Successfully Copied

पेसासँगै समाजसेवामा रमेका चिकित्सक दम्पती

चितवन नारायणगढका अजय न्यौपाने र सरु थापा न्यौपाने पेसाले दन्त चिकित्सक हुन् । उनीहरू आफ्नो काममा जति व्यस्त हुन्छन्, सामाजिक काममा पनि त्यति नै सक्रिय छन् ।



विमल खतिवडा

चितवन नारायणगढका अजय न्यौपाने र सरु थापा न्यौपाने पेसाले दन्त चिकित्सक हुन् । उनीहरू आफ्नो काममा जति व्यस्त हुन्छन्, सामाजिक काममा पनि त्यति नै सक्रिय छन् । अजय भरतपुर सरकारी अस्पतालका दन्त रोग विभागका विभागीय प्रमुख हुन् भने सरु नारायणगढ बजारमा ‘साइराम डेन्टल’ चलाएर बसेकी छन् । डेन्टलमा अजयले पनि सघाउँछन् । त्यसो त यो जोडी सामाजिक काम गर्न भनेपछि हुरुक्कै हुन्छ।
‘आफू मात्र खुसी हुनुहुँदैन, आफूभन्दा निम्न वर्गका समुदाय जसलाई बिहान–बेलुकाको छाक टार्न समस्या छ, आङ ढाक्ने कपडा किन्न सकस छ,’ अजय भन्छन्, ‘आफूले कमाएको केही पैसाबाट उनीहरूसामु खुसी बाँडौं भनेर सकेको सहयोग गरेका हुन्छौं ।’ विभिन्न ग्रामीण भेगका विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग पनि गर्दै आएको अजय सुनाउँछन् । उनीहरूले हरेक वर्षको जाडोमा न्यून आयस्तर भएको समुदायबीच पुगेर कपडा बाँड्ने र शैक्षिक सामग्री दिने गर्छन् ।

‘२०७२ सालको भूकम्पमा विभिन्न जिल्लाका विकट गाउँमा राहत सामग्री बाँड्यौं, हामी कसैसँग माग्दैनौं,’ सरु भन्छिन्, ‘हामी आफ्नै परिश्रमले कमाएको पैसा खर्च गर्छौं ।’ परोपकार गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने उनी बताउँछिन् । सहयोग गर्न थालेपछि चितवनमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूसँग पनि उनीहरू नजिक भएका छन् । ‘एकबारको जीवन हो, फेरि यस्तै जीवन पाइएला वा नपाइएला, बाँचुन्जेल आफू पनि बाँच्ने अरुलाई पनि बचाउने प्रयास गर्ने हो,’ सरु भन्छिन्, ‘यो काम कसैको दबाब र प्रभावमा परेर गरेको होइन ।’ सामाजिक काममा दुवैको मत मिल्छ । सकेसम्म उनीहरू विकट गाउँमा पुगेर सहयोग गर्छन्। ‘धेरै गाउँमा अहिले मोटरबाटो पुगेको छ,’ अजय भन्छन्, ‘सडक पुगेपनि गाउँको अवस्था उस्तै छ, भरसक सडक पूर्वाधार असहज भएका गाउँमा हिँडेरै जान्छौं, गाउँ र गाउँलेको अवस्था बुझेर हातैमा सहयोग दिएर आउँछौं ।’ अघिपछि दुवैजना काममा व्यस्त हुन्छन् । जब कतै सहयोग गर्ने कुरा आउँछ । तब दुवै उत्साहित हुँदै सहयोगका लागि अघि सर्छन् ।

हामीलाई सानो लागेको कुरा जो आपत्मा छ,उसलाई ठूलो लाग्न सक्छ,’ सरु भन्छिन्, ‘सानो सहयोगले कसैको मुहारमा खुसी छाउँछ भने किन नगर्ने ? ।’ दुवैजना व्यस्तताका बाबजुद पनि सेवामा तल्लीन छन् । ‘जन्मथलो काठमाडौं हो, कर्मथलो चितवनलाई बनाएर काम गरिरहेका हौं,’ अजय भन्छन्, ‘यहाँ बस्न थालेको १८ वर्ष भयो, यता आएदेखि सामाजिक काम गर्दै आएका छौं ।’ समाजसेवादेखि क्लिनिक हुँदै घरको काम पनि दुवैले गर्छन् । त्यसो त बेलाबेला विकट बस्तीहरूमा पुगेर उनीहरूले निःशुल्क दन्त शिविर पनि चलाउँदै आएका छन् ।

