Successfully Copied

सोचमा परिवर्तन हुनुपर्छ

आन्दोलन भए, परिवर्तनको राप र तापले एक खालका कानुन बने तर सोच परिवर्तन भएको छैन । सोच परिवर्तन नभएसम्म कानुन कसरी कार्यान्वयन हुन्छ ?


रेणु अधिकारी, अधिकारकर्मी
सिरहा जिल्लाको बस्तीपुरमा ६३ वर्षअगाडि रेणु अधिकारीको जन्म भएको थियो । स्कुले शिक्षा बस्तीपुरकै एक विद्यालयबाट पूरा गरेकी उनले १३ वर्षमै एसएलसी दिएकी थिइन् । त्यो समयमा छोरीको छिटो विवाह गरिदिन्थे तर उनी आमाकै जोडबलले महाराजगन्जस्थित शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढिन् । त्यसपछि थप अध्ययनका लागि एमडी गर्न रसिया गइन् । फर्केपछि केही समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काम गरिन् । ललितपुरमा जिल्ला शिक्षा अधिकारी (डिएचओ) भएर पनि १ वर्ष काम गरिन् । १४ वर्षको उमेरदेखि काठमाडौंमा ट्युसन पढाउँदै पढेकी रेणु चिकित्सक विषय अध्ययन गरेपनि ३२ वर्षदेखि महिला हकहितका लागि काम गर्दै आएकी छिन् । उनै रेणुसँग उनको काम, महिलाका विविध विषयमा गरिएको कुराकानी ः
आफ्नो शिक्षाका बारेमा बताइदिनुस् न ।
मैले १४ वर्षदेखि संघर्ष गरी काठमाडौंमा पढेकी हुँ । रसियाबाट एमडी र बैंककबाट पब्लिक हेल्थमा एमपीएच गरें ।
पढाइ चिकित्सक, काम गर्ने क्षेत्र अधिकार, बाटो कसरी मोडियो ?
बाल्यावस्थादेखि नै म विद्रोही स्वभावकी थिएँ । विधवा हजुरआमासँग हुर्केकी म उहाँको संघर्ष देखेकी थिएँ । पहिलेदेखि नै नेतृत्व, विद्रोही स्वभावकी भएकाले गाउँमा कोही बिरामी भए पनि टाढासम्म औषधि लिन पुग्थे । सबै कुरा राम्रो हुँदाहुँदै पनि पढ्न संघर्ष गर्नुपर्‍यो । त्यसो त कामकै सिलसिलामा महिलाको अवस्था देखेर महिला हकहितमा काम गर्न मन लाग्यो ।
महिलाको क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
पढ्दाको संघर्ष र हजुरआमाको संघर्ष देखें । छोरी जन्मिएको बेला सुत्केरी अवस्थामा श्रीमान्को मृत्यु भएको थियो, त्यतिबेला किरिया बस्दा बाहिरबाट कुरा काटेको सुनें । त्यसले पनि मभित्र एक किसिमको विद्रोही भावना पैदा भयो । प्रसूतिमा काम गर्दा बिरामीलाई गर्ने व्यवहार देखेर आफ्नो कामबाट सन्तुष्ट भइन । कामको सिलसिलामा नुवाकोटमा पुलिस थानामा राखेको महिलालाई गरेको व्यवहार देखेर महिला पुनर्स्थापना केन्द्र (ओरेक) सुरु गरें ।
महिलाको क्षेत्रमा लामो समय काम गर्नुभयो, अवस्था कस्तो पाउनुभएको छ ?
यो क्षेत्रमा काम गरेको ३२ वर्ष भयो । पहिलेभन्दा अहिले तुलनात्मक रूपमा केही परिवर्तन भएको छ । तर सहरको तुलनामा जति हुनुपर्ने हो, त्यति भएको छैन । मैले १३ वर्षदेखि पढ्नका लागि जति लडाइँ गरे त्यो अहिले पनि कायमै छ । ब्याचलर गर्न, मन लागेको क्षेत्रमा काम गर्न महिलालाई अझै पनि त्यति सहज छैन । एसएलसी, १२ कक्षा पढ्न सहज भए पनि ब्याचलर गर्नुपर्छ भने लडाइँ गर्नुपर्ने अवस्था अझै छ । महिला हिंसाका केस पनि उस्तै कहालीलाग्दा छन् । सहरका ठूला–ठूला घरका हिंसाका केस गुपचुप राखिन्छ । महिलाको घाँटी रेटे पनि चुलेसीमा लड्यो भनेर कति केस आउँछन् । त्यति मात्र होइन यौन सम्पर्कका लागि सन्तान अगाडि राखेर बार्गेनिङ गर्ने पुरुष पनि छन् । यस्ता धेरै केस छन् जुन महिलाले चाहेर पनि भन्न सक्दैनन् ।


नारी दिवस प्रत्येक वर्ष मनाइन्छ, तर पनि महिला हिंसा किन कम भएका छैनन् ?

