डिजिटल साक्षरता र सुरक्षा

करुणा देवकोटा

फाल्गुन १४, २०७९

तपाईंकी छोरी पत्रकार होइन बहिनी, लौन मलाई भेटाइदिनुस् न ।’

सात वर्षअघि चितवनबाट पत्रकारिता गरिरहँदा मेरो घरमा आएकी अधवैंसे उमेरकी छिमेकी आन्टीले मेरी ममीसँग गरेको अनुरोध हो यो । 

ममीले सोध्नुभएछ–‘किन र दिदी ? के काम थियो ?’

‘नानीलाई नै भेटेर भन्छु ।’

‘नानी त अहिले अफिस गएकी छे, भरे सात बजेतिर आउनू, भेट हुन्छ ।’

‘त्यो दिन बेलुका साढे सात बजेतिर ती आन्टी आउनुभयो । उहाँ हतास देखिनुहुन्थ्यो । मलाई देख्नासाथ आफ्नो मोबाइल मेरो हातमा थमाउँदै उहाँले घटनाको बेलिबिस्तार लगाउनुभयो ।’

भएको के रहेछ भने आन्टीकी छोरीले दुबईबाट आइफोन पठाएकी रहिछन् । फोन हात परेपछि छोरीकै आग्रहमा चोकको मोबाइल पसल गएर आन्टीले फेसबुक आइडी बनाइ माग्नुभएछ । पसलेले आइडी बनाइदिएर फेसबुक चलाउन पनि अलिअलि सिकाइ दिएछन् । सामान्य लेखपढ गर्नसक्ने आन्टीले बिस्तारै सामान्य फेसबुक, म्यासेन्जर चलाउन सक्ने हुनुभएछ । भर्खर–भर्खर फेसबुक चलाउन सिकेकीले होला, आन्टीलाई लाइक, कमेन्ट र धेरै साथी बनाउने लोभले मात्रै तानेन, नचिनेकालाई पनि साथी बनाउन कुनै संकोच लागेन । 

नचिनेरै फेसबुकमा साथी बनेको एउटा अधवैसे केटाले सुरुसुरुमा लाइक, कमेन्टबाट सुरु गरेको आन्टीसँगको कुराकानीको सिलसिला म्यासेन्जरसम्म पुग्यो । सुरुमा राम्रै कुरा गरेकाले आन्टीलाई पनि त्यो मान्छे राम्रै लाग्यो र कुराकानीमा रस बस्यो । तर, त्यही मान्छेले बिस्तारै यौन आशय झल्किने कुराकानी गर्ने, अश्लिल फोटो र भिडियो पठाएर बारम्बार भिडियो कल गर्न थालेपछि भने आन्टीको मुटुमा ढ्यांग्रो ठोकेछ । त्यसैले त्यो मान्छेलाई फेसबुकमा नदेखिने बनाउन मिल्छ कि भन्ने आशा बोकेर आन्टीले मलाई भेट्न खोज्नुभएको रहेछ । 

उहाँको कुरा बिस्तारमा सुनेपछि यो आपराधिक काम भएकाले तुरुन्तै त्यो मान्छेविरुद्ध प्रहरीमा उजुरी गर्न सुझाएँ । तर, प्रहरीकोमा जाँदा उल्टै आफ्नो बेइज्जत हुने, छोराछोरीले थाहा पाए आफैंलाई नराम्रो सोच्ने डरले आन्टी उजुरी गर्नै हच्किनुभयो । आन्टीलाई कानुनी प्रक्रियामा जान मनाउन नसकेपछि त्यो मान्छेलाई उहाँको फेसबुकबाट ब्लक गरेर आन्टीलाई शान्त तुल्याएँ । 

कतिलाई लाग्ला, सात वर्ष पुरानो घटना अहिले सुनाएर के काम ? तर, यस्ता घटना आज पनि उत्तिकै सान्दर्भिक मात्रै हैन, बढ््दो मात्रामा छन् । 

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस, ‘डिजिटअलः इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने नारामा केन्द्रित रहेर मनाइरहँदा, मलाई तिनै आन्टी र उहाँहरू जस्तै अन्य कति होलान् भनेर त्यो पुरानो घटनाको सम्झना भयो । नेपालमा डिजिटल माध्यमको पहुँच दिनप्रतिदिन बढ्दो छ । पहुँच बिस्तारसँगै ‘भर्चुअल’ दुनियाँमा सबै उमेर समूहको बढ्दो क्रेजले अनलाइनकै सहयताले डिजिटल ठगी, अपराध, यौन दुर्व्यवहार तथा हिंसाका घटना पनि बढिरहेका छन् । 

