Successfully Copied

आन्तरिक सजावटमा भूकम्पीय जोखिम र चुनौती

नेपालजस्तो भूकम्पकीय जोखिम भएको देशमा बसोबास गर्नेहरूले घरको जग तथा खम्बाहरू भूकम्प प्रतिरोधात्मक तरिकाले बनाउनु आवश्यक छ । अलि पुराना घरलाई पनि प्रवधिको मद्दतले शक्तिशाली बनाउन सकिन्छ ।

नेपालजस्तो भूकम्पकीय जोखिम भएको देशमा बसोबास गर्नेहरूले घरको जग तथा खम्बाहरू भूकम्प प्रतिरोधात्मक तरिकाले बनाउनु आवश्यक छ । अलि पुराना घरलाई पनि प्रवधिको मद्दतले शक्तिशाली बनाउन सकिन्छ । सरकारी निकाय भवन विभागले जारी गरेको निर्देशिकाबमोजिम परामर्श लिएर वा स्ट्रक्चर इन्जिनियरको मद्दतबाट घर निर्माण गर्नु अति आवश्यक छ । घर बनाउँदा कन्टिलिभर ३ फिटदेखि ४ फिटभन्दा बढी राख्नु हुँदैन । त्यसपछि मात्र आन्तरिक सजावटमा ध्यान दिनुपर्छ ।

    भूकम्पले ज्यान जाँदैन, संरचनाले ज्यान जाने डर हुुन्छ त्यसैले पहिले घरभित्र र बाहिरका जोखिमहरू पहिचान गरेर जोखिम कम गर्ने प्रयत्न गर्नुपर्छ ।

    ठूल्ठूला दराज निर्माण गरिसकेपछि त्यसलाई हुक अर्थात् अंकुश लगाएर भित्तामा एटेच गर्नुपर्छ । जसले गर्दा जमिन थर्किंदा पनि दराज ढल्ने सम्भावना हुँदैन । फोटो फ्रेम, पिक्चर फ्रेम, ऐना तथा लाइट फिक्चरहरू झुन्ड्याउँदा हुक अलि भिन्नै किसिमको बलियो वा हुकिङ पावर राम्रो भएको प्रयोग गर्नुपर्छ । साधारण किलाकाँटाको टाउकोलाई हल्का बंग्याउँदा पनि भित्तामा झुन्ड्याइएका तस्बिर झ्वाट्ट खस्ने सम्भावना कम हुन्छ ।

    किचेनमा ग्याँसका सिलिन्डर सांग्लाले बाँधेर राख्नुका साथै सिलिन्डरको भल्भ सजिलै बन्द गर्न सकिने ठाउँमा राख्नुपर्छ ।

    सकेसम्म घरको कोरिडोर तथा भर्‍याङमा कुनै र्‍याक वा सामान राख्नु हुँदैन । त्यस्ता ठाउँ सधै खुल्ला हुनुपर्छ । जसले गर्दा आपत्कालीन अवस्थामा भाग्दा सजिलो होस् । बेडको डिजाइन गर्दा हेडबोर्ड सकभर साधारण र हल्का रहनुपर्छ । बेडको माथि डेकोरेटिभ आइटमहरू राख्नु वा सजाउनु भूकम्पीय दृष्टिकोणबाट उपयुक्त हुँदैन । बेडको हेडबोर्ड सकभर भित्तातिर हुनुपर्छ । त्यसलाई सिसाको झ्यालतिर राख्नु जोखिमपूर्ण हुन्छ । राति सकभर झ्यालका पर्दा बन्द गर्नुपर्छ । जसले गर्दा सिसा फुट्दा चूर्ण भित्र छरिने जोखिम रहदैन ।

    चिम्नी, फ्रिज, टिभी आदि इलेक्ट्रिक इक्विपमेन्टमा विशेष ध्यान पुर्‍याउनुपर्छ भने आपत्मा सजिलै अन अफ गर्ने ठाउँ छनोट गर्नुपर्छ । घर बनाउँदा ठाउँ–ठाउँमा इमर्जेन्सी ढोका बनाउनुपर्छ । फल्स सिलिङको मेटरियल सकभर हलुका किसिमको र फिक्स गर्दा एकदम विचार पुर्‍याई बलियोसँग राख्नुपर्छ । छतमा गमला त्यत्तिकै राख्नुभन्दा रिंगजस्तो एंगल बनाएर कसिलो गरी राख्नुपर्छ । छतमा पानीको ट्यांकी राख्दा भवनले कति लोड लिन्छ भनेर हिसाबकिताब गर्न जरुरी छ । त्यसलाई धेरै उठाएर ट्यांकी राख्नु भन्दा ठिक्क उचाइमा राख्नुका साथै बाँधेर राख्ने उपाय अपनाउनु पर्छ ।

 Image