Successfully Copied

एकल महिलालाई सार्वजनिक यातायातमा छुट

महेन्द्रनगरस्थित महाकाली यातायात व्यवसायी समितिले परिचयपत्रवाहक एकल महिलाहरूलाई सार्वजनिक सवारीमा २५ प्रतिशत छुट दिने भएको छ ।

महेन्द्रनगरस्थित महाकाली यातायात व्यवसायी समितिले परिचयपत्रवाहक एकल महिलाहरूलाई सार्वजनिक सवारीमा २५ प्रतिशत छुट दिने भएको छ । एक वर्षअघि १५ प्रतिशत छुट दिन थालेको समितिले त्यसलाई २५ प्रतिशत पुर्‍याएको हो । एकल महिलाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रको पहलमा समितिले उक्त छुटको व्यवस्था मिलाएको हो । समितिले एकल महिलाका लागि बनाएको परिचयपत्र सभासद कलशा महराले गत महिना आयोजित सार्वजनिक कार्यक्रममा वितरण गरिन् । महाकाली यातायात समितिले नेपालमै पहिलोपटक एकल महिलालाई सार्वजनिक यातायातमा छुटको व्यवस्था गरेर उदाहरणीय काम गरेको तथा देशभरि नै यो व्यवस्था लागू गराउन आफूले पहल गर्ने सभासद महराले बताएकी छिन् ।

बीस प्रतिशत महिलामाथि यौनजन्य हिंसा

काठमाडौँका २० प्रतिशत महिला बारम्बार यौनजन्य हिंसामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । गत महिना गृह मन्त्रालय तथा युएनडिपीको आयोजनामा भएको 'नेपाली पुरुषवादी सोच र लैङ्गकि हिंसा' विषयक कार्यक्रममा काठमाडौं एवं तराई क्षेत्रमा गरिएको एक अध्ययन सार्वजनिक गर्दै तराई क्षेत्रका १४ प्रतिशत महिला बारम्बार यौनजन्य हिंसाको सिकार हुने गरेको बताइयो । ४३ प्रतिशत तराई क्षेत्रका महिलाले कहिलेकाहीँ आफू हिंसामा पर्ने गरेको बताएका थिए भने काठमाडौँमा २० प्रतिशत महिलाले यौनजन्य हिंसाबाट पीडित भएको बताए । समाजले लगाउने विभिन्न खालका बन्देज, हिंसामा परेका महिलाले न्याय प्राप्त गर्न गर्नुपर्ने कसरतजस्ता कारणले महिलाहरूले न्यायबाट वञ्चित हुनुपर्ने अवस्था यथावत् रहेकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने कुरा पनि उक्त कार्यक्रमले औंल्याएको छ ।

महिला सुरक्षा दबाब समूहमा थापा

गत महिना महिला सुरक्षा दबाब समूहको दसौं अधिवेशनले सावित्री थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष कल्याणी शाह, महासचिव इरादा गौतम, सचिवमा विजया केसी र अजिता अर्याल तथा कोषाध्यक्षमा वैजयन्ती कार्की चुनिए भने सदस्यमा सुशीला श्रेष्ठ, विमला तुम्खेवा, कमला उप्रेती, जानु घिमिरे, प्रतिमा पाठक मुडभरी, सीता ओझा, सरिता केसी एवं शान्ति नकर्मी छानिएका छन् । महिला अधिकारको क्षेत्रमा सक्रिय उक्त संस्थाले 'समानता र महिला हिंसाविरुद्ध समानता'का निम्ति आवाज उठाउँदै आएको छ । संस्थाले आमाको नामबाट नागारिकता, सम्पत्तिमा समान अधिकार, संवैधानिक आयोग गठनजस्ता माग राखेको छ । ३० जिल्लामा शाखा रहेको महिला सुरक्षा दबाव समूहमा देशभरका ४० भन्दा बढी सामाजिक संस्था आबद्ध छन् ।

अन्तरपार्टी महिला राष्ट्रिय सम्मेलन

'हाम्रो अभियान महिलामैत्री संविधान' भन्ने नाराका साथ अन्तरपार्टी महिला राष्ट्रिय सम्मेलन गत महिना राजधानीमा सम्पन्न भयो । दुईदिने सम्मेलनमा महिलाको राजनीतिक, सामाजिक, आर्थिक अधिकारको सन्दर्भमा हालसम्म भएका कानुनी व्यवस्था, नेपालले महिलाका ती अधिकारका सुनिश्चत गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेका प्रतिबद्धता र कार्यान्वयनका सम्बन्धमा समीक्षा एवं छलफल भएको थियो । सम्मेलनमा नयाँ संविधानमा नागरिकताको हक, निर्वाचन प्रणाली, नयाँ संविधानमा महिलाका हक अधिकारको सुनिश्चितता तथा महिला हिंसा नियन्त्रणका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भए भने सम्मेलनले निष्कर्षका रूपमा काठमाडौं घोषणापत्र समेत जारी गरेको छ ।

