Successfully Copied

पैंतालीसपछि पनि रहनुहोस फिट

बढ्दो सहरी व्यस्त जीवनशैलीले पैंतालीस वर्ष पुग्दा नपुग्दै महिलाहरू कुनै न कुनै रोगको सिकार हुन पुग्छन् ।

बढ्दो सहरी व्यस्त जीवनशैलीले पैंतालीस वर्ष पुग्दा नपुग्दै महिलाहरू कुनै न कुनै रोगको सिकार हुन पुग्छन् । यो उमेरका महिलाहरू ब्लडप्रेसर, डाइबिटिज, ढाड दुख्ने रोगका साथै प्रजनन् समस्या आदिबाट पीडित हुन थालेका छन् । त्यसबाहेक महिलाहरूमा यौन रोग, पाठेघरको मुखको क्यान्सर, पाठेघरबाट रक्त……(स्राव हुनु, पाठेघर  खस्ने समस्याहरू प्रमुख रूपमा भेटिन्छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. इन्दिरा सत्यालका अनुसार महिलाहरूले ४५ वर्षमा प्रवेश गर्दा दुई मुख्य समस्या सामना गर्नुपर्छ ।

यतिबेला महिलामा मेनोपाजको प्रक्रिया प्रारम्भ हुन्छ । यसले महिनावारीमा अनियमित बनाउँछ र शरीरमा विभिन्न शारीरिक तथा मानसिक परिवर्तन देखिन्छन् । यस्ता महिलाहरूलाई स–साना कुराले सताउने भएकाले मन अस्थिर रहने, चिटचिट पसिना आउने, छटपटी हुने, रुन मन लाग्ने क्रम बढ्दै जान्छ ।

४५ वर्षपछि महिलाहरूमा निद्रा कम लाग्छ । यो समयमा मासिक धर्मको समय लम्बिदै जान्छ । यस्तो अवस्थामा शरीरमा रगतको कमी पनि हुन्छ अनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । यतिबेला स्मरणशक्ति कम भएर बिर्सने बानी हाबी हुन्छ । यो समयमा साइनोसोमेटिक समस्या पनि देखिन्छ । मेनोपाजका कारण महिलाहरूमा यौन इच्छा कम हुन थाल्छ । उनीहरूको बाहिरी तथा भित्री यौनाङ्ग एवं प्रजनन् इन्द्रियहरू खुम्चन थाल्छन् । यो समयमा सानो कमजोरीका कारण पनि कतिपय दाम्पत्य सम्बन्ध तोडिन्छ । त्यसैले धेरै पुरुषले यो उमेरमा बहुविवाह गर्छन् जसले भविष्यमा अझ बढी पारिवारिक झमेला उत्पन्न हुन्छ । यो समयमा महिलाहरूले विशेष सावधानी अपनाए रोगले च्याप्न सक्दैन र च्यापिहाले पनि सजिलै उपचार गर्न सकिन्छ ।

यही समयमा आङ खस्ने रोगले विकराल समस्याको रूप लिन्छ । पहाडी भेगमा त यो स्थिति अझ डर लाग्दो छ । सहरी क्षेत्रमा यो समस्या कम मात्रामा पाइन्छ । ४५ वर्ष पुगेपछि महिलाहरूमा ढाढ वा खुट्टा दुख्ने समस्या पनि देखिन्छ । शरीर सन्तुलित आकारमा नरहनु नै यी अङ्ग दुख्नुको कारण हो । यो समयमा क्याल्सियमको कमी हुने भएकाले हाडमा कमजोरी देखा पर्छ । हाम्रो शरीरले आफै क्याल्सियम बनाउँदैन । यसका लागि खानेकुरामा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

सन्तुलित भोजन

धेरैजसो महिला आफ्नो शारीरिक सौन्दर्यप्रति सजग देखिन्छन् । स्लिम बन्ने धुनमा उनीहरूले खानपानमा उदासीनता देखाउँछन् । फलस्वरूप शरीरले आवश्यक पौष्टिक पदार्थ पाउन सक्दैन । यसले उमेर नपुग्दै छाला झुन्डिन थाल्छ । हाडले आवश्यक पौष्टिक पदार्थ प्राप्त गर्न सक्दैन । स्वस्थ रहन कम खानुभन्दा सन्तुलित भोजन गर्नुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्छ । यसका लागि निम्न कुरामा ध्यान दिनुपर्ने चिकित्सहरूको राय छ ।

  • प्रशस्त कार्बोहाइड्रेड भएको भोजन खानुपर्छ । कार्बोहाइड्रेडबाट दिनहुँ ५५ प्रतिशत ऊर्जा पाउने शरीरले मात्र आवश्यक शक्ति प्रदान गर्न सक्छ । बाँकी ४५ प्रतिशत शक्ति प्राप्त गर्न सागपात तथा फलफूल सेवन गर्नुपर्छ । दैनिक भोजनमा हरियो, रातो, पहेंलो फल तथा सागसब्जी समावेश गर्नुपर्छ ।
  • प्रत्येक दिनको खानामा प्रोटिनको मात्रा २० देखि २५ प्रतिशत हुनुपर्छ ।
  • फ्याटको मात्रा बढी हुनुुहुँदैन । यसका लागि मासु तथा तर कम भएको दूध सेवन गर्नुपर्छ ।
  • चिनीको प्रयोग घटाउनुपर्छ ।
  • खानामा क्याल्सियम सेवन गर्नुपर्छ । क्याल्सियम हाड तथा दाँतका लागि आवश्यक तत्व हो । क्याल्सियम तर निकालेको दूध वा कम चिल्लो भएको दहीबाट प्राप्त हुन्छ ।

 Image