Successfully Copied

गहना र स्वास्थ्य

गहनाले महिलाहरूको व्यक्तित्वमा निखार ल्याउँछ ।

गहना भनेपछि महिलाहरू हुरुक्कै हुन्छन् । गहनाले महिलाहरूको व्यक्तित्वमा निखार ल्याउँछ ।  गहना लगाउँदा सुहाए पनि त्यसले कहिलेकाहीँ समस्या उत्पन्न गर्न सक्छ । विशेषगरी गहनामा प्रयोग भएको धातुका कारण संक्रमण हुनसक्छ । कसैकसैलाई सुनका गहना सुट गर्दैन भने कसैलाई नक्कली गहना कानमा लगाउँदा कान पाक्ने समस्या देखा पर्छ । धातुका गहनाले कालो दाग तथा विभिन्न समस्या निम्त्याएर अनुहार विकृत बनाइदिनसक्छ । कसैलाई गहनाका कारण अनुहार चिलाउने, कालो दाना आउने तथा रातो दाग–धब्बा देखिने समस्या हुन्छ । कसैको आँखा तथा नाक सुन्निन सक्छ । यस्तो स्थितिमा औषधि सेवनसम्म गर्नुपर्ने हुनसक्छ । 

कुन–कुन गहनाले समस्या 

कण्ठमाला, औंठी, कडा, चुरा, बाला, बिच्छु तथा अरू गहनाले विभिन्न समस्या उत्पन्न गराउँछन् । नाडीमा बाँधिएको घडीले पनि विभिन्न समस्या पैदा गर्नसक्छ । त्यसैगरी २२ क्यारेटको सुनले पनि विभिन्न समस्या उत्पन्न गराउँछ । १८ क्यारेट, १४ क्यारेटको सुनमा चाँदी तथा तामा मिसाइएको हुन्छ । त्यसले पनि  छालामा संक्रमण देखापर्छ । प्रश्न महँगो वा सस्तो गहनाको होइन । एलर्जी हुने भएकाले नक्कली गहना धेरैले मन पराउँदैनन् । शुद्ध सुन अरु धातुको तुलनामा कम समस्या दिने खालको हुन्छ । गहना बनाइने धातुहरूमध्ये सबैभन्दा स्वच्छ धातु चाँदी हो । शुद्ध चाँदीबाट बनेका गहनाले कुनै प्रकारको एलर्जी गराउँदैन । चाँदीमा मिसावट छ भने मात्र डराउनुपर्छ । 

कान छेड्दा कान पाक्नु  

कान छेड्दा कान पाक्ने समस्या उत्पन्न हुनसक्छ । यसको पनि एलर्जीसँग गहिरो सम्बन्ध छ । सुन वा निकेल मिश्रित  सुन कानमा छिराउँदा एलर्जी हुन्छ । यसको साटो स्टेनलेस स्टिलको १८ गेजको  सुईले छेदन गर्नुपर्छ । यसबाट कान पाक्ने समस्या कम हुन्छ । स्टेनलेस स्टिलमा निकेल मिसाइएको हुनु हुँदैन । सामान्यतया छेडिएको कान एक हप्तामा ठीक हुन्छ । कान छेडिएपछि सुनको मुन्द्रा लगाउन सकिन्छ। 

औंठी तथा डर्मेटाइटिस 

२४ क्यारेटको सुनको औंठी लगाउँदा डर्मेटाइटिस हुने सम्भावना रहँदैन तर सेतो सुन लगाउँदा एलर्जी हुनसक्छ । प्लाडियम र प्लाटिनमले बनेको औंठीले समस्या उत्पन्न गर्न सक्छ । औंठीको तल्लो भागमा साबुन, रसायन तथा फोहोर छ भने त्यसमा ब्याक्टेरियाको संक्रमण हुनसक्छ । कुनै–कुनै आंैठीले औंला चिलाउने तथा फोका आउने हुन्छ । त्यसैगरी पसिनाको उपस्थितिमा सल्फाइड एवं क्लोराइडको अणु धातुसँग मिलेर छालाको रंग बिगार्न सक्छ । 

पहिचानमा सहज छ ?

गहनाका कारण छालामा आउने विकार सजिलै पहिचान गर्न सकिन्छ । घाँटीमा लगाइएको गहनाले घाँटीमा समस्या उत्पन्न गर्नसक्छ । त्यसैगरी औंलामा लगाइएको औंठीबाट औंलामा इन्फेक्सन तथा चिलाउने समस्या पैदा हुनसक्छ । कानको झुम्का वा रिङका कारण कान पाक्न सक्छ । बिच्छीले खुट्टाको औंलामा समस्या निम्त्याउँछ  । कहिलेकाहीँ घाउ–खटिरा पनि आउन सक्छन् । संक्रमण भएको भागमा निकै चिलाउँछ । पछि त्यहाँ स–साना फोका देखापर्न सक्छन् । कन्याउने क्रममा छाला पोल्ने समस्या उत्पन्न हुन्छ । संक्रमणका कारण छाला चिलाउने तथा कालो हुने सम्भावना पनि हुन्छ । 

एलर्जी भए के गर्ने ?

छालामा एलर्जी भए त्यसको वास्तविकता बुझेर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । विकार पुष्टि भए गहना लगाउन कम गर्नुपर्छ । जुन धातुले समस्या उत्पन्न गरेको हो त्यही धातुबाट टाढा रहनु  बुद्धिमानी हुन्छ । गहनाको सरसफाइ नियमित रूपमा गर्नुपर्छ । गहनालाई सफा गरेर पुन: प्रयोगमा ल्याउन सकिन्छ । गहना लगाएर समस्या उत्पन्न हुनुअघि नै सावधानी अपनाउनु उपयुक्त हुन्छ । 

 Image