Successfully Copied

नारी सशक्त रूपमा अघि बढोस्

म नारीको नियमित पाठक हुँ । महिलाका लागि निकै उपयोगी यो पत्रिकाले सफलतापूर्वक १३ वर्ष पूरा गरिसकेको छ । महिलासम्बन्धी पत्रिकाले यति लामो समय सफलतापूर्वक पार गरेकोमा म हृदयदेखि नै खुसी छु । यो अवधिमा नारीमा कतिपय नयाँ स्तम्भ पनि थपिएका छन् ।

म नारीको नियमित पाठक हुँ । महिलाका लागि निकै उपयोगी यो पत्रिकाले सफलतापूर्वक १३ वर्ष पूरा गरिसकेको छ । महिलासम्बन्धी पत्रिकाले यति लामो समय सफलतापूर्वक पार गरेकोमा म हृदयदेखि नै खुसी छु । यो अवधिमा नारीमा कतिपय नयाँ स्तम्भ पनि थपिएका छन् । नारी अझ राम्रो हुँदै जानुपर्छ । यसले महिलाका पक्षमा आवाज उठाउनुपर्छ । नेपाली महिलाको प्रतिनिधिमूलक पत्रिका भएकाले यसको जिम्मेवारी पनि ठूलो छ । आजसम्म यसले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आएको छ । आगामी दिनमा पनि यो पत्रिका अझ सशक्त रूपले अघि बढोस्-हार्दिक शुभकामना ।

पवित्रा शाही, बुद्धनगर, बानेश्वर

नारी महान् छन्

गत महिना शक्तिका प्रतीक नारी पढें । नारी शक्तिका विषयमा थप जानकारी प्राप्त भयो । यसरी नारीले बेलाबेलामा नारी शक्तिको महानता दर्साउने लेख-रचनालाई स्थान दिएको देख्दा खुसी लाग्छ । हुन पनि संसारमा नारीको स्थान उच्च छ । नारीहरू महानताकै कारण देवीका रूपमा पुजिएका हुन् । सामाजिक, राजनीतिक, आर्थिक, पारिवारिक आदि हरेक क्षेत्रमा महिलाहरूले गरेका काम हेर्दा साधारण भए पनि असाधारण छन् । थुप्रै महिलाले समाजको कर्तव्यलाई आफ्नो कर्तव्य मान्दै काम गरेका छन् जुन कार्यका लागि उनीहरू देवीझैं प्रशंसित पनि छन् । अत: हामी सबैले राम्रो कामको प्रशंसा गरौं र आफूमा दैवी गुणको विकास गरौं ।

बबिना पाठक, सामाखुसी

वैदेशिक रोजगारीमा महिला पीडित

नेपालबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ्दो क्रममा छ । यद्यपि वैदेशिक रोजगारीमा जानेहरूमध्ये सबैजना पूर्ण सुरक्षित छैनन् । विदेश जानुअघि त्यहाँको वस्तुस्थिति नबुझ्ने, अरूको विश्वासमा पर्ने तथा म्यानपावर एजेन्सीहरूले यथार्थ कुरा नबताउनेजस्ता अनेकन कारणले महिलाहरू बढी पीडित भएका छन् । विदेशमा भरोसा गरेका व्यक्तिहरूले धोका दिएर हुने ठगी तथा अन्य कारणले पनि महिला कामदारहरू सुरक्षित छैनन् । सुखद् भविष्य निर्माण गर्ने सपना बोकेर विदेश पुगेका नेपाली चेलीहरूले अनेकौं समस्या बेहोरिरहेको सन्दर्भमा त्यसलाई रोक्न सरकारले बेलैमा उचित पहल गर्नु आवश्यक छ ।

सरिता आचार्य, लैनचौर

महिला हिंसाका कुरा

भाषणमा जति कुरा गरे पनि महिलामाथि हुने हिंसाका घटना रोकिएका  छैनन् । महिलाहरू विभिन्न प्रकारका हिंसा सहन बाध्य छन् । अझ चाडपर्वका अवसरमा त महिलामाथि शारीरिक एवं मानसिक हिंसा बढ्ने गरेका छन् । जुनसुकै बहानामा भए पनि यस्ता घटना हुनु सभ्य समाजका लागि कलंक हो । यस्ता घटनाले मुलुककै छविमा गम्भीर आघात पुर्‍याउँछन् । अत: महिला हिंसा रोक्नु प्रत्येक नागरिकको कर्तव्य हो । सामूहिक प्रतिबद्धता एवं जागरण अभियानबाट यो समस्याको समाधान हुनसक्छ । त्यसैले सरोकारवाला सबैले चेतनामूलक कार्यक्रम अघि सार्नु आवश्यक छ । जबसम्म चेतनाको विकास हुँदैन तबसम्म महिलाहरू पीडित नै रहनेछन् ।

