकता पर्छ ?

सर्वप्रथम महिला भित्रैदेखि खुसी हुनुपर्छ । हाम्रा हजुरआमा–आमाहरूले आफूलाई अरुको खुसीका लागि त्याग गरे । त्यसरी आफ्नो मन मार्दा पछि गएर पश्चाताप महसुस हुन्छ जस्तो लाग्छ । साना कुरामै किन नहोस् त्यसरी आफूलाई बलिदान दिँदा त्यसको असर र प्रभाव पूरा जीवन र अन्य कुरामा पनि पर्छ । अबका नारीले आफूलाई ‘भ्यालु’ दिने, आफूलाई माया गर्ने, आफ्नो महत्व बुझ्ने र पहिचान बनाउने कुरामा केन्द्रित हुनुपर्छ । खुसी भइयो भने सफल भइन्छ जस्तो लाग्छ । 

जीवन के रहेछ ?

जीवन भनेकै आफ्नो उद्देश्य पत्ता लगाउनु हो भन्ने लाग्छ । जसले सामाजिक, आर्थिक, पारिवारिक रूपमा खुसी र सशक्त बनाओस् । आफूजस्ता दुई–चार जनालाई सहयोग गर्न सकियोस् । 

नयाँ योजना केही छ कि ?

नयाँ गीतहरूको योजनामा छु । केही यात्रा र इभेन्ट गर्ने पनि मेरो तालिकामा छ । 

पाठकलाई के सन्देश छ ?

पछिल्लो समय नारीको परिभाषा परिवर्तित भई उनीहरुको आफ्नै आवाज र अस्तित्व छ । प्रायः महिला कामकाजी र सक्षम छन् । आफ्नो क्षमतामा विश्वास गरेर खुसी भई समाज र राष्ट्रको पाटो फेर्न सक्ने आँट राख्नुहोस् । 

पहिरन : मनीष राई तथा केडिए

स्टायलिस्ट : विनीता तामाङ, सञ्जु श्रेष्ठ र सीमा श्रेष्ठ

ज्वेलरी : ए. एन.एक्स 

हेयर तथा मेकअप : रुस्का बैद्य श्रेष्ठ, आइसीटी स्कुल अफ ब्युटी नक्साल

लोकेसन : वञ्जला मस्कभा, नक्साल

तस्बिर : महेश प्रधान 

 

 Image