मार्च ८ राजनीतिक दिन हो । महिलामाथि हुने हिंसा महिला र पुरुषबीचको मात्र कुरा होइन । यो संरचना, संस्कृति, राजनीति सोचलगायतका कुरा जोडिएर आएका हुन्छन् । एकदमै राम्रो पुरुषले हिंसा गर्दिन भन्दा पनि कतिपय कुराले हिंसा गर्न पुग्छ । राजनीतिक आन्दोलनमा महिलाको मुद्दा जबर्जस्ती हाल्नुपर्‍यो । राजनीतिविना परिवर्तन हुँदैन भनेर सुरु गरिएको हो । अहिले हेप्पी वुमन्स डे भनेर केक काट्ने, फूल दिने दिनका रूपमा रूपान्तरित भएको छ । अहिलेको नारा महिलामा लगानी पढाउनलाई, नेतृत्वमा होला । महिलामा लगानी बढाउने कि पित्तृसत्ताविरुद्धको लडाइँमा लगानी बढाउने ? एकदिन महिलाको मुद्दामा बोल्नुपर्‍यो र राजनीतिक पार्टीलाई प्रश्न गर्नुपर्‍यो । सोचमा परिवर्तन नभएका कारण यस्ता कुराले निरन्तरता पाएका छन् । महिलाले धेरै कुरा खप्नुपरेको छ ।
महिलाका बारेमा बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन किन नभएका होलान् ?
आन्दोलन भए, परिवर्तनको राप र तापले एक खालका कानुन बने तर सोच परिवर्तन भएको छैन । सोच परिवर्तन नभएसम्म कानुन कसरी कार्यान्वयन हुन्छ ? नेतृत्वमा भएकाले समस्यालाई परिवर्तनमा लानुपर्‍यो । सोचमा परिवर्तन ल्याएमा मात्र समाधान हुन्छ । साथै हेर्ने दृष्टिकोण पनि बदल्नुपर्‍यो । महिला आन्दोलन महिला भर्सेस पुरुष जाने नै होइन ।
काम गर्दाका अविस्मरणीय पल भए बताइदिनुस् न ।
यस्ता पल धेरै छन् । कैलालीको कुनै गाउँमा चार वर्षकी छोरीलाई बाउले बोकेर एकान्तमा लगी रेप गर्दा रहेछन् । त्यो समयमा त्यहाँ सेफ हाउस नभएकाले उक्त बालिकालाई हामीसँग राखेर ६ कक्षासम्म पढायौं । ती बालिकाको कहालीलाग्दो अवस्था सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । यसैगरी जनकपुरमा दाइजो कम भएको निहुँमा सासूले एउटी महिलाको ढाडमा तातो दाल खनाइदिएकी थिइन् । यी दुई केस अझै पनि बिर्सन सकेकी छैन ।
महिलाहरू कसरी सशक्त र सफल हुने होला ?
यसका लागि महिलाको चाहना हुनुपर्‍यो । मेरी आमाले पढेनलेखे पनि स्वअध्ययन गर्नुभएको हो । अहिले पनि दिनमा दुईवटा पुस्तक पढ्नुहुन्छ । त्यसैले सफलताका लागि आफैं अग्रसर हुनुपर्छ । शिक्षा पनि आवश्यक पर्छ । सशक्त हुन महिलामा एक किसिमको चेतना आवश्यक हुन्छ ।

भविष्यको योजना के रहेको छ ?

लेखनमा रुचि छ । एउटा लेखन फेलोसीपका लागि अमेरिका जान्छु होला । आफ्नो र आफूले अहिलेसम्म गरेका कामको बारेमा लेख्न ेमन छ । रुकुम, जाजरकोटबाट युवा बिदेसिरहेका छन् अवैध बाटोबाट यसमा पनि काम गर्ने मन छ । पछिसम्म फरक तरिकाले भए पनि महिलाको क्षेत्रमा काम गर्नेछु ।

 Image