Successfully Copied

अफ्रिकन भाइलट कसरी फुलाउने ?

यो फूललाई घामको सोझो सम्पर्क नभए हुन्छ । उज्यालो आउने ठाउँमा राख्दा राम्रोसँग सप्रिन्छ । त्यसैले यो बिरुवा इन्डोर राख्न सकिन्छ ।


अफ्रिकन भाइलटको फूल फुल्दा निकै सुन्दर र धेरै रंगहरूमा पाइने भएकाले यो फूल धेरैले मन पराएको सिर्जना फ्लावर नर्सरीका सञ्चालक शिव खड्का बताउँछन् । पछिल्लो समय अत्यधिक बिक्री हुने लोकप्रिय फूलमध्ये यो एक हो । उनी भन्छन्, ‘राम्रो स्याहारसुसार गर्न सके यो फूल बाह्रै महिना फुल्छ ।’ राम्रोसँग फुलाइयो भने अन्य फूलको तुलनामा यसको बिक्री राम्रैसँग हुन्छ । यसमा कुनै मल्टिकलर, कुनै छिर्केमिर्के र कुनै दुईवटा रंग मिसिएको फूल फुल्छ । धेरैले यो फुलेको देखेर नै किन्ने उनी बताउँछन् ।
यो फूललाई घामको सोझो सम्पर्क नभए हुन्छ । उज्यालो आउने ठाउँमा राख्दा राम्रोसँग सप्रिन्छ । त्यसैले यो बिरुवा इन्डोर राख्न सकिन्छ । खड्का भन्छन्, ‘एक त धेरैजसो इन्डोर बिरुवामा फूल फुल्दैनन्, अर्को फूल फुलाउन मनपर्ने तर बाहिर ठाउँ नहुनेहरूका लागि यो फूल एकदमै उपयोगी हुन्छ ।’ यो फूललाई जति स्याहारसुसार गर्न सकियो त्यति नै राम्रोसँग फुल्छ । यसको पातमा धेरै धूलो टाँसिने भएकाले सफा ठाउँमा राख्नुपर्छ । यो फूल धेरै गर्मी र धेरै चिसो ठाउँमा फस्टाउँदैन । न्यानो वातावरण उपयुक्त हुन्छ ।
अफ्रिकन भाइलेटको बिरुवा सबै विदेशबाट आयात हुन्छ र नसर्रीबाट यसको बिरुवा नेपालमा फैलाइन्छ । अझैपनि नयाँ रंग र प्रजातिको फूल भने आयात हुने गरेको पाइन्छ ।

कहिले रोप्ने ?
पहाडी क्षेत्रमा यो फूल गर्मीयाममा रोप्नु उपयुक्त हुन्छ भने तराईमा दसैं–तिहारपछिको समयमा रोप्न सक्छन् । नसर्रीबाट किनेर ल्याएको बिरुवा जुनसुकै सिजनमा पनि रोप्न सकिन्छ । तर नसर्रीबाट ल्याउनेबित्तिकै यसलाई रि–पर्टिङ भने गर्नुहुँदैन । त्यसको जरा गमलाको प्वालबाट बाहिर निस्कन थालेपछि रिपर्ट गर्न सकिन्छ ।
यसको पातबाट जरा पलाउने भएकाले यसको पात टिपेर पानीमा डुबाइराख्नुपर्छ । पातले जरा हालेपछि यसलाई गमलामा माटो भरेर रोप्नुपर्छ । यसका लागि गर्मी मौसम त्यसमा पनि असार र साउन महिना उपयुक्त मानिन्छ । यसरी राखेको पात तीन महिनामै फुल्छ । फूलबाट पनि बीउ तयार हुन्छ ।


बिरुवाको छनोट कसरी गर्ने ?
नसर्रीमा फूल किन्दा त्यसको रंग, प्रजाति र फूल कत्तिको स्वस्थ हो, हेरेर मात्र खरिद गर्नुपर्छ । नफुलेको बिरुवा किन्दै हुनुहुन्छ भने यसको पातबाट पनि रंग छुट्याउन सकिन्छ । जुनसुकै फुल्ने फूलहरूको पातको रंग फरक–फरक हुन्छ । त्यसैले बिरुवा किन्दा भरसक एउटै देखिने पातको छनोट गर्नुभन्दा फरक–फरक रंगको बिरुवा रोज्नुपर्छ । जस्तो कुनै, हल्का हरियो, गाढा हरियो, कालो हरियो हुन्छ र यसको पातको डिजाइन पनि फरक पाउन सकिन्छ । कोही मोटो र कोही पातलो पात भएको हुन्छ । त्यसैगरी सिंगल र डबल कस्तो फुल्छ त्यो पनि हेर्नुपर्छ ।



कस्तो गमलामा रोप्ने ?
यो फूलको बोट धेरै अग्लो वा झाँगिएर नजाने भएकाले यसलाई सानो गमलामा रोप्न सकिन्छ । दुई इन्चको गमलामा पनि मज्जाले फुल्न सक्छ । चार इन्चको गमला यो बिरुवाका लागि ठिक्क हुन्छ ।
माटो कस्तो हुनपर्छ ?
एक भाग बगैंचाको माटो, एक भाग भर्मी कम्पोस्ट, एकभाग सुकेका पात, एक भाग कोकोपिट मिसाएर यसको माटो तयार गर्नुपर्छ । बाहिर पिटमसमा यो बिरुवा रोपिन्छ । नेपालमा यो महँगो हुने भएकाले यसको प्रयोग नगरी फूल राम्रोसाग फुलाउन सकिन्छ ।

पानी कसरी दिने ?
यो फूलको पातमा पानी परेमा पात कुहिन्छ । त्यसैले यसलाई प्लेटमाथि राखेर प्लेटमा पानी भरिदिनुपर्छ । गमलाको प्वालबाट यसले पानी सोसेर लिन्छ । यसलाई एकैपटक धेरै पानी हाल्नुहुँदैन । माटो सुख्खा भएपछि मात्र पानी राखिदिनुपर्छ ।
के रोग लाग्न सक्छ ?
यसलाई फंगिसाइट लाग्छ । यसका लागि बविस्ट्रिन पाउडर हाल्न सकिन्छ । यो बिरुवालाई सीधा घामको सम्पर्कमा राख्दा पात डढ्छ । सुकेको र डडेको पात गमलाबाट हटाइदिनुपर्छ ।


मूल्य कति ?
डबल फुल्ने फूल ४ देखि ५ सय रुपैयाँसम्म पर्छ भने सिंगल फुल्ने ३ सय रुपैयाँमा पाइन्छ । यसको मूल्य रंगअनुसार पनि फरक पर्न जान्छ । नयाँ र फरक रंग भएको फूलले राम्रो बजार पाउँछ । 

 Image