Successfully Copied

सशक्त जोडी

एन.पी. र ज्योत्सनाको २३ वर्षअघि चिनजानका एक साथीमार्फत भेटघाट भएको थियो । ‘सुरुवाती दिनमा कामका कुराकानी भए । त्यसपछि क्रमशः भेटघाट बाक्लिँदै जान थालेपछि कुराकानी र काम गर्ने तौरतरिका मन पर्दै जान थाल्यो ।



परराष्ट्रमन्त्री एन.पी. साउद र ज्योत्सना साउदको जोडीलाई राजनीतिक वृत्तमा सशक्त जोडी मानिन्छ । नेविसंघ विद्यालय इकाइको सचिव, स्ववियु सदस्य हुँदै २० वर्षको उमेरमै केन्द्रीय सदस्य र २८ वर्षमा केन्द्रीय सभापति भएका साउद नेपालको राजनीतिमा निकै खारिएका परिपक्व नेता मानिन्छन् । विश्व हिन्दू महासंघको वरिष्ठ उपाध्यक्ष, रुडुकको महासचिव तथा बर्न भिक्टिमका लागि काम गर्ने संस्था बिभिएस नेपालको बोर्डमा रहेर चौतर्फी रूपमा काम गरिरहेकी ज्योत्सना साउद पनि सामाजिक क्षेत्रमा चर्चित नाम हो । एन.पी. र ज्योत्सनाको २३ वर्षअघि चिनजानका एक साथीमार्फत भेटघाट भएको थियो । ‘सुरुवाती दिनमा कामका कुराकानी भए । त्यसपछि क्रमशः भेटघाट बाक्लिँदै जान थालेपछि कुराकानी र काम गर्ने तौरतरिका मन पर्दै जान थाल्यो । ज्योत्सनाको फरासिलो स्वभाव र हँसमुख रहनसक्ने बानी राम्रो लाग्न थाल्यो ।’ एन.पी. भन्छन्–‘सात वर्षको सम्बन्धपछि हाम्रो विवाह भयो । आजसम्म आपसी समझदारी र विश्वासमा हाम्रो सम्बन्ध खुुसीसाथ अघि बढिरहेको छ ।’ प्रेमसम्बन्धमा हुँदा पनि एन.पी.को स्वभावमा जिम्मेवारी बढीर देखावटीपन कम भएको ज्योत्सना सम्झन्छिन् । विवाहपछि नयाँ घर, नौला नातासम्बन्ध, पृथक् चालचलन भएपनि श्रीमान्प्रतिको माया र विश्वासले आफूलाई सबैतिर सहज बनाउँदै लगेको उनको भनाइ छ ।
विवाहपछि आफ्नो जीवन सुव्यवस्थित भएको, थप शक्ति प्राप्त भएको बताउँदै एन.पी. भन्छन्–‘दुई व्यक्ति एक भए पनि अवश्य चुनौती थपिन्छन् तर ती दुवैका साझा दायित्व बन्छन् । परिवार समाजको आधारभूत इकाइ हो, परिवार मिलेरै समाज बन्ने हो जसले मानव जीवनलाई पूर्णतातर्फ डो¥याउन मद्दत गर्छ । यद्यपि मान्छेको जीवन पूर्ण भने छैन, किनभने मान्छे सम्पूर्ण रूपमा सदा सुखी हुन सक्दैन, र पनि खुसी आफैंले, आफ्नो व्यवहारले बनाउने हो ।’ दाम्पत्य सम्बन्धलाई एन.पी. समग्रतामा हेर्छन्, स–साना कुरा उनलाई चाकडी गरेजस्तो बोझिला लाग्छन् । र पनि उनलाई श्रीमतीको हकमा असाध्यै इमान्दार, मायालु र प्रिय श्रीमान्का रूपमा बा“च्ने चाहना छ । प्रेम स्वतन्त्र भावना हो भने विवाह विविध दायित्व हो भन्ने उनले बुझेका छन् । ज्योत्सना नवदुलही हुँदा स–साना कुरा गरिदिए पनि खुसी लाग्थ्यो तर अहिले भने उनले श्रीमान्को स्वभाव, व्यस्तता र मुलुक बनाउने जिम्मेवारी राम्ररी बुझेकैले त्यसैमा अभ्यस्त हुँदै गएकी छिन् । भन्छिन्–‘नेतासँग विवाह गरेपछि घरैमा ठूलो जागिर हुन्छ । उहाँ मन परेपछि उहाँका बानी मात्रै होइन, उहाँसँग जोडिएका हरेक कुरा मन पर्न थाले, त्यसैमा खुसी छु । अहिले हरेक जिम्मेवारीमा इन्जोय गरिरहेकी छु ।’ नेताको घरको चालचलन र व्यवहारलाई ढपक्क ढाकेर सम्हालेर बस्नु चानचुने कुरा होइन, यसमा ज्योत्सनाको क्षमता र दक्षता प्रस्टै देखिन्छ, ज्योत्सनाको यही आँट र धैर्यले एन.पी.लाई नतमस्तक बनाएको छ । यी दम्पतीका दुई सन्तान निहार र निहारिकाको आगमनपछि दुवैजना बढी जिम्मेवार र दयालु बनेको पनि उनीहरूले बताए ।

शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिंचाइ मन्त्री हुँदै अहिले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिरहेका एन.पी.को यो कार्यकालमा थुप्रै द्विपक्षीय भ्रमण सम्पन्न भइसकेका छन् । बेलायती राज्याभिषेकमा सहभागी हुनेदेखि लिएर संयुक्त राष्ट्रसंघको साधारण सभा, बैंककको बिमस्टेकको बैठक, जेनेभा, अजरबैजान, भारत, श्रीलंका, चीन आदि मुलुकमा सम्पन्न कूटनीतिक सभा–सम्मेलनमा सहभागी भएर बहुआयामिक विषयमा छलफल गर्ने, जलवायु परिवर्तन तथा व्यापार–व्यवसाय र शान्ति प्रक्रियाका मुद्दामा द्विपक्षीय सम्बन्ध बलियो बनाउने काममा महत्वपूर्ण पहल भइरहेको उनी बताउँछन् । ‘अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो नहुँदा बहुआयामिक जोखिम आइपर्न सक्ने भएकाले यतातर्फ ध्यान दिइएको हो । भारतसँग दीर्घकालीन व्यापार सम्झौताका लागि दु्रत गतिमा काम भइरहेको छ । समुद्र पृथ्वीको साझा सम्पत्ति भएकाले समुद्र नभएका देशको पनि यसमा पहुँच हुनुपर्छ भन्ने कुरा उठाइएको छ । पोर्चुगलमा नयाँ दूतावास खोलिएको छ । कन्सुलर शाखालाई सहज र दु्रत सेवा प्रदायक बनाइएको छ । नेपालमा ब्युरोक्र्याटिक झन्झट नियन्त्रण गरिनुपर्छ र लगानीका क्षेत्र सजिलो र सुनिश्चित गरिनुपर्छ ।’ आफ्ना कार्यकालमा भएका र भइरहेका कामबारे एन.पी. भन्छन्–‘संयुक्त राष्ट्रसंघको सभामा तीनवटा विषयमा हामीले बलियो रूपमा आवाज उठायौं, पहिलो शान्ति प्रक्रिया, विकसित मुलुकबाट कम विकसित मुलुकलाई सहयोग र जलवायु परिवर्तनका मुद्दा । यसको दीर्घकालीन प्रभाव पर्ने पक्का छ । नेपालको परराष्ट्र नीति सन्तुलित र व्यावहारिक रूपमा अघि बढिरहेको छ ।’ आमाको नाममा नागरिकता, राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला आरक्षण, छोरासरह सम्पत्तिमा समान हकलगायतका महिला मुद्दालाई व्यवस्थापिका सांसदबाट पारित गर्ने पहलमा पनि एन.पी. को महत्वपूर्ण भूमिका छ । देश बनाउने अभियानमा कटिबद्ध उनी आफू सफल हुनुको श्रेय श्रीमतीलाई दिँदै भन्छन्–‘मेरो घरपरिवार, बालबच्चा, कार्यकर्ता व्यवस्थापनमा उनको मेहनत र समयको म आँकलनै गर्न सक्दिन । त्यसो नहुँदो हो त म यो स्थानमा पुग्न हम्मे पर्ने थियो ।’
ह्दयमा सेवाभाव पालेकी ज्योत्सनालाई भने समाजसेवामै जीवन बितोस् भन्ने लाग्छ । यसमा श्रीमान्को साथ र सहयोग धेरै भएको उनले बताइन् । आपसी समझदारी, प्रेम र विश्वासले वैवाहिक सम्बन्धलाई बाँधेर राख्ने यो जोडीको तर्क छ । दुवै एकै स्वरमा भन्छन्–‘भेटेकै दिनदेखि हामी सम्बन्धमा पूर्णरूपमा इमान्दार र प्रतिबद्ध थियौं । आजसम्म पनि हामी त्यो कुरालाई अनुसरण गर्दै खुसीका साथ जीवन अगाडि बढाइरहेका छौं । अन्य झिनामसिना कुरा जीवनमा आउँदै–जाँदै गर्छन् । मूलतः एकले अर्काको भावना बुझेर अगाडि बढ्नुमै दाम्पत्य सुख छ ।’

ज्योत्सनाको नजरमा एन.पी.
बलियो पक्ष ः शान्त र धैर्य ।
कमजोरी ः सम्बन्धमा अलिकति रिजर्भ, आफ्ना कुरा प्रस्तुत गरिनहाल्ने ।
लत ः समाचार नहेरी नहुने ।
सुधार्नुपर्ने कुरा ः परिवारका लागि अलि समय छुट्याए हुन्थ्यो जस्तो लाग्छ ।
कस्ता श्रीमान् ः असल र जिम्मेवार ।
के भएको हेर्ने रहर छ ? ः संधै स्वस्थ र खुसी भएको ।
एन.पी. को नजरमा ज्योत्सना
बलियो पक्ष ः हरेक काममा दृढ र कुशल व्यवस्थापन कला ।
कमजोरी ः चाँडै रिसाउने ।
आकर्षक पक्ष ः मान्छे छिटो चिन्न सक्ने क्षमता ।
मनपर्ने अभियन्ता ः केरलाको अम्मा ।
कस्ती श्रीमती ः वैवाहिक सम्बन्धबाट म खुसी र सन्तुष्ट छु ।
के भएको हेर्ने इच्छा छ ? ः सामाजिक क्षेत्रमा सक्रिय र अब्बल भएको ।

 Image