Successfully Copied

महानगरपालिकाका महिला वडासचिव

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये केही वडाहरूमा वडासचिवको जिम्मेवारी महिलाहरूले निभाइरहेका छन् र उनीहरूले प्रशासन हाँकिरहेका छन् । प्रशासनिक खर्च चलाउनेदेखि वडाध्यक्षको सल्लाहकारको भूमिका निभाउनु उनीहरूको मुख्य जिम्मेवारी हुन्छ ।



जनतालाई नजिकबाट सेवा प्रदान गर्नु र विकास निर्माणका कामहरू गर्नु स्थानीय तहको मुख्य जिम्मेवारी हुन्छ । जनप्रतिनिधिसँगै सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ । काठमाडौं महानगरपालिका जनसंख्याका हिसाबले सबैभन्दा ठूलो महानगरपालिका हो । काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये केही वडाहरूमा वडासचिवको जिम्मेवारी महिलाहरूले निभाइरहेका छन् र उनीहरूले प्रशासन हाँकिरहेका छन् । प्रशासनिक खर्च चलाउनेदेखि वडाध्यक्षको सल्लाहकारको भूमिका निभाउनु उनीहरूको मुख्य जिम्मेवारी हुन्छ । अन्य क्षेत्रको तुलनामा वडाको काममा व्यस्ततासँगै चुनौती पनि धेरै हुने उनीहरू बताउँछन् । जनताका आवश्यकतालाई नजिकबाट बुझेर काम गर्नु उनीहरू आफ्नो दायित्व सम्झन्छन् । वडामा स–साना काम हुने भएकाले सेवाग्राहीहरूहरूलाई सम्झाएर काम गर्नुपर्ने उनीहरूको अनुभव छ । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाअन्तर्गतका वडाहरूमा प्रशासन हाँकिरहेका महिला वडासचिवहरूको अनुभव यो अंकको नारीले समेट्ने प्रयास गरेको छ ।

पटना डंगोल
वडा नम्बर–११, बबरमहल

२०५२ सालमा १६ वडाबाट काठमाडौं महानगरको सेवामा प्रवेश गरिन्, स्वयम्भूकी पटना डंगोल । त्यसबेला जनप्रतिनिधिहरू रहने व्यवस्था थिएन । जनताका समस्या उनीसामु नै आइपुग्थे । जनप्रतिनिधि नहुँदा कामको लोड धेरै हुन्थ्यो । पुरानो शैलीमा नै काम हुन्थ्यो । रसिद काट्नेदेखि हरेकका कामको फर्म भर्ने हातले नै गर्थिन् । ढड्डा खोज्नु उनका लागि उत्तिकै झन्झटिलो थियो । उनले भनिन्, ‘सुरुवाती समयमा हातले लेखेर ढड्डा राख्ने चलन थियो । धेरै काम गर्नुपथ्र्यो । तनाव पनि उत्तिकै हुन्थ्यो । महिलाका रूपमा पनि व्यवहार हुन्थ्यो ।’ २८ वर्ष निरन्तर महानगरको सेवामा रहेकी उनले काम गर्ने तरिकामा थुप्रै परिवर्तन भइसकेको छ । जनप्रतिनिधि आउनासाथ काममा सहज हुन थालेको उनको अनुभव छ । कागजका फाइल खोज्ने उनका हात यतिबेला कम्प्युटरमा दौडिन थालेका छन् । अब उनलाई ढड्डा खोज्नु पर्दैन । उनीसँग महानगरका थुपै वडा र विभागमा काम गरेको अनुभव छ । २०६१ सालमा वडासचिव भएपछि उनको जिम्मेवारी परिवर्तन भएको हो । विगत तीन वर्षदेखि उनले वडा नम्बर–११ को वडासचिवको भूमिका निभाइरहेकी छन् । 


