Successfully Copied

पहिचान गरौं आफ्नो क्षमता

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति योग्य एवं सक्षम भए पनि आशाअनुरूप सफलताको शिखर छुन सकिँदैन।

करिअरमा सफलता प्राप्त गर्न सही धारणा आवश्यक छ। कारण धारणाबिना जति योग्य एवं सक्षम भए पनि आशाअनुरूप सफलताको शिखर छुन सकिँदैन। नेपोलियन बोनापार्टको शब्दकोशमा असम्भव भन्ने शब्द थिएन। यसको अर्थ हुन्छ, आफ्नो करिअरका लागि केही सोच बनाइन्छ भने त्यसलाई कार्यान्वयन गर्ने आँट, साहस राख्नुपर्छ। कुनै पनि काम कठिन हुँदैन। अंग्रेजी शब्द इम्पोसिबल (आई एम पोसिबल) अर्थात् मबाटै सबै कुरा सम्भव छ। आफैले यो काम गर्न सक्दिन भनेर सोच्ने हो भने वास्तवमै उक्त काम थाल्नु हुँदैन। त्यसैले आफूप्रति सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ।

स्वयंलाई पहिचान गरौं

सबै व्यक्ति एकसमान हुँदैनन्। हरेकमा केही न केही विशेषता हुन्छन्, जसले त्यो व्यक्तिलाई अन्य व्यक्तिभन्दा अलग बनाउँछ। सबैभन्दा पहिले आफ्ना यिनै खुबीको पहिचान गर्नुपर्छ। आफ्ना क्षमता, गुण र कमजोरीहरू आँकलन गरी अघि बढ्नुपर्छ। आफू जे र जस्तो छ, त्यसलाई स्वीकार गर्नुपर्छ। स्वयंमा नयाँ गुण विकसित गर्ने प्रयास गर्नुपर्छ। सधैं केही नयाँ कुरा सिक्न तयार रहनुपर्छ। त्यसका लागि रुटिनबाट हटेर पनि काम गर्न सकिन्छ। आफूमा जुन गुण छ त्यसमै केन्दि्रत हुनुपर्छ। आफ्ना समस्या जान्ने र बुझ्ने प्रयास गर्नुपर्छ। समस्यालाई बुझ्न थालेको खण्डमा समाधानका बारेमा पनि सोच्न सकिन्छ।

रुचिहरू

करिअरमा सर्वश्रेष्ठ प्रदर्शनका लागि आवश्यक छ-आफ्नो रुचिको क्षेत्रको छनोट। रुचिको क्षेत्र बुझ्न आफैंसित प्रश्न सोध्नुपर्छ। जस्तै-मलाई सबैभन्दा राम्रो के लाग्छ ? म आफ्नो राम्रो प्रदर्शन कुन क्षेत्रमा गर्न सक्छु ? के म कामको रुटिन समयबाहेक पनि थप काम गर्न सक्छु ? आउँदो दस वर्षमा मेरो जीवनको लक्ष्य के हुनेछ ? मेरो कमजोरी के हो ? सकारात्मक सोचका साथ स्वयंलाई यी प्रश्न सोध्दा आफैलाई आफ्नो पहिचान हुन्छ भने आफू अरू मित्रजनको तुलनामा कुन स्तरमा छु भन्ने कुरा पनि थाहा हुन्छ। वास्तवमा जुनसुकै क्षेत्रमा रहे पनि रातदिनको मेहनत आवश्यक हुन्छ। यस्तो हार्डवर्क तब मात्र सम्भव छ जब मन त्यो कामसँग जोडिएको हुन्छ। काममा दत्तचित्त भएर लागे सफलता प्राप्त हुन्छ र जीवन पनि सहज हुन्छ। आफ्ना रुचिका बारेमा जान्न इन्टर्नसिपको मद्दत लिन सकिन्छ। अलग-अलग प्रोफाइलयुक्त काम गरेर सही अर्थमा आफू कुन कार्यमा इन्जोय गर्छु भन्ने कुरा थाहा पाइन्छ। कतिपय अवस्थामा हामी रुचि नहुँदा पनि केही काम  राम्रोसँग सम्पन्न गर्छौं। केही व्यक्ति इन्ट्रोभर्ट हुँदाहुँदै पनि राम्रो एचआर वा पीआर म्यानेजर साबित हुन्छन्।

सकारात्मक सोच

कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच आवश्यक हुन्छ। स्वयंलाई यो बताऔं कि आफूभित्र काम गर्ने जोस-उत्साह छ र म अगाडि बढ्न सक्छु। यसबाट करिअरमा बेस्ट परर्फमेन्स दिन सकिन्छ। यसबाट आफ्नो आन्तरिक विकास पनि हुन्छ र सदैव खुसी रहन सकिन्छ।

सही अवसर खोजौं

सही अवसर खोज्नुपर्छ। हातमा हात राखेर काल्पनिक संसारमा विचरण गरेर मात्र केही हुँदैन। क्रियाशील रहनुपर्छ। जीवनमा उतारचढाव आउँछ। त्यसबाट हार मानेर बस्नु ठीक होइन। प्रयास गरिरहनुपर्छ। स्थिति चाहे जस्तोसुकै किन नहोस्, स्वयंमा नियन्त्रण राख्नुपर्छ। कहिल्यै खराब समयको सामना गर्नुपर्‍यो भने पनि आत्मचिन्तन गरौं, के मैले राम्रो गरें वा नराम्रो गरें, कसरी भयो, के भयो, किन भयो वा किन भएन ? यी सबै प्रश्नको उत्तर खोजौं समस्याबाट समाधानको सम्भावना सिर्जना हुन्छ र सफलताको मार्ग प्रशस्त हुन्छ।

 Image