Successfully Copied

पाइलट कोमलको व्यस्त दसैं

पाइलटका रूपमा उनको ७ वर्षको दसैं अनुभव भने अलि खल्लो छ । सबै जना घरमा बसेर रमाइलो गरी खाइरहेका बेला आफू फ्लाइटमा दगुर्नुपर्दा केही हदसम्म नरमाइलो लाग्ने कोमल बताउँछिन् । दसैंको पारिवारिक भेटघाट, आशीर्वाद उनलाई मनपर्ने पक्ष हो भने काटमार गर्ने चलन चाहिँ

विराटनगरमा जन्मिएकी कोमल बस्नेत प्लस टु सकेर काठमाडौं आएकी हुन् । त्यसैले उनका प्राय: दसैं विराटनगरमै बितेका छन् । उनी सानैदेखि दसंैको आगमनसँगै खुसी हुन्थिन् । तीज सकिनासाथ औंला गनेर दसैं कुरेर बस्थिन् । त्यतिबेला घटस्थापनादेखि छठसम्म लामो बिदा हुन्थ्यो । उनलाई स्कूल जान नपर्ने तथा बढी खेल्न–घुम्न आदि पाइने हुँदा दसैं बढी रमाइलो लाथ्यो । विराटनगरमा कोमलको मूल घर भएकाले ठूलाबुवा, सानाबुवाहरूको जमघट त्यहीँ हुन्थ्यो । दसैंभरि उनीहरूकै घरमा ३० जना दाजुभाइ सँगै बसेर चाड मनाउँथे । दसैंअघि नै बुवाले कोमलका लागि २–४ जोर नयाँ लुगा किनेर ल्याइदिन्थे । त्यही नयाँ लुगाको गन्धले पनि उनी दसैंको आगमन महसुस गर्थिन् । दसैंभरि उनीहरूको घरमै लिंगे पिङ खडा गरिन्थ्यो । महिनौं दिन पिङ खेलेर रमाइलो गर्ने कोमललाई तास खेल्न भने आउँदैन तर अरूले खेलेको हेरेर जितौरी भने लिन चुक्दिनथिन् । उनी काठमाडौं आएको केही समयपछि नै पाइलट ट्रेनिङका लागि अमेरिका गइन् । २००८ देखि उनी पाइलटका रूपमा बुद्ध एयरमा काम गर्न थालिन् । पाइलटका रूपमा उनको ७ वर्षको दसैं अनुभव भने अलि खल्लो छ । सबै जना घरमा बसेर रमाइलो गरी खाइरहेका बेला आफू फ्लाइटमा दगुर्नुपर्दा केही हदसम्म नरमाइलो लाग्ने कोमल बताउँछिन् । दसैंको पारिवारिक भेटघाट, आशीर्वाद उनलाई मनपर्ने पक्ष हो भने काटमार गर्ने चलन चाहिँ मन पर्दैन । दसैंको समयमा मौसम सफा तथा राम्रो हुने भएकाले प्लेन उडाउन मज्जा लाग्ने अनुभव उनले सुनाइन् । श्रीमान् पनि पाइलट भएकाले केही सजिलो भए पनि दसैंमा भने धेरै उडान हुने भएकाले उनीहरू दसैंअघिको अफ सिजनमा घुम्ने मौका छोप्छन् ।

 Image