उनी जनताको सेवा गर्नु आफ्नो कर्तव्य ठान्छिन् । उनी भन्छिन्, ‘वडामा मानिसको जन्मदेखि मृत्युसम्मको काम हुन्छ । उनीहरूलाई सहज वातावरण बनाउँदै सेवा दिनु नै हाम्रो कर्तव्य हो ।’ कर्पोरेट वडाका रूपमा परिचित यस वडामा हरेक वर्गका मानिसहरू सेवा लिन आउँछन् र समस्या पनि उत्तिकै छन् । उनलाई धैर्य नहुने र रिसाउने वा कराउने सेवाग्राहीहरूलाई पनि सम्हाल्नुपर्छ । उनी भन्छिन्, ‘हरेक किसिमका व्यक्ति सेवा लिन आउँछन्, पहिले त उनीहरूको मुड हेरेर व्यवहार गर्छु र सेवा दिएर पठाउँछु’ । कामको लोड बढी हुने कुरा सेवाग्राहीले नबुझिदिनु पनि समस्या हो । 

जनताले नबुझ्ने कारणले पनि थुप्रै प्रश्नको समाधान गर्नुपर्छ, उनलाई । बाटोे वा ढल बिग्रिएमा पनि वडालाई नै मानिसहरूले गाली गर्छन् । कतिपयले त वडाध्यक्षलाई भन्न नसकेर सचिवमाथि प्रश्न उठाँउछिन् । उनी भन्छिन्, ‘कामको जिम्मेवारी कसको हो भनेर बुझ्दैनन् । त्यसैले पनि वडामा थुप्रै समस्या देखाइदिन्छन् ।’ कर्मचारी भएपनि जनप्रतिनिधिको जस्तै जिम्मेवारी छ, उनमा । कहिले रातिसम्म पनि काम गर्नुपर्छ । दुई सन्तानकी आमा उनी परिवारको सहयोगले नै निरन्तर काममा लागेको बताउ“छिन् । उनले भनिन्, ‘महिलाहरूलाई परिवारको सहयोग भएमा सहज रूपमा काम गर्न सक्छन् ।’



मञ्जु आचार्य
वडा नम्बर–५, हाँडीगाउँ

२०७१ सालमा लोकसेवाबाट अधिकृतमा पास भइन्– अर्घाखाँचीकी मञ्जु आचार्य । उनको पोस्टिङसुरुमा महानगर सम्पदा तथा पर्यटन विभागमा भयो । त्यतिबेला उनले काठमाडौंको पर्यटन र पुरातात्विक महत्वका बारेमा काम गर्ने मौका पाइन् । यसका अवसर र चुनौती के छन् भन्ने बारेमा बुझिन् । उनले कर्मचारी प्रशासन र राजस्व विभाग सहरी विभागजस्ता थुप्रै क्षेत्रमा काम गरिसकेकी छन् । महानगरको सेवामा भने वडा नम्बर–१४ मा सहायक भएर प्रवेश गरिन् । महानगरको काम भने उनलाई केही फरक महसुस भयो । अन्यको तुलनामा काम पनि हुने र प्रत्यक्ष जनतासँग सहकार्य पनि हुन्छ । थुप्रै वडाको अनुभव सम्हाल्दै हाल उनले वडा नम्बर–५ को वडासचिवको जिम्मेवारी सम्हालिरहेकी छन् । वडामा काम गर्दा जनताका आवश्यकता के हुन् र उनीहरू के चाहन्छन् सोही कुरा बुझ्ने मौका मिल्ने उनी बताउँछिन् ।

