Successfully Copied

छुट तथा सेलको रौनक

छुट तथा सेल ग्राहकलाई लोभ्याउने प्रमुख अस्त्र पनि हुन् । छुट भन्नासाथ कुनै पनि सामानमा सहुलियत भन्ने बुझिन्छ । चाडपर्वलगायतका विशेष अवसरमा छुटको बोर्ड सबैजसो पसलमा देख्न सकिन्छ । एउटा किन्दा अर्को सित्तैमा, दुईवटा खरिद गर्दा एउटा अर्को सित्तैमा, २५ देखि ५० प्रतिशतसम्म

चाडपर्व, नयाँ वर्ष, क्रिसमस यस्तै अवरसर पारेर विभिन्न ठाउँमा रहेका मल, ब्रान्डेड पसल तथा अन्य पसलहरूले छुट तथा सेल लगाउने गरेका छन् । छुट तथा सेल ग्राहकलाई लोभ्याउने प्रमुख अस्त्र पनि हुन् । छुट भन्नासाथ कुनै पनि सामानमा सहुलियत भन्ने बुझिन्छ । चाडपर्वलगायतका विशेष अवसरमा छुटको बोर्ड सबैजसो पसलमा देख्न सकिन्छ । एउटा किन्दा अर्को सित्तैमा, दुईवटा खरिद गर्दा एउटा अर्को सित्तैमा, २५ देखि ५० प्रतिशतसम्म छुटजस्ता बोर्ड जताततै देखिन्छन् ।

बानेश्वरकी रश्मि शर्मा पनि छुटको उपयोग गर्छिन् । उनी आफ्ना लागि पहिरन तथा जुत्ता छुटमै खरिद गर्छिन् । कम मूल्यमा सस्ता सामान पाइने भएकाले उनी छुटको भरपूर उपयोग गर्छिन् । कतिपयमा छुटमा राखिएका सामान त्यति गुणस्तरीय हुँदैनन् भन्ने धारणा पाइन्छ तर यो कुरा गलत भएको रश्मि बताउँछिन् । उनका अनुसार छुटमा राखिएका सबै सामान गुणस्तरहीन हुँदैनन् । सामान चिन्न सक्नुपर्छ । चाडपर्व तथा अवसरमा ग्राहक आकर्षित गर्न छुट दिइने व्यापारीहरूको धारणा छ । यसैगरी कुनै सामानको स्टक धेरै नहुँदा पनि छुट दिइन्छ ।

चाडपर्व तथा अन्य अवसर पारेर राजधानीका मल, पसल तथा ब्रान्डेड पसलमा पनि छुट दिइन्छ । यतिबेला सडकदेखि मलसम्म छुट तथा सेलको लहर देख्न सकिन्छ । महिला, बालबालिका तथा युवाका लागि आकर्षक सामान ५० प्रतिशतसम्म छुटमा राखिएको हुन्छ । छुट व्यापारीले ग्राहकलाई दिने एक किसिमको सुविधा पनि हो ।

यो समयमा व्यापारीहरू कम नाफा राखेर बढीभन्दा बढी सामान बिक्री गर्ने सोचमा हुन्छन् । सेल तथा छुटमा सामान खरिद–बिक्री गर्दा ग्राहक र व्यापारी दुवैको हित हुन्छ । कुन सामानमा कति छुट दिने भन्ने कुरा व्यापारीले सामानको स्तर तथा स्टक हेरेर तय गर्छन् । सामानको स्टक बढी भए बढी छुट प्रदान गरिन्छ । कपडा, जुत्ता तथा ब्यागमा बढी छुट दिइन्छ । छुट दिँदा पनि दीर्घकालीन सोच राख्नुपर्छ अन्यथा नकारात्मक असर पर्न सक्छ ।

छुट सेलका फाइदा

    छुटमा ग्राहकले पुरानो मूल्यभन्दा केही कममा सामान खरिद गर्न सक्छन् ।

    आफ्नो अपेक्षाभन्दा कम मूल्यमा सामान खरिद गर्न सकिन्छ ।

    सामान खरिद गर्न जाँदा आफूले योजना बनाएको भन्दा कम मूल्यमा सामान खरिद गर्न सकिन्छ ।

    क्रेताका लागि मात्र नभएर बिक्रेताका लागि पनि छुट महत्वपूर्ण हुन्छ । थोकमा सामान बिक्री हुनुका साथै स्टकमा रहेका सामान पनि छोटो समयमै सकिन्छन् ।

    छानी–छानी सस्तोमा सामान किन्न पाइन्छ ।

    स्टक क्लियरेन्स गरिने हँुदा महँगा सामान पनि सस्तोमा पाइन्छन् ।

    यो व्यापारीहरूका लागि सञ्चित सामान बिक्री गरेर नगद हात पार्ने उपयुक्त मौका पनि हो ।

बेफाइदा

    कतिपय अवस्थामा छुटको लोभमा पर्दा ठगिन सकिन्छ ।

    कमसल वा धेरै पुराना सामान पर्न सक्छन् ।

    आउटडेटेड सामान पर्न सक्छन् ।

    सामानको मूल्य दोब्बर राखेर ५० प्रतिशत छुट दिए खासै फाइदा हुँदैन ।

    छुट सेलले ग्राहकलाई अनावश्यक सामान खरिद गर्न प्रेरित गर्छ । एउटा सामान खरिद गर्न गएको छ भने अर्को सामानमा बढी छुट पाए ग्राहक महत्वाकांक्षी हुन सक्छन् ।

छुटमा सामान किन्दा

    छुट–सेलमा फ्रेसभन्दा पनि पुराना सामान राखिने भएकाले होसियार हुनुपर्छ ।

    बिक्री भएका सामान साट्न नमिल्ने भएकाले पहिले नै राम्रोसँग हेरेर सामान किन्नुपर्छ ।

    ड्यामेज सामान पर्न सक्ने कुरालाई मध्यनजर गर्दै सावधानी अपनाउनुपर्छ ।

 Image