Successfully Copied

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान गत शुक्रबारदेखि सुरु भएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान गत शुक्रबारदेखि सुरु भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चल्ने उक्त अभियानका लागि नेपालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यस वर्षको अभियानको राष्ट्रिय नारा ‘घरशान्ति नै विश्व शान्तिको आधार : महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौँ’ रहेको छ । 

अभियानको पहिलो दिन २५ नोभेम्बर अर्थात् मंसिर १० का दिन बिहान ८ बजे राष्ट्रिय महिला आयोगबाट बाजागाजा सहितको र्‍याली  शहरका  विभिन्न भागको परिक्रमा गर्दै वसन्तपुर पुगेको थियो । र्‍यालीमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव, राष्ट्रिय महिला आयोगका पदाधिकारी लगायत विभिन्न संघसंस्थाको सहभागिता थियो । र्‍यालीपछि आयोजित कार्यक्रममा महिला, बालकालिका तथा समाजकल्याण मन्त्री माननीय ऋद्धिबाबा प्रधानले महिला हिंसा विरुद्ध सरकारद्वारा विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा महिला हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताइन् । मन्त्री प्रधानले पितृसत्तात्मक सोच, महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना तथा हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सीमित न्याय लगायतका कारण महिला हिंसा न्यूनीकरण हुन नसकेको बताइन् ।

राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागार्इंले महिला हिंसाविरुद्ध आयोगले विभिन्न खालका सचेतना कार्यक्रम अघि बढाइरहेको जानकारी गराइन् । उक्त अवसरमा गृह मन्त्रालयका सचिव जनार्दन नेपाल लगायत विभिन्न अधिकारकर्मीहरुले समेत आफ्नो धारणा राखेका थिए । यो अभियान सबै जिल्लामा महिला तथा बालबालिका कार्यलयको अगुवाइमा सञ्चालन गरिँदै छ ।  

 Image