 उनी भन्छिन्, ‘वडा भनेको जनताले अपनत्व गर्ने ठाउँ हो, उनीहरूको समस्या ठोकिने भनेको वडामा नै हो । त्यसकारण वडालाई जनताको आवश्यकता बोध हुन्छ ।’ यसलाई जनताको अन्तरह्दयमा छिरेर काम गर्ने अवसरका रूपमा लिन्छिन् उनी । वडाले सेवा दिनुपर्ने कुरालाई पनि ध्यानमा राखेर काम गर्छिन् उनी । यति गरेर आउनुस्, यस्तो गर्नुस् भनेर वडामा हुदैन वास्तवमा उनीहरूले कति जानेका छन्र कसरी काम गर्छन् त्यसको ख्याल गर्नु आवश्यक हुने उनी बताउँछिन् । अन्य क्षेत्रको तुलनामा वडाको काम झन्झटिलो छ । कर्मचारीहरूले आफूलाई धैर्यका साथ काम गर्नुपर्ने हुन्छ । काममा चुनौती पनि थपिँदै गएको उनी बताउँछिन् । स्थानीय तहमा थुप्रै अधिकार र जिम्मेवारी थपिँदै गएका छन् तर प्रशस्त पूर्वाधार र कर्मचारी विकास हुन नसकेकाले काममा अठ्यारोसँगै समस्या भएको उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘सीमित अधिकार र जिम्मेवारी हुदाँ जति पूर्वाधार र कर्मचारी संख्या अनि अधिकार थपिँदै जाँदा पनि त्यही नै अवस्था छ । यसले काममा जटिलता थपिँदै गएको अवस्था छ ।’ वडामा केही फरक काम गर्न उनी रुचाउँछिन् । त्यसैले युवा तथा महिलालाई स्वरोजगार बनाउन उनी तल्लीन छन् । सबैले पुरानै शैलीमा यो तालिम दिने चलन छ । तालिम लिएजस्तो मात्र नहोस् भन्ने उनको चाहना छ । उनी भने व्यक्तिलाई के आवश्यकता छ त्यसको तालिम दिनुपर्ने धारणा राख्छिन् । उनी भन्छिन्, ‘साँच्चै व्यक्तिलाई स्वरोजगार बनाउने हो भने उसको इच्छानुसार अगाडि बढाउनु आवश्यक छ । यसले गर्दा तालिम पनि प्रभावकारी हुन्छ ।’ जनप्रतिनिधिझैं हरेक समय खटिनुपर्दा परिवारको साथ आवश्यक हुने उनी बताउँछिन् ।

 घरमा दुईसन्तानको जिम्मेवारीसँगै जनतालाई घरदैलोमा सरकार भएको अनुभव दिलाउन उनी दिनरात अग्रसर छन् ।

देवीकुमारी वस्ती
वडा नम्बर–१३, कालिमाटी


देवीकुमारी वस्ती २०५६ सालमा महानगरको कानुन विभागबाट महानगरको सेवामा प्रवेश गरिन् । उनको वडा सचिवको यात्रा भने २०७३ मा वडा नम्बर १४ बाट सुरु भएको हो । महानगरका विभिन्न शाखामा काम गर्दै उनले हाल वडा नम्बर–१३ को वडासचिवको जिम्मेवारी सम्हालिरहेकी छन् । ठूलो वडाको रूपमा रहेको कालिमाटी क्षेत्रको वडाको प्रशासनिक काम उनको जिम्मेवारीमा छ । मिश्रित बसोबास रहेको यो वडामा समस्या पनि मिश्रित नै छन् । काम गर्दा चुनौती पनि उत्तिकै छन् । वडाध्यक्षको रोहबरमा काम गर्ने उनलाई वडाले गरेको कामको अपजस उनीसम्म आइपुग्छ । उनी भन्छिन्, ‘वडासचिवलाई हरेक कुराको दोष आउँछ । काम बिग्रियो वा बनेन भने वडाध्यक्षलाई सचिवले गलत सल्लाह दिएर बिग्रियो भन्ने आरोप लगाउँछन् ।’उनी आरोप आए पनि निडर भएर अगाडि बढिरहेकी छन् ।

 सेवाग्राहीको हरेक समस्या उनीसम्म आइपुग्छ । वडाध्यक्षले नगरेको काम पनि सचिवले गर्दिए हुन्थ्यो भन्ने आश लिएर उनीसम्म आइपुग्छन् । कहिले गाली खान्छिन् कहिले उनीमाथि बिनागल्ती दोष लगाइदिन्छन् । उनी भन्छिन्, ‘सचिव साँच्चै निरीह प्राणीजस्तै हुन्छन् । अरुको गल्तीको पनि अपजस सहनुपर्छ ।’ यस्तो अवस्थामा समाधान आफैं निकाल्ने प्रयास गर्छिन् र नसके टिमको सहयोगले समाधान गर्छिन् । काम गर्ने टिम सहज भएमा वडासचिवले सहज रूपमा काम गर्न पाउने उनको अनुभव छ । वडाध्यक्षसँग तालमेल मिल्न सके मात्र काम गर्न सम्भव हुने उनको भनाइ छ 

