Successfully Copied

ताल घुम्ने ?

नेपाल प्राकृतिक सौन्दर्यको थलो हो । यहाँ घुम्नका लागि थुप्रै प्राकृतिक सम्पदाहरू छन् । पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्रमध्ये एक हो, ताल पर्यटन । नेपाल भूपरिवेष्ठित देश भएकाले यहाँका तालहरूलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

नेपाल प्राकृतिक सौन्दर्यको थलो हो । यहाँ घुम्नका लागि थुप्रै प्राकृतिक सम्पदाहरू छन् । पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्रमध्ये एक हो, ताल पर्यटन । नेपाल भूपरिवेष्ठित देश भएकाले यहाँका तालहरूलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । भौगोलिक नक्सानुसार यहाँ पाँच हजार तीन सय ५८ वटा ताल छन् । तीमध्ये दश वटाजति त रामसार क्षेत्रमै सूचीकृत छन् । नेपालका प्रसिद्ध तालहरूमा कोशी टप्पु, पोखरा क्षेत्रका नौ वटा, घोडाघोडी, बीसहजारी, गोसाइँकुन्ड, शे–फोक्सुन्डो, रारा, तिलिचो, पाँचपोखरी तथा छो रोल्पा ताल रहेका छन् । त्यस्तै, बझाङको सुर्मा सरोवर, खप्तडको ताल, बाजुराको बूढीनन्दा, छेडे दह र रुकुमको बाह्रकुने पनि चर्चित तालहरूमै पर्छन् ।

रारा 

मुगु जिल्लामा अवस्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । यो ताललाई जंगलले वरिपरि घेरेको छ । समुद्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको यो ताल दश वर्गफिटमा फैलिएको छ । यो ताललाई रारा दह पनि भनिन्छ । यो तालको प्रमुख विशेषता भनेको यसले घामको किरणअनुसारको रंग बदल्छ । ती रंगहरूले जोकोहीको मन लोभ्याउँछन् । ताल वरिपरि फैलिएको घाँसेमैदान र कोणधारी हरियो वनले थप आकर्षण बढाएको छ । उत्तरतर्फ लस्करै हिमशृंखला देख्न सकिन्छ । 

रारा जान हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीसम्म पुग्न सकिन्छ । नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुग्नुपर्ने हुन्छ । त्यहाँबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुगिन्छ । त्यसबाहेक सुर्खेतबाट पनि रारा तालसम्मको यात्रा गर्न सकिन्छ । 

बीस हजारी 

चितवनमा पर्ने बीस हजारी ताल बरन्डाभार जंगलभित्र रहेको छ । यो ताल विभिन्न राष्ट्रबाट बसाइ सरेर आउने मौसमी चराहरूको आश्रयस्थल पनि हो । त्यसैले यहाँ विभिन्न प्रजातिका पशुपंक्षीको दैनिकी नजिकबाट नियाल्न सकिन्छ । धरै प्रचारप्रसार नभएको यो ताल रामसार क्षेत्रमा सूचीकृत भएसँगै पर्यटकको नजरमा पर्न थालेको हो । धेरैजसो पर्यटक जलचर, चराचुरुङ्गी र जंगली जनावर हेर्न यहाँ पुग्छन् । ३२ सय हेक्टरमा फैलिएको यो ताल दुर्लभ वन्यजन्तुदेखि बाघ, गैंडाहरूपानी खान आउने ठाउँ हो । यो ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी तालका रूपमा परिचित भएको हो । 

जखेरा 

दाङ जिल्लामा पर्ने यो तालमा वर्षैभरी चहलपहल हुन्छ । यो ताल चुरे पहाडको फेदीमा छ । मनमोहक दृश्यले भरिएको यो ताललाई उत्तर र पश्चिम दिशामा जंगलले घेरेको छ । थारु समुदायको बाहुल्यता रहेको यो ठाउँमा यही भाषाबाट तालको नामाकरण गरिएको हो । आकाशबाट परेको पानी जम्मा भएकोलाई थारु भाषामा जखेरा भनिन्छ । विशेषगरी दसैं–तिहारपछि २–३ महिनासम्म यहाँ पिकनिक खानेको भीडभाड हुन्छ । यहाँ माघे संक्रान्ति र शिवरात्रिमा भव्य मेला लाग्छ । यो ताल महेन्द्र राजमार्गमा पर्ने लमही बजारदेखि पाँच किलोमिटर पूर्वमा पर्छ । 