तीमध्ये पनि डिजिटल माध्यमको प्रयोग गरेर बालिका, किशोरी तथा महिलालाई शारीरिक, मानसिक तनाव दिनुका साथै यौन दुर्व्यवहार तथा हिंसा गर्ने प्रवृत्ति व्याप्त छ । जसले पीडितका लागि न्याय प्राप्तिको प्रक्रिया जटिलतासँगै अनिश्चित बनाएको छ भने यसको मारमा महिला र बालिकाहरू बढी परिरहेका छन् । तर दुर्भाग्य कथित सामाजिक इज्जत र जटिल न्याय प्रणालीका कारण घरेलु, लैंगिक तथा सामाजिक हिंसामा जस्तै डिजिटल हिंसाका घटनाविरुद्ध पनि खुलेर बोल्न, घटनाविरुद्ध उजुरी गर्न, कानुनी प्रक्रियामा जान धेरैका लागि चुनौतीपूर्ण छ । 

यद्यपि, यस्ता घटना उपर नेपाल पुलिसको साइबर ब्युरोमा निवेदन दर्ता नभएका होइनन् । दर्ता भएका निवेदनका प्रकृति र संख्यात्मक विवरणले पनि डिजिटल हिंसाको मारमा बालिका र महिला कति पीडित छन् भन्ने देखाउँछ । 

नेपाल प्रहरीको साइबर ब्युरोमा परेको एउटा घटनालाई यहाँ जोड्न मन लाग्यो । एकजना युवतीले प्रयोग गर्दै आएको मोबाइलमा अचानक देशविदेशबाट फोन आउन थाल्यो । फोन रिसिभ गर्दा उनलाई सोधिने प्रश्न हुन्थ्यो, ‘तिमी एकरात बिताएको कति रकम लिन्छ्यौ ? म तयार छु ।’ साथमा अन्य थुप्रै अश्लिल कुराकानी । आफूलाई बारम्बार यस्तै फोन आउने क्रम बढेपछि फोन गर्नेमध्ये एकजनालाई उनले सोधिन्, ‘मेरो नम्बर कसरी पाउनुभयो ?’ त्यसपछि मात्रै उनलाई थाहा भयो, कसैले उनको नम्बर स्टडी म्याटेरियल नामक म्यासेन्जर ग्रुपमा राखिदिएको रहेछ । त्यो नम्बर त्यो ग्रुपमा कसले र किन राखिदियो उनलाई थाहा छैन । तर त्यो घटनाले उनलाई मानसिक तनाव दिएका कारण उनले प्रहरीमा निवेदन दिइन् । 

ब्युरोमा दर्ता भएका साइबर अपराधसम्बन्धी उजुरीको पछिल्लो साढे चार वर्षको तथ्यांकले के देखाउँछ भने ०७५/७६ मा निवेदन परेका साइबर अपराधका कुल ३ सय ५७ घटनामध्ये १० वटा घटनाका पीडित बालिका छन् भने १ सय ९४ घटनामा महिला पीडित छन् । बालिका र महिलामाथि हुने डिजिटल दुर्व्यवहार तथा हिंसाको उजुरी ०७८/७९ मा बढेर ४ हजार ६ सय ८६ पुगेको छ । जसमध्ये बालिकासम्बन्धी उजुरी १ सय ४२ छन् भने महिला पीडित भएका उजुरी २ हजार ३ सय ८९ छन् । 

यो क्रम पछिल्लो आर्थिक वर्षमा झनै बढ्ने देखिन्छ । चालु ०७९/८० को ७ महिनामा परेका कुल ३ हजार ५ सय ६७ उजुरीमध्ये बालिका पीडित भएका उजुरी ५५ वटा छन् भने महिला पीडित भएका उजुरी १ हजार ८ सय ५२ वटा छन् । ०७५/७६ यताका ५५ महिनामा ब्युरोमा परेका यी सबै उजुरीहरू केलाउँदा औसतमा प्रत्येक महिना २ सय ६९ वटा उजुरी परेको देखिन्छ । जसमध्ये बालिका र महिला पीडित भएका उजुरी औसतमा मासिक १ सय ४६ वटा देखियो । 

यो तथ्यांकले साइबर हिंसामा पर्ने बालिका र महिलाको संख्या कति ठूलो छ भन्ने देखाउँछ । साथै, माथि उल्लेख गरिएको घटनाकी आन्टीजस्तै अन्य कति बालिका, किशोरी र महिलाहरू होलान्, जसले व्यक्तिगत मर्यादा, पारिवारिक इज्जत, सामाजिक प्रतिष्ठा आदिको डरले त्यस्ता घटनाविरुद्ध उजुरी गर्न डराउँछन्, हिच्किचाउँछन् । त्यस्ता घटनाको संख्या हाम्रो अनुमानभन्दा बाहिर छ । कतिलाई त आफूलाई अनलाइन दुर्व्यवहार भइरहेको छ भन्नेसम्म थाहा हुँदैन । थाहा भएर न्याय प्राप्तिको प्रक्रियामा गएकाहरूले पनि के–कस्ता जटिलता, शारीरिक तथा मानसिक हैरानी बेर्होनुपरेको छ,, हामीले खासै चासो दिँदैनौं । 

तर हामीले कहिल्यै सोचेका छौं, यस्ता घटना वृद्धि हुँदै जानुको कारण के हो ?