‘सहयोग गर्न आग्रह गरेको ठाउँका बारेमा हेर्छौं, बुझ्छौं, गाह्रो परेको थाहा पाउनासाथ बिदाको दिन पारेर क्लिनिक बन्द गरेर हिँड्छौं,’ सरु भन्छिन्, ‘सकेसम्म दुर्गममा सेवा गर्न मन लाग्छ, सुगममा बस्नेहरूले त केही न केही विकल्प पाइरहेका हुन्छन् ।’ अन्य चिकित्सकहरूले पनि यो जोडीले गरेको राम्रो कामको प्रशंसा गर्न गर्छन् ।सामाजिक काम भनेपछि घरका आमाबुवाले पनि स्याबासी दिने गरेको अजय बताउँछन् । चितवनको विकट गाउँमा चेपाङ समुदायको बाक्लो बस्ती छ । त्यहाँ उत्पादन भएको खाद्यान्नले ६ महिना पनि खान पुग्दैन । त्यस्तो ठाउँमा समस्या परेको समुदायलाई झन्डै महिना दिनलाई खान पुग्ने खाद्यान्न बोकेर उनीहरू पुग्ने गरेका छन् । यसैगरी बजार क्षेत्रमा रहेका आश्रमहरूमा समेत सहयोग गर्ने गरेका छन् । ‘चितवनका केही नगरपालिकाभित्रका वडामा अहिलेपनि पेटभरी खान, न्यानो लुगा लगाउन नपाउने, विद्यालय जान तीन घण्टा बढी पैदल हिँड्नुपर्ने र बिरामी हुँदा डोकोमा बोकाएर स्वास्थ्य चौकी लग्नुपर्ने बाध्यता छ,’ अजय भन्छन्, ‘त्यो दृश्यले हाम्रो मन सधै कुँडिन्छ । त्यसैले सहयोगको प्राथमिकतामा खाद्यान्न, कपडासँगै शिक्षा र स्वास्थ्यलाई राखेका छौं ।’ उनीहरू समाजसेवामा मात्र नभई बेरोजगार युवायुवतीलाई रोजगारी दिने आधार समेत बनेका छन् । नारायणगढको कमलनगरचोकमा रहेको साइराम डेन्टल अहिले भरतपुरको चौबीस कोठी हुँदै टाँडी बजारसम्ममा विस्तार भएको छ । अहिले सबैतिर २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘जसले कसैलाई सहयोग गर्न तत्परता र इच्छाशक्ति देखाउँछ, उसलाई भगवान्ले पुर्‍याउँदा रहेछन्,’ सरु भन्छिन्, ‘हामीलाई त्यसरी नै पुगिरहेको छ, दैनिकी चलाउन पुगे भयो ।’

यो जोडीले समाजसेवासँगै दन्त चिकित्सा अध्ययन गरेर राम्रो अंक ल्याउने विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएको छ । त्यसको नाम‘साइराम डेन्टल पुरस्कार’ राखिएको छ । ‘डेन्टलमा एमडीएस (मास्टर्स इन डेन्टल सर्जरी) अन्तर्गत पहिलो, दोस्रो र तेस्रो नम्बरमा नाम निकाल्ने विद्यार्थीलाई नगद पुरस्कार दिँदै आएका छौं,’ अजयले भने, ‘पहिलोलाई ६० हजार, दोस्रोलाई ४० र तेस्रोलाई ३० हजार नगद दिन्छौं ।’ बिडीएस (ब्याचलर अफ डेन्टल सर्जरी)मा पनि एक, दुई र तीन नम्बरमा नाम निकाल्नेलाई नगद पुरस्कार दिने गरेका छन् । जसअनुसार पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० र तेस्रो हुनेलाई २० हजार नगदसहित यो वर्ष दुई लाख ३० हजार पुरस्कार वितरण गरिसकेको अजयले सुनाए ।

