जेनिशाको ‘लस्ट लेटर्स’
फाल्गुन १९, २०७९
अस्ट्रेलिया बस्ने नेपाली जेनिशा मानन्धरले हालै ‘लस्ट लेटर्स’ उपन्यास बजारमा ल्याएकी छन् । उनको यो उपन्यास काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा आदिले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको धारणा व्यक्त गरिन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया–ममता गुमाउँदै गएको बताइन् ।
समारोहमा साहित्यकार इन्दिरा प्रसाईंले जेनिशालाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा बधाई दिँदै ‘एमाजन’ जस्तो संस्थाले नेपालीको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताइन् ।
‘लस्ट लेटर्स’ मा समावेश कथालाई विभिन्न कालखण्डहरूसहित पस्किएको छ । अंग्रेजीमा लेखिएको उपन्यास भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिको प्रेम कथा हो ।
‘काठमाडौंको झोंछे सधैं एउटा त्यस्तो ठाउँका रूपमा रहेको छ, जहाँ म मेरा साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचारहरू उनीहरूसँग छलफल गर्न मन पराउँछु । हरेक पटक म त्यहाँ पुगेर साथीहरूलाई पर्खिएर बस्दा वरपरका मानिसलाई हेर्छु र उनीहरूकै कथाहरू बनाउँछु ’लेखिका जेनिशाले भनिन्, ‘मैले लेखेका धेरै कथाहरूका लागि यो सहर प्रेरणादायी भएको छ । कुनै बेला मैले ‘काठमाडौं नाउ एण्ड देन’ नामक प्रोजेक्टमा काम गरेकी थिएँ । त्यतिबेला मैले यो सहरका केही पुराना तस्बिरहरू हेर्दै थिएँ । त्यहीँबाट यो उपन्यास लेख्ने पहिलो विचार फुरेको हो । त्यसपछि त्यही विचारले कथा बन्दै उपन्यासको स्वरूप लिएको हो ।’
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्