। यतिमात्र नभई सरकारसँगको समन्वयले पनि काम गर्न अठ्यारो रहेको उनको अनुभव छ । बाटोमा ढल फुट्यो वडालाई गाली, बत्ती गयो वडाले के हेरेर बसेको छ भन्छन् । वडाले काम ग¥योएकछिनमा नै अर्को निकाय आएर भत्काइसकेको हुन्छ । यसको गाली वडासचिवसम्म आइपुग्छ । यतिबेला महानगरको नेतृत्व स्वतन्त्र पार्टीले र युवाले गरिरहेका छन् । यसले पनि काममा धेरै फेरबदल भइरहेको उनी बताउँछिन् । डिजिटल प्रणालीमा सेवाहरू लान खोजेको सकारात्मक कुरा भएपनि छिटो–छिटो निर्णय प्रक्रिया र काम परिवर्तन भइरहनाले चुनौती थपिँदै गइरहेको उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘यति छिटोे निर्णयहरू परिवर्तन भइसक्छन् कि एउटा गर्न नपाउँदै अर्को गरिसक्नुपर्ने अवस्था छ ।’ नयाँ–नयाँ काम र सिस्टममा काम गर्न रमाइलो लागे पनि यी काममा भने प्रेसर महसुस हुने उनको भनाइ छ ।

सरस्वती आचार्य,
वडा नम्बर–१८,नरदेवी

काठमाडौंको नेवार बस्तीको एरिया भएको वडा हो, वडा नम्बर–१८ । यही वडामा विगत ७ वर्षदेखि वडासचिवको भूमिका निभाइरहेकी छन्, सरस्वती अर्यालले । सानो वडाको रूपमा रहेको यो वडामा बाक्लो नेवारी बसोबास छ । सुरुमा त उनलाई काम गर्न भाषाकै समस्या थियो । बिस्तारै उनले भाषा बुझ्दै गइन् र काममा सहजता हुँदै गयो । 

उनले भनिन्, ‘सुरुसुरुमा भाषाको समस्या भएकाले काम गर्न कठिन भयो तर अहिले विस्तारै सहज हँुुदै गएको छ ।’ नायव सुब्बाबाट प्रवेश गरेकी उनले यसअघि २४ नम्बर वडाको सचिवको जिम्मेवारी पनि निभाइसकेकी छन् । त्यस्तै उनले प्रशासनमा ६ वर्ष, वसन्तपुर दरबार संरक्षण कार्यक्रममा बसेर पनि काम गरिन् । लामो समय महानगरको सेवामा बिताइसकेकी उनले जनप्रतिनिधि पदवहाली भएसँगै काममा सहज भएको अनुभव सुनाउँछिन् । जनताका समस्या धेरै जनप्रतिनिधिसँग पुग्ने भएकाले आफूले प्रशासनिक कामको मात्र जिम्मा लिन पाएको बताउँछिन् । महानगरले थुप्रै योजना अघि सारेको छ । डिजिटलमैत्री वडा बनाउन भने चुनौती रहेको उनी बताउँछिन् । यहाँ पुरानो बस्ती भएकाले डिजिटलमा अभ्यस्त हुन सकिएको छैन । कर्मचारीहरू डिजिटलमैत्री भएपनि सेवाग्राहीमा पहुँच नभएकाले समस्या पनि उस्तै छ । 

उनले भनिन्, ‘अझै पनि पुराना पुस्ताका व्यक्ति नै कर तिर्न आउँछन् । उनीहरूलाई कर तिरी रसिद लिएर घर पुगेपछि ढुक्क हुने बताउँछन् र त्यसैले पनि डिजिटल्ली अघि बढ्न चुनौती नै छ ।’ वडामा महिलामैत्री कार्यक्रमका लागि पनि उनले जोड दिएकी छन् । महिलाहरूलाई आत्मानिर्भर र आर्थिक सशक्तीकरणमा अगाडि बढाउन पहल गरेकी छन् । वडाले लिएको योजनाले महिलाहरूमा सशक्तीकरण बढ्दै गएको उनी बताउँछिन् । महिलाहरू अग्रसर छन् । यस वडामा महिलामैत्री वडाभन्दा फरक नपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यस वडामा वडासचिव र लेखा इन्जिनियरसम्म महिला छौं । वडामा महिलाहरू पनि अग्रसर छन् । हरेक कार्यक्रममा महिला सहभागिता बढ्दोे हुन्छ ।’ 

अब काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गरी अझ काठमाडौंलाई सफा राखी व्यवस्थित बनाउन सकिन्छ भन्ने उनलाई लागेको छ ।

 Image