यो पुरस्कार देशभरबाट उत्कृष्ट हुनेले पाउनेछन् । साइराम डेन्टलले डेन्टल पढिरहेकाहरूलाई पनि कोभिडका बेला नगद सहयोग गरेको थियो । आफूजस्तै पेसामा सक्रिय दन्त चिकित्सकको क्यान्सर पीडित परिवारलाई उपचारमा १/१ लाख रुपैयाँ सहयोग गर्न यो जोडीले बिर्सिएन । जिल्लाकै माडीमा आएको बाढीको बेला होस् वा कोभिडका बेला अक्सिजन सिलिन्डरदेखि अप्ठ्यारोमा परेका सञ्चारकर्मी, प्रहरीका लागि पनि उनीहरू सहयोगी बने । त्यसो त यो जोडीले कोभिडकै बेला दन्त चिकित्सक र विद्यार्थीलाई करिब १० लाख रुपैयाँ सहयोग गरेको थियो । ‘घरमा तिमीहरूले समाजसेवा नगरे कसले गर्छ, कमाउने धेरै छन्, तर समाजसेवा गर्ने कम छन् भन्नुहुन्छ,’ सरु भन्छिन्, ‘सहयोग गर्नुपर्छ भनेर हौस्याउनुहुन्छ, त्यसैले अरुलाई केही दिन पाउँदा आनन्दको अनुभूति हुँदो रहेछ ।’

 अहिले यो दम्पतीले ‘डेन्टल टुरिजम’ को पनि सुरुवात गरेको छ । नेपालबाट अमेरिका, अस्ट्रेलिया र जापान आदि देशमा जानेहरूको संख्या बढी छ । विदेशमा दाँतको उपचार त्यति सहज छैन । बढी खर्चिलो छ । नेपाल आएको बेला विदेशकै जस्तो सुविधामा सेवा दिन सकिए डेन्टल टुरिजम बढाउन सकिने सोच दम्पतीको छ । ‘त्यही अवधारणानुसार हामीले डेन्टल टुरिजम सुरु गरेका छौं,’ सरु भन्छिन्, ‘यसमा राम्रो प्रतिक्रिया आएको छ ।’ यसका लागि उपकरण र औजार पर्याप्त हुनुपर्छ । आफूसँग सबै कुरा भएको उनीहरू बताउँछन् । ‘विदेशमा बस्नेहरूलाई समयको महत्व बढी हुन्छ ।’ सरु भन्छिन्, ‘छोटो समयका लागि नेपाल आउने भएकाले गुणस्तरीय सुविधासहित छिटो सेवा दिनुपर्छ ।’

अहिले चितवन घर भई विभिन्न देशमा बसोबास गर्नेहरू नेपाल आएको बेला दाँत परीक्षण गराउँछन् । यसरी साइराम डेन्टलमा पुग्नेहरूले पनि डेन्टल टुरिजमको अवधारणा राम्रो भएको प्रतिक्रिया दिने गरेका छन् । ‘भोलिका दिनमा डेन्टल टुरिजमलाई अझ परिस्कृत र व्यवस्थित रूपमा सेवा दिने गरी अघि बढाउनेछौं,’ अजयले भने, ‘सँगै सामाजिक सेवामा अझ बढी सक्रिय हुनेछौं ।’ डेन्टल टुरिजमले डेन्टललाई मात्र नभई समग्र देशको अर्थतन्त्रमा समेत सहयोग पुर्‍याउन सक्ने अजयको बुझाइ छ । ‘यसलाई व्यवस्थित गर्न सके नेपाल डेन्टल टुरिजम गन्तव्य बन्न सक्छ,’ उनी भन्छन्, ‘बिरामीको मागअनुसार यस्तो कामको सुरुवात गरेका हौं, न्यूनतम सेवा–सुविधा थपेर काम गरेका छौं ।’ त्यस्तै गरिब तथा जेहेन्दार बालबालिकालाई पढाइमा सहयोग गर्ने सोच दम्पतीको छ । ‘महिला स्वास्थ्य स्वयंसेविकालाई मुख स्वास्थ्यका बारेमा सिकाउन सके उनीहरूमार्फत गाउँ–गाउँमा जनचेतना जगाउन सहयोग पुग्थ्यो,’ सरु भन्छिन्, ‘दन्त शिविरहरू पनि संचादन गर्दै आएकाले विस्तारै आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निःशुल्क दाँत राख्ने गरी काम गर्ने मन छ ।’ उनीहरू सामाजिक काम र आफ्नो पेसामा सक्रिय भएका कारणसम्मानित र पुरस्कृत भएका छन् ।

 Image