सत्ता नाटक

डा. रजनी ढकाल

फाल्गुन २४, २०७९

 

तिम्रो फरक मत

रोकावटको अग्लो हो कि

साँझबत्तीको उज्यालो ?

बगिरहने समयको गति  

किन छेकीबस्छौ महोदय ?

अँध्यारोको खोल ओढेर

उज्यालोलाई छोप्न खोज्दै

विमतिका नाउँमा कुतर्क बोकेर

नौटङ्की शब्दझेलमा

रोप्न खोज्दैछौ कुन अवतार ?

सत्ता नाटकको बदलिरहने दृश्य

पटक–पटक मञ्चन गरिरहेछ कथिक बौद्धिकता

जसरी चियाका कप–कपबाट उडिरहेछ समय

उसैगरी उपवेशमा बाझिरहेछन् प्रज्ञावान् विचारहरू

प्रिय मित्रहरू,

स्वीकार गर्नै नचाहने सत्यसँग

बुझेर पनि बुझ पचाइरहने

आवेगी आडम्बरका कृत्रिम सूक्तिहरू

सुनाइरहनू गाँठो परेको निकासहीन भीडलाई

जहाँ रहने छैन मातृजातिको कुनै अस्तित्व

ठोकिरहनू आफ्नै शक्तिको डम्फु

बोकिरहनू पुरुषसत्ताको सपना

बुनिरहनू सुन्दरी भोगको चाहना

अनि सम्भोग गरिरहनू मृत समयसँग

बनाइरहनू लिलिपुटे विचारको साम्राज्य

र बनिदिनू

कठपुतला समयको बादशाह

सत्ताको बैसाखी आडमा

ढुलमुल–ढुलमुल गर्दै

आवाजमा पाइन चढाइरहने पौरखी मित्रहरू

पखेटा लागेका सपनासँग उडिरहेछन् तिम्रा सन्तानहरू

शिक्षण गर रित्ता कक्षाकोठाहरूलाई

भाषणमा गर प्रज्ञामन्दिरको विकास

अनि शासन गरिरहू

अनन्त कालसम्म

उनै महान् सहिदहरूलाई

समयको बन्दी पर्खालभित्र

सत्ता, शक्ति र भोगको एकोहोरो लिप्सा

गाँजिइरहेको ऐजेरुझैं विषाक्त छ

खिल पल्टेको समयले

विकल्प खोजिरहेछ   

दृष्टिकोणहीन गठबन्धनका विरुद्ध उदाउन  

फालेर ऐठन

च्यातेर हठी पर्दाहरू

नेतृत्वमा लाम लागिरहेको

उही पुरानो परिचयलाई

च्वाट्ट–च्वाट्ट काटेर

निकास खोजिरहेछ प्राकृतिक प्रवाह

आऊ फरक शक्तिहरू

लडौं यो ज्यादतीका विरुद्ध

खोजौं नयाँ उज्यालो

जहा भेटिन्छ न्यायको सुन्दर सन्देश

र भोग्नुपर्दैन कुनै पनि विभेदका आभासहरू

तोड, भत्काऊ यी बेमेल पर्खालहरू

ठुन्क्याऊ औपनिवेशिक नेलहरू

उठ, जाग र बनाऊ

एउटा सुन्दर संसार ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>