पाँचपोखरी

सिन्धुपाल्चोकस्थित पाँचपोखरी पाँचवटा पोखरीहरूको संगम हो । यहाँ एउटा ठूलो र अन्य स–साना पोखरीहरू छन् । वरिपरि घाँसेमैदानले घेरिएको यो पोखरी प्रकृतिको अनुपम उपहार हो । विश्वकै उच्च ‘अल्टिच्युड’ मा रहेको यो ताल समुद्री सतहबाट चार हजार एक सय मिटरमाथि रहेको छ । यो ताल धार्मिक रूपमा पनि उत्तिकै प्रख्यात छ । जनैपूर्णिमामा यहाँ मेला लाग्ने हुँदा पर्यटकहरूको घुइँचो लाग्छ । यहाँबाट जुगल, लाङटाङ, रोलवालिङलगायतका हिमालहरूको दृश्य राम्रोसँग देख्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो तालको भ्रमण गर्न बाह्रै महिना उपयुक्त मानिन्छ । तर, असोज–कार्तिक भने यो ताल अवलोकन गर्ने उपयुक्त महिना हुन् । पुस–माघमा हिउँ पर्ने भएकाले यहाँका आसपासको दृश्य अझ मनमोहक देखिन्छ । मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ । काठमाडौंबाट मेलम्चीसम्म सजिलै गाडी पाइन्छ । 

घोडाघोडी 

कैलालीस्थित घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृत भएसँगै पर्यटन प्रवर्द्धन हुन थालेको हो । बहुमूल्य प्रजातिको साल, औषधीय गुण भएको सतीसाल, साज र खयरको घना जंगल छिचोलेर यो ताल पुग्नुपर्छ । यो तालमा जाडो छल्नका लागि विभिन्न देशबाट चराचुरुङ्गी आउँछन् । चराहरूको चिरबिर आवाजले तालको रौनक अझ बढाइदिन्छ । यो ताल रैथाने प्रजातिको माछा, दुर्लभ रातो टाउके कछुवा, दुर्लभ गोहीको प्रजनन स्थल पनि हो । करिब चार मिटरको गहिराइ भएको यो ताल १३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालको मुख्य आकर्षण भनेको यसको आसपासमा रहेका स–साना तालहरू हुन् । यी तालहरू आपसमा जोडिएका छन्, जुन निकै आकर्षक देखिन्छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट ५३ किलोमिटर पूर्वमा यो ताल पर्छ । 

रूपा ताल

सूर्यको किरणसँगै पानीको रंग बदल्ने भएकाले यो ताललाई रूपा ताल भनिएको हो । कास्की जिल्लामा पर्ने यो ताल पोखराको एक प्रमुख आकर्षक गन्तव्यमा पर्छ । यो ताल घुम्न जानेहरूले नौका विहारको आनन्द पनि लिन्छन् । यो तालमा माछापालन गरिएको छ । यहाँ पाइने टिपालिया प्रजातिका माछाबाहेक अधिकांश माछा रैथाने प्रजातिका हुन् । यो तालमा विभिन्न प्रजातिका चराहरू पाइन्छन् । 

बर्जु 

सुनसरी जिल्लास्थित बर्जु प्राकृतिक र सिमसार क्षेत्र हो । यो ताललाई चिमाडी तालको नामले समेत चिनिन्छ । यो ताल प्रदेश एकको सबैभन्दा ठूलो ताल हो । १५२ बिघा क्षेत्रफलमा फैलिएको यो ताल प्रवासी चराहरूको वासस्थान हो । यो तालमा पिकनिक जानेदेखि विभिन्न अध्ययन–अनुसन्धानका लागि पुग्नेहरू धेरै हुन्छन् । यो तालमा नौकाविहार पनि गर्न सकिन्छ । यो विराटनगरबाट १२ किलोमिटर मात्रै टाढा छ । 

लोहजारा

सप्तरी जिल्लास्थित लोहजारा तालमा पछिल्लो समय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । चुरे जंगलले घेरिएको यो ताल मनमोहक छ । ११ दशमलव ९ हेक्टर क्षेत्रफल ओगटेको यो तालमा रहु, नैनी, भाकुर, बिघेट, सिल्भर, कमन जातका माछाहरू पाइन्छन् । तालको बीच भागमा रहेको मन्दिरले थप सौन्दर्य र आकर्षण बढाएको छ । पूर्व–पश्चिम लोकराजमार्गअन्तर्गत सप्तरीको महुली पुलदेखि दक्षिण पाँच किलोमिटर र बरमझिया सुब्बाटोलबाट १० किलोमिटर पश्चिम ग्राभेल बाटोमा मोटरमै सरर्र यो तालमा पुग्न सकिने अर्को बाटो हो । 

सुनदेवी 

झापा जिल्लास्थित सुनदेवी ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । धार्मिक महत्व बोकेको यो तालमा सुनदेवी मन्दिर छ । वरिपरि वनजंगले घेरेको यो ताल चुरेको फेदमा छ । तालको पानी एकनासले पहेंलो रंगको देखिने भएकाले यसलाई सुनदेवी ताल भनिएको हो । तालको वरिपरि घना जंगल भए पनि तालमा एउटै पातपतिंगर खसेको पाइँदैन । तालका वरिपरि पाटे बाघका पदचिन्ह जताततै देख्न सकिन्छ । मयूर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेसलगायतका चराको चहलपहलले प्रकृतिको अनुपम आनन्द दिन्छ । 

बाँदर, लगुना, मृग, बँदेल आदि बाटोमै भेटिन्छन् । 

 Image