Successfully Copied

संगीतमा आमा–छोरीको तालमेल

भारतको आसममा जन्मिएर उतै हुर्किएकी भारती बस्याललाई कुनै दिन लाग्थ्यो छोरी जन्मी भने मारिदिन्छु । छोरी गर्भमै हुँदा उनले अल्ट्रासाउन्ड गराएर बच्चाको लिङ्ग पहिचान गराएकी थिइन् । त्यतिबेला आफ्नो कोखमा छोरी भएको जानकारी पाउँदा उनी खुब रोएकी थिइन्, तर भन्न जस्तो सजिलो भएन

भारतको आसममा जन्मिएर उतै हुर्किएकी भारती बस्याललाई कुनै दिन लाग्थ्यो छोरी जन्मी भने मारिदिन्छु । त्यो समयमा आफू छोरी भएकै कारण भोग्नुपरेका अनेकन दु:ख र यातनाले उनको मन जर्जर बनाएको थियो । भारती समग्र रूपमा छोरीको भाग्यमाथि विश्वास गर्न सक्दिनथिन् । भारतीले यो कुरा आमालाई पनि सुनाइन् । त्यतिबेला आमाले उनलाई भनेकी थिइन्, ‘तिम्रो पहिलो सन्तान नै छोरी जन्मनेछिन् ।’ नभन्दै विवाहपश्चात् उनले जन्माइन् एक सुन्दर कोपिलाका रूपमा छोरी र पहिलोपल्ट आमा हुँदाको गर्व महसुस गरिन् ।

छोरी गर्भमै हुँदा उनले अल्ट्रासाउन्ड गराएर बच्चाको लिङ्ग पहिचान गराएकी थिइन् । त्यतिबेला आफ्नो कोखमा छोरी भएको जानकारी पाउँदा उनी खुब रोएकी थिइन्, तर भन्न जस्तो सजिलो भएन उनलाई । पहिलोपल्ट जन्माएर वात्सल्य पोखेकी छोरीलाई उनले मार्न सकिनन् र उनले त्यही समय अठोट गरिन्, ‘म मेरी छोरीलाई यो समाजसँग लड्न सक्ने गरी सक्षम बनाउँछु ।’ भारतीले आफ्ना बा–आमासँगै भारतका विभिन्न प्रान्त चहारेर बाल्यकाल बिताइन् । त्यसकै प्रभावले उनलाई विभिन्न भाषाको ज्ञान भयो ।

सानैदेखि गीत–संगीतमा रम्ने भारतीलाई उनका पिताले सानैमा उपहार दिएका थिए एउटा हार्मोनियम । त्यही हार्मोनियममा सारेगम अलाप्दै गायनमा भविष्य देख्ने भारतीको सपनाको बाटो भने त्यति सहज भएन । कलाकारितामा भर्खरै पाइला चाल्न थालेकी भारतीको जीवनमा पिताको मृत्यु ठूलो आँधी बनेर आयो । पिताको वियोगसँगै उनले देखेका धेरै सपना चकनाचुर भए । साथ दिने पिता पनि नहुनु र छोरी भएर जन्मनुले उनको भविष्यका धेरै उज्यालाहरू खोसिए ।

यद्यपि उनले हार भने खाइसकेकी थिइनन् । भारतीले केही गीत लेखिन् । उपन्यास लेखिन् र पछिल्लो समय उनी सञ्चार क्षेत्रमा समेत सक्रिय छिन् । उनका दुई छोराछोरी छन् । छोरी अहिले नौ वर्षकी भइन् । सात वर्षदेखि गायनमा रुचि देखाएकी छोरी समृद्धिलाई भारती आफैंले हार्मोनियम सिकाइन् ।

 

नौ वर्षको उमेरमै आफ्नी छोरीले करिब चारवटा राग गाउन सक्ने आमा भारती बताउँछिन् । उनकी छोरी गीत गाउने मात्र होइन, गीत पनि लेख्छिन् अनि त्यसमा लयसमेत भर्छिन् । केही आफ्नै गीतका म्युजिक भिडियोमा अभिनयसमेत गरेकी समृद्धि स्टेज कार्यक्रम पनि चलाउँछिन् । अझ स्कुलले अनुमति दियो भने छोरीलाई रेडियोमा कम्तीमा एउटा कार्यक्रम चलाउन लगाउने भारतीको रहर छ ।

उनलाई जस्तो आफ्नै रहरमा रम्न उनकी छोरीलाई पटक्कै गाह्रो भएन । सुरुसुरुमा उनका श्रीमान्ले छोरीलाई स्वतन्त्र रूपमा उनकै रहरमा छाडिदिएको मन पराएनन् । कलाकारिता राम्रो क्षेत्र होइन । यो क्षेत्रमा लाग्न छोरीलाई यसरी उत्प्रेरित नगर भनेर भारतीका श्रीमान्ले बारम्बार सम्झाउँथे, तर छोरीको प्रतिभाका अगाडि उनका पिताको पनि केही चलेन । अहिले विभिन्न कार्यक्रमहरूमा आफैं लिएर हिँड्छन् छोरीलाई उनी ।

आफ्नी छोरीका उमेरका धेरै बालबालिका ट्याब र मोबाइलहरूमा भुलिरहँदा आफ्नी छोरीको संगीतप्रतिको लगाव देखेर भारतीलाई असाध्यै खुसी लाग्छ । अहिलेदेखि नै आफ्नी छोरीले तालिका बनाएर स्कुलको होमवर्क तथा संगीतसम्बन्धी कार्य व्यवस्थित रूपमा सम्पन्न गर्ने भगवती बताउँछिन् । स्ट्राएक्टिभिटिजमा बढी लगाव भएका केटाकेटी असाध्यै मुडी हुने बताउँदै भारती उनीहरूको जिद्दीपनलाई त्यसैगरी बुझ्न अभिभावकहरूसँग आग्रहसमेत गर्छिन् ।

 

 Image