निलडेबिड सलुन अब सिभिल मलमा

लामो समयदेखी सौन्दर्य क्षेत्रमा सेवा प्रदान गरिरहेको निल डेबिड हेयर सलुन अब सिभिल मलमा पनि सेवा बिस्तार भएको छ । गत महिना बिधिबत रुपमा रिबन काटेर सलुनको उद्घाटन गर्दै पुरानी नायिका गौरी मल्लले निल डेबिडजस्ता सौन्दर्यक्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिले चलचित्रमा पनि आफ्नो सीप देखाउन सके नेपाली फिल्म उद्योगले नयाँ फड्को मार्ने धारणा व्यक्त गरिन् । काठमाडौं सिलगुडी, बिर्तामोड आदि स्थानमा गरी ७ वटा सलुन तथा ३ वटा टे्रनिङ इन्स्टिच्युट सञ्चालन गरिरहेका निलडेबिड कटवालले २ सय ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।

महिला हिंसाको प्रतिवेदन सार्वजनिक

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइने क्रममा ओरेक नेपालको अन्वेषी वर्ष पुस्तक-२०७१ सार्वजनिक भएको छ । ओरेकद्वारा हरेक वर्ष प्रकाशन गरिने अन्वेषी वर्ष पुस्तक महिलामाथि भएको हिंसाका घटनाहरूको यथार्थ चित्रण गर्ने एउटा महत्वपूर्ण पुस्तक हो । अन्वेषी वर्ष पुस्तकको तथ्याङ्कअनुसार यो वर्ष २ हजार २ सय २५ महिला हिंसाका घटना घटेका छन् जसमा सबैभन्दा बढी घरेलु हिंसा १५०३, सामाजिक हिंसा २६७, बलात्कारका १९९, बलात्कारको प्रयास ५८, यौन हिंसा ७६, हत्या ४०, हत्याको प्रयास २६, बेचबिखन १५, बेचबिखनको प्रयास ३, आत्महत्या २७ तथा बेपत्ता भएका घटना ११ छन् ।

महिलाविरुद्धका हिंसा निर्मूल गर्न सरकार पूर्ण प्रतिबद्ध

प्रधानमन्त्री सुशील कोइरालाले सरकार महिलाविरुद्धका सबै प्रकारका हिंसा निर्मूल गर्न पूर्णरूपमा प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् । 'लैङ्गकि हिंसाविरुद्ध १६ दिवसीय अभियान' लाई शुभकामना सन्देश दिँदै गत महिना प्रधानमन्त्री कोइरालाले न्याय प्राप्तिका लागि महिलाले सञ्चालन गरिरहेको अभियानलाई सरकारका तर्फबाट पूण्र्ा सहयोग हुने बताए । 'घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गरौं' भन्ने नाराका साथ आरम्भ भएको यो वर्षको अभियानमा प्रधानमन्त्री कोइरालाले स्वतन्त्रता, समानता, मर्यादित जीवन एवं न्यायजस्ता नागरिकको आधारभूत हक-अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने दायित्व पूरा गर्न राज्य प्रयत्नशील रहेको उल्लेख गरे । राज्यको यो प्रयत्नमा प्रत्येक नागरिकको पनि सहयोग र समर्थन चाहिने कुरा उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सरकार महिलाविरुद्धका कानुनी भेदभाव हटाएर महिलामैत्री समाज निर्माण गर्न सदैव तयार रहेको बताए । महिलाको समग्र व्यक्तित्व विकासमा विद्यमान अवरोधलाई घरपरिवार एवं समाजबाट हटाउनुपर्ने चुनौती रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले बोक्सी तथा दाइजोको नाममा दिइने यातना, बलात्कार, हत्या, कुटपिटजस्ता घटना निर्मूल पार्न व्यक्ति, परिवार, समाज, सरकारी एवं गैरसरकारी संस्था सबै मिलेर संगठित रूपमा प्रभावकारी कार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

 Image