Successfully Copied

प्रेमिल जोडी

एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।

एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् । चलचित्र ‘प्रमोसन’ मा सलोन स्टेजमा हुन्थे करिष्मा तल ‘फ्यान’ को भूमिकामा हुन्थिन् । पछि आफूले मन पराएका नायकसँग ‘मोडलिङ’ गर्न उनी राजी भइन् । पाँच वर्षअघि ‘रुम नम्बर १०८’ गीतको ‘म्युजिक भिडियो’ ले उनीहरूलाई परिचय मात्र गराएन दुईबीच साथीको सम्बन्ध पनि झाँगिदै गयो । एउटा असल साथीका रूपमा दुवैको सम्बन्ध अघि बढ्दै गयो । ‘नेपाली बाबु’, ‘होस्टल’, ‘गाजल’, ‘यात्रा’ जस्ता चलचित्रमा अभिनय गर्दै नायकका रूपमा स्थापित सलोन र ‘र्‍याम्प मोडलिङ’ हुँदै नेपाल एयरलाइन्सको ‘क्याबिन क्रु’ का रूपमा अन्तर्राष्ट्रिय उडान भरिरहेकी करिष्माको करियर नै फरक थियो । करिष्माको ‘स्मार्ट’ र ‘फरवार्ड’ व्यवहार सलोनको नजरमा परिसकेको थियो । सलोनको ‘फिजिकल फिटनेस’ र उनको इमान्दारिता करिष्मालाई मन पर्‍यो । सलोन विभिन्न बहानामा करिष्मालाई भेट्न बोलाइरहन्थे । कहिले आफूले गाएको गीत सुनाउन बोलाउँथे त कहिले कामको बहानामा । थानकोटमा दुवैको घर डेढ किलोमिटर दूरीमा मात्र रहेका कारण भेटघाट बाक्लिँदै गयो । उनीहरूले करिब पाँच वर्षको प्रेम सम्बन्धलाई दुई महिनाअघि मात्र वैवाहिक जीवनका रूपमा अगाडि बढाए । 

विवाहपछि भने दुवैलाई थप जिम्मेवारी महसुस हुँदै गएको छ । दुई परिवारबीचको घुलमिलले सम्बन्ध थप प्रगाढ बनाउन सहयोग गरेको सलोनले बताए । उनले भने, ‘पहिले हाम्रो दुई जनाको मात्र सम्बन्ध हो जस्तो लाग्थ्यो भने अहिले त दुई परिवारको सम्बन्ध हो जस्तो लाग्छ ।’ करिष्माले पनि त्यस्तै महसुस गरेकी छन् । दुवैका घरमा बुवाआमाको जिम्मेवारी छ जस्तो लाग्छ उनलाई । विवाह गरेर उनको दैनिकी बदलिएको छैन । आफ्नो काम र पढाइमा उनी केन्द्रित छिन् । विमान परिचारिकाका रूपमा विदेश पुग्ने र घर बस्ने कुनै ठेगान हुँदैन । विमानमा बस्नु, उड्नु करिष्मालाई घरमा बसेजस्तै लाग्छ । ‘खाना, रेस्टुराँ, बाथरुम सबै हुँदा प्लेन नै घर जस्तो लाग्छ । प्लेन हल्लिँदा र यात्रुहरूले फोटो–भिडियो खिच्न थाल्दा मात्र प्लेनमा छु जस्तो लाग्छ’उनले आफ्नो अनुभव सुनाइन् । कहिलेकाहीँ त उनी साताको तीन दिनसम्म बाहिरै हुन्छिन् । उनी विदेशी आकाशमा उडिरहँदा सलोन भने गुगलमा करिष्मालाई खोजिरहेका हुन्छन् । उनले भने, ‘लामो समय सम्पर्क हुन सक्दैन, करिष्मा कहाँ उडिरहेकी छन् भनेर गुगलमा खोज्छु ।’ यो जोडीको अहिलेको मुख्य चुनौती भनेको समय अभाव नै हो । 

दुई जना नै आफ्नो काममा व्यस्त छन् । चाहेको समयमा घुम्न/भेट्न दुवैलाई मुस्किल पर्छ । तर, पनि उनीहरूले एक–अर्काको समस्या र समयलाई ख्याल गरिरहेका हुन्छन् । एक–अर्काको समयलाई बुझेर अगाडि बढ्न सकेमात्र सम्बन्ध थप प्रगाढ हुन सक्ने करिष्माको अनुभव छ । उनलाई सम्बन्ध जोगाउन र लामो समय टिकाउन दुवैजनाको भूमिका आवश्यक हुन्छ जस्तो लाग्छ । उनीहरूले एक–अर्काको आवश्यकता र चाहनालाई पनि सम्बोधन गर्ने प्रयास गरेका हुन्छन् । हलमा गएर चलचित्र हेर्न नरुचाउने करिष्मालाई सलोनले फिल्मबारे धेरै पढाएका छन् । उता, करिष्माको चाहनामा नयाँ–नयाँ रेस्टुराँ जान र फुड टेस्ट गर्न सलोन रुचाउन थालेका छन् । 

सलोनले भने, ‘एक–अर्काको माया–प्रेममा इच्छा र आवश्यकतालाई पनि कदर गर्नुपर्छ । कहिले मेरो रहर उनले त कहिले मैले उनको रहर पूरा गरिहेरहेका हुन्छौं ।’ समय अभावले नै करिष्माले ‘मोडलिङ’लाई धेरै पछाडि छाडिसकेकी छन् । ‘यति माया गर्दा’, ‘नदी’, ‘रुम नं १०८’ गरी चार वटा मात्र ‘म्युजिक भिडियो’मा अभिनय गरेकी छन् । समय मिले ‘मोडलिङ’ लाई निरन्तरता दिने उनको चाहना छ । 

मेकअप तथा हेयर : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी, नयाँ बानेश्वर

पहिरन : अर्चना अर्याल बुटिक, कुपन्डोल 

लोकेसन : द स्ट्रान्ड लाउन्ज एण्ड बार, पुरानो बानेश्वर

 Image