डिजिटल साक्षरताको कमी 

लैंगिक समानताका लागि डिजिटल प्रविधिको विकास, बिस्तार र पहुँच बालिका/किशोरी तथा महिलाहरूमा बढाइरहँदा, पहुँचमा नै भएकाहरूलाई त्यस्ता प्रविधिको प्रयोग किन र कसरी गर्ने, यस्ता प्रविधिको प्रयोगबाट हामीले कसरी व्यक्तिगत, व्यावसायिक, सामाजिक फाइदा लिन सक्छौं भन्ने ज्ञानको अभाव छ । जसले गर्दा धेरैका लागि डिजिटल प्रविधिको प्रयोग सामान्य गफगाफ गर्ने, मनोरञ्जन लिने माध्यमबाहेक अन्य कुरामा पनि हुन्छ भन्ने सामान्य ज्ञान समेत छैन । 

बरु उल्टै गफगाफ र मनोरञ्जनमा भुलिरहँदा कल्पनासम्म नगरेको डिजिटल यौन दुर्व्यवहार र हिंसासँग जुध्न उनीहरू बाध्य छन् । अझ कति डिजिटल हिंसासम्बन्धी घटनाका प्रमाणहरू कसरी सुरक्षित राख्ने भन्ने बारेमा जानकारसम्म छैनन् । डिजिटल सारक्षता, अनलाइन सुरक्षाको कमी आदिले एउटा गल्ती गर्दा, त्यही गल्तीको लहरोले पारिवारिक तथा वैवाहिक जीवनमा कलह निम्त्याएका थुप्रै घटना छन् । 

यसैको उदाहरण हो, नेपाल प्रहरीको साइबर ब्युरोमा ०७९ को भदां ११ मा दर्ता भएको अर्को उजुरी । निवेदक एबिसी (परिवर्तित नाम) ले फेसबुक चलाउने क्रममा हरि क्षेत्री नाम गरेको मान्छेको फ्रेन्ड रिक्वेस्ट एसेप्ट मात्र गरिनन्, कुराकानीको सिलसिला सुरु गरेर प्रेम सम्बन्धमा समेत परिन् । फेसबुकमा बनेको सम्बन्ध भेटघाटसम्म पुग्यो । भेटघाटकै क्रममा क्षेत्रीले एबिसीलाई थाहै नदिई उनको फेसबुक आइडी, पासवर्ड र एबिसीको आफ्नो श्रीमान्सँग भएको म्यासेन्जरको कुराकानी, अश्लिल फोटो तथा भिडियो आफ्नो फोनमा सुरक्षित राख्यो । 

त्यतिमात्रै नभई तिनै सुरक्षित सामग्रीलाई डर, धम्की देखाउने माध्यम बनाएर एबिसीसँग यौन सम्बन्ध पनि राख्यो । आफूसँग राखेको शारीरिक सम्बन्धका तस्बिरहरू पनि खिचेर भेट्न बोलाउने, समयमा भेट्न नजाँदा गाली गर्ने क्षेत्रीलाई पछि एबिसीले सबै सामाजिक सञ्जाल तथा मोबाइलमा पनि ब्लक गरिदिइन् । तर क्षेत्रीले उनलाई दिने तनाव भने कम भएन । उल्टै एबिसीको श्रीमान्लाई आफूले सुरक्षित राखेका अश्लिल तस्बिर, भिडियो पठाउनुका साथै आफन्तीलाई पनि ती तस्बिरहरू पठाउने धम्की दिएर चरित्र हत्या गरिरह्यो । त्यसैले क्षेत्रीलाई प्रचलित कानुनअनुसार कारबाही र सजायको माग गर्दै एबिसीले निवेदन दर्ता गरिन् । 

डिजिटल प्रविधिको बिस्तार गर्दै लैंगिक समानता बढाउने उद्देश्य राखिरहँदा समाजमा व्याप्त यस्ता घटनाले डिजिटल दुनियाँमा हाम्रो प्राथमिकता के कुरालाई बनाउनेतर्फ पनि इंगित गर्छ । त्यसैले पनि यस्ता प्रविधिको पहुँच बढाइरहँदा, पहुँचमै भएकाहरूबीच डिजिटल साक्षरतासँगै सुरक्षा चेतना बढाउँदै लैजानु चाहिँ सुनमा सुगन्ध हुन्छ कि ?

@karuna_devkota

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>