सफला थापा, सातदोबाटो

मनोरञ्जक समाचार कम भए

नारी म्यागजिनलाई मनोरञ्जक पत्रिका भनिन्छ तथापि यसमा मनोरञ्जक समाचार भने निकै कम प्रकाशन हुन्छन् । मनोरञ्जन समाचारमा पनि संगीत र सिनेमाका एक-दुई टुक्रा मात्र हुन्छन्, जुन पर्याप्त छैन । यही कुरामा ध्यान पुर्‍याउँदै नारीले अबका दिनमा मनोरञ्जक समाचारलाई पर्याप्त स्थान दिनुपर्‍यो ।

शकुन्तला गुरागाईं,हेटौंडा

महिलाको क्षमता बुझौं

हाम्रो सामाजिक व्यवस्थाले महिलालाई होच्याएको छ । आदर्शका कुरा जतिसुकै गरे पनि त्यसलाई व्यवहारमा लागू गरिएको छैन । फलस्वरूप महिलाहरू पुरुषमाथि निर्भर रहनुपरेको छ । दसैंमा महिलालाई देवीका रूपमा पुज्ने चलन त छ तर पनि तिनै महिलाहरू पुरुषको सेवामा बढी खटिनुपर्ने बाध्यता पनि विद्यमान छ । महिलाहरू पनि क्षमताका हिसाबले पुरुषभन्दा कम छैनन् तर सामाजिक परिपाटीले उनीहरूको क्षमतालाई ओझेलमा पारेको छ । पुरुषको हरेक सफलतालाई आफ्नै सफलता मानेर साथ दिँदै आएका नारीहरूको उचित मूल्यांकन भएको छैन । महिलाको क्षमतालाई कम आँक्ने र पोथीमाथि भाले जातिको प्रभुत्व कायम रहनुपर्छ भन्ने मान्यता नहटेसम्म महिलाहरूको क्षमताको उचित सम्मान हुँदैन ।

ग्रीष्मा गुरुङ, पोखरा

कुनै-कुनै महिना नारी समयमा आइपुग्दैन । हरेक महिना १-२ गते नै आइपुग्ने व्यवस्था मिलाउनुपर्‍यो ।

प्रवाणि पौडेल, चितवन

नारी फेसनमा व्यावसायिक मोडलहरूलाई मात्र राखिन्छ । के हामीजस्ता नयाँ युवतीहरूलाई अवसर दिन मिल्दैन ?

श्रेया कार्की, फेसबुक कमेन्ट

म संघर्षशील एवं मेहनती स्टाफ नर्स हुँ । म विभिन्न सामाजिक क्रियाकलापमा पनि संलग्न छु भने मिस नर्स नेपाल-२०७० को मस्ट डिसिप्लिन टाइटल होल्डर पनि हुँ । म नारीका माध्यमबाट आफ्नो प्रतिभा उजागर गर्न चाहन्छु । केही सहयोग मिल्थ्यो कि ?

सुरुचि खड्का, फेसबुक कमेन्ट

म भारत चण्डीगडकी हुँ । नारी पत्रिका नियमित पढ्न चाहन्छु । त्यसका लागि के व्यवस्था हुन सक्छ ?

हिमांशु सेमवाल, फेसबुक कमेन्ट

नारी पत्रिकामा नारी हिंसासम्बन्धी सामग्रीलाई प्राथमिकताका साथ प्रकाशित गरिन्छ । तिनले भविष्यमा यस्ता घटना घट्न नदिन खबरदारी गर्छन् ।

सरु बस्नेत, फेसबुक कमेन्ट

गत महिनाको नारी कभर सार्‍है आकर्षक लाग्यो ।

स्मिता शर्मा, हाँडीगाउँ

नारी परिकार स्तम्भ निकै उपयोगी छ । समय अनुसार प्रकाशित रेसिपीहरू हाम्रा लागि सहयोगी भएका छन् ।

विनीता परियार, कपन

दसैं अंकमा प्रकाशित देवी मन्दिरहरूको जानकारी अपूर्ण र भएकाहरू पनि सार्‍है  छोटा भए ।

सरस्वती नेपाल, सिन्धुपाल्चोक

नारीले उदाहरणीय काम गर्ने नेपाली महिलाका विषयमा अझ बढी जानकारी प्रदान गरोस् ।

शैलजा भट्टराई, थानकोट

 Image