मातृत्व गौरवको पर्व श्रीकृष्णजन्माष्टमी मनाइँदै
आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग एवं भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको हो । आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् । आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।
बाल्यकालदेखि नै विचित्रलीला देखाउदै आएका श्रीकृष्णले गोपिनी र राधासग गरेको प्रेम प्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलोत्सवका रूपमा समेत मनाउने गरिन्छ । यसलाई पूर्वीय जगतको प्रेम दिवस समेत भन्न सकिन्छ । मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका श्रीकृष्णले दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाएका थिए । उनले जबजब धर्मको लोप हुन्छ र पाप बढ्छ, त्यस बेला धर्म रक्षाका लागि मैले मानवरूप धारण गरेर धरतीमा जन्म लिनेछु भनेका छन् । मानव धर्मका रक्षक श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्णजन्माष्टमी पर्व मनाउने